समाचार

दुर्गम गएर बिरामीको सेवा गर्छु भन्थिन पुर्निमा उनैलाइ दैबले लग्यो

सानैदेखि डाक्टर बन्ने सपना साँचेकी पूर्णिमा लोहनीलाई बुवा नुरबहादुरले उनकै चाहना अनुसार डाक्टरी पढ्न बंगलादेश पठाए । ५ वर्षको एमबीबीएस कोर्स सकेर उनी बंगलादेशको ढाकाबाट काठमाडौं आउन सोमबार बिहान यूएस बंगला विमान चढिन् । ‘बुवा मलाई काठमाडौं लिन आउनु है’ भनी सोमबार बिहान पूर्णिमाले बुवा नुरबहादुरलाई फोन गरिन् । उनी आइपुग्ने समय काठमाडौंबाट नुरबहादुरलाई स्थानीय सन्तोष लोहनीले फोन गरे, ‘नानी आइपुग्ने बेला भयो’ भनेर ।

माइली पूजा र कान्छी लेलिना काठमाडौंमै रहेकाले ब्यक्तिगत काम परेको भनी नुरबहादुर काठमाडौं गएनन् । एक्कासी टेलिभिजनले युएस बंगलाको विमान दुर्घटनाको खबर सुनाएपछि उनी छाँगाबाट खसेजस्तै भए । स्थानीयको सहयोगमा पत्नि यामकुमारी सहित उनी तत्काल काठमाडौं गए ।

तर, उनले छोरीको अनुहार देख्न पाएनन् । शवलाई शिक्षण अस्पतालमा राखिएको छ । डीएनए परीक्षण पछि मात्रै परिवारलाई शव बुझाइने खबर परिवारलाई दिइएको छ । ‘बंगलादेशबाट डाक्टर बनेर आएपछि हजुरको सेवा गर्छु भन्थ्यौ । तर, आज भगवानको सेवा गर्ने भै’ छौ’ तल्लो घरका विष्णु निधी लोहनीले फेसबुकमा स्टाटस लेखेका छन् । ‘गाउँका असाह्य, गरीबका सेवामा समर्पित हुन्छ भन्दै डाक्टर पढ्न बंगलादेश गएकी नानी (पूर्णिमा) अब फर्कने छैनन्’ उनले भने, ‘गाउँ फर्केर गाउँलेकै सेवा गर्छु भन्ने उनको वचन झल्झली गुञ्जिरहेको छ ।’

२३ वर्षको कलिलो उमेरमा गुमाउनु पर्दा असह्य भएको उनका स्कुले गुरु गोविन्दप्रसाद अधिकारीले बताए । उनका अनुसार ०६५ मा उदिपुरको जनकल्याण माविबाट एसएलसी पास भएपछि पूर्णिमा काठमाडौं पढ्न गएकी थिइन् । त्यसपछि एमबीबीएस पढ्न उनी ढाका पुगिन् । ‘पढाईमा अब्बल थिइन् । निकै जेहेन्दार थिइन् । सानैदेखि डाक्टर बन्छु भन्थिन् । गाउँ आएर सेवा गर्छु भन्छिन्’ उनले भने, ‘उनले चाहेजस्तो भगवानले पूरा गरिदिएन ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा सोमबार भएको यूएस बंगला विमानको दुर्घटनामा बेंसीसहर नगरपालिका १, ठूलोधिमिरेकी पूर्णिमा लोहनी पनि परेकी हुन् । पूर्णिमा नुरबहादुरकी जेठी छोरी हुन् । उनी छोरीको निकै पर्खाइमा थिए । ५ वर्षको अध्ययन सेकर नेपाल फर्केकी छोरीलाई उनी आफ्नै गाउँठाउँको सेवामा लगाउने सोंचमा थिए । ‘छोरी आएपछि गाउँ ठाउँको सेवामा लगाउने हो । सहयोग गर्नुपर्छ है’ केही दिन अघि मात्रै उनले भनेका थिए ।

उनका अनुसार छोरीलाई डाक्टर बन्ने, गाउँको सेवा गर्ने उनको सानै देखिको इच्छा हो । पढाईमा राम्रो नम्बर ल्याएकाले थप अध्ययनको लागि बंगलादेश पठाएको उनले बताए । पारिवारिक स्रोतका अनुसार छोरीलाई एमबीबीएस पढाउन ५५ लाख रुपैयाँ खर्च भएको छ । २३ बर्षको कलिलो उमेरमा पूर्णिमाको निधन भएपछि लोहनी परिवार र उनको गाउँ शोकमा डुबेको छ ।

Related Articles

Close