मनोरंजन

विप्लवले मोटो रकम पाएपछि सलमान नेपाल आउने

बलिउड सुपरस्टार सलमान खानलाई काठमाडौंको खुलामञ्चमा ल्याएर करोडौं रुपैयाँ असुल गर्ने प्रपञ्चलाई रोकिदिएको भन्दै सर्वसाधारणबाट हाइ हाइ पाएको विप्लव नेतृत्वको माओवादीले उक्त कार्यक्रम गर्न दिने भएको छ ।

यही फागुन २६ गतेका लागि तय गरिएको सलमान खानको “दबङ ड टुर” कार्यक्रम विप्लव माओवादीको चेतावनीका कारण सलमान खानकै तर्फबाट रद्द गरिएको थियो ।

सर्वसाधारणलाई टिकट बेचेर करोडौं उठाएको मात्रै होइन ओडिसी इन्टरटेनमेन्ट नामक नेपाली आयोजक संस्थाले सलमान खानलाई पेश्की स्वरुप ५ करोड रुपैयाँ समेत पठाईसकेको थियो । सर्वसाधारणले दिन प्रतिदिन रकम फिर्ता गर्न दबाव दिन थालेपछि आयोजकले नयाँ जुक्ति निकालेको बुझिएको छ ।

आयोजकले विप्लव समूहलाई विश्वासमा लिएर कार्यक्रम गर्ने तयारी गरिरहेको छ । नेपाली सेनाका पूर्व जर्नेल गोविन्द गुरुङका छोरा सिमान्त गुरुङको ओडिसी इन्टरटेनमेन्टले विप्लव समूहलाई उठेको रकमको आधा दिने प्रस्ताव पठाएको बुझिएको छ ।

सलमान खानलगायतलाई नेपाल ल्याएर कार्यक्रम गर्दा नेट फाइदा दश करोड बढी हुने र त्यसको आधा रकम विप्लव समूहलाई दिने लोभ देखाएको बुझिएको छ । आगामी बैशाखमा कार्यक्रम गर्न दिन विप्लव समूह लगभग तयार भएको सूचना आयोजकले टिकट लिईसकेकाहरुलाई दिने गरेको पाइएको छ । नेपालीपत्र साप्ताहिकबाट ।

Related Articles

Close