समाचार

एसईई परीक्षा निरीक्षणमा मन्त्रीको दादागिरी : केन्द्राध्यक्षको जागिर खाइदिने धम्की !

चैत १०, २०७५ जनकपुर- प्रदेश नम्बर दुईका सामाजिक विकास मन्त्री नवल किशोर शाहले एसईई परीक्षा केन्द्रको निरीक्षण गर्ने क्रममा केन्द्राध्यक्षमाथि गालीगलौज गरेका छन् ।

आइतवार बिहान धनुषा जिल्लाको सरस्वती नमुना उच्च माध्यामिक विद्यालयमा निरीक्षणको क्रममा मन्त्री शाहले केन्द्राध्यक्षसहित परीक्षा हलमा गार्ड बसेका विद्यालयका शिक्षकहरूलाई हप्कीदप्की गरेका हुन् ।

बिहान ९ बजे विद्यालय पुगेका मन्त्रीले निरीक्षकले परिचयपत्रमा फोटो नभएको भन्दै गालीगलौज गरेका हुन् । विद्यालयका शिक्षक बेचन रामले भने, ‘उहाँले हिन्दीमा गाली गर्नुभयो । तुमे संस्कार नही हैं । फोटो क्यूं नै रखा ।’ बेचन रामले आफूलाई चमार/दलित भनेर मन्त्रीले हप्काएको बताए ।

बेचन रामले आफू यसै विद्यालय शिक्षक भएको भन्दै मन्त्रीलाई परिचयपत्र पनि देखाएका थिए ।

त्यस्तै मन्त्री शाहले केन्द्राध्यक्ष सत्य नारायण मण्डलमाथि पनि हप्कीदप्की गरेका छन् । केन्द्राध्यक्ष मण्डलले भने, ‘मलाई पनि आएर गाली गर्नुभयो । तपाईको जागिर खाइदिन्छु । तपाईलाई हटाइदिन्छु । बेवकुप भनेर हप्काउनुभयो ।’ मण्डलका अनुसार मन्त्रीले आफूलाई केन्द्राध्यक्षबाट हटाइदिने धम्की दिँदै यस्तालाई कसले केन्द्राध्यक्ष बनाएको भनेर हप्काए ।

विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न नहुने भन्दै मण्डलले मन्त्रीको हर्कत सहेरै भएपनि परीक्षा सञ्चालन गरेको बताए ।

परीक्षा केन्द्रमा चार जनाको परिचयपत्रमा फोटो थिएन । फोटो नहुनेमा शंकर दास, सीमाकुमारी कर्ण, विनिता यादव र बेचन राम हुन् ।

मन्त्रीको हप्कीदप्कीपछि नेपाल शिक्षक संघ धनुषाले पत्रकार सम्मेलन गर्दै मन्त्रीको राजीनामा मागेको छ । संघका अध्यक्ष राम सिनेही यादवले मन्त्रीको मानसिक सन्तुलन गुमेको हुनसक्ने भन्दै उक्त व्यवहारप्रति कटु आलोचना गरेका छन् ।

मन्त्रीको हर्कतबारे उनका स्वकीय सचिव राजकुमार यादवले भने, ‘कतिपयको फोटो नभएका कारण मन्त्रीज्यूले हप्काउनु भएको हो । चमार वा दलित भनेर हेपेको भने होइन ।’

उक्त केन्द्रमा ११ वटा विद्यालयको सेन्टर परेको छ । परीक्षाका लागि ४०८ विद्यार्थी सहभागी हुनुपर्नेमा ३९४ जना विद्यार्थी उपस्थित भएको केन्द्राध्यक्ष मण्डलले जानकारी दिए । परीक्षाका लागि १८ जना खटाइएको पनि उनले जानकारी दिए ।

Related Articles

Close