समाचार

रोकि राखेको बसमा आगजनी : आगो लगाउने पक्राउ

विराटनगर : मोरङको उर्लाबारी नगरपालिका–७ मालबाँसे पेट्रोल पम्प नजिकै पार्किङ गरेर राखेको बसमा सोमबार बिहान आगजनी गरिएको छ।

केही दिनदेखि पार्किङ गरेर राखिएको ना ४ ख ४९ नम्बरको बसमा बिहान साढे ३ बजेतिर आगजनी गरिएको प्रहरीले जनाएको छ। आगो लगाइएको बस पेट्रोलपम्पबाट लगभग १० मिटर मात्रै टाढा थियो। आगोले जलेर बस पूर्ण रुपमा ध्वस्त भएको छ।

घटनास्थलमा तत्काल प्रहरी परिचालन गरेर सतर्कता अपनाउँदै नियन्त्रणमा लिन सकिएका कारण आगो वरपर फैलन भने नपाएको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर रामप्रसाद तिमल्सिनाले बताए।

‘नजिकै पेट्रोल पम्प र घरहरु रहेका कारण बसमा लगाइएको आगोका कारण ठूलै जोखिम निम्तिएको थियो,’ तिमल्सिनाले भने, ‘तत्काल दमकल र प्रहरीले आगो नियन्त्रणमा लिंदै अन्यत्र फैलिएर हुन सक्ने अन्य क्षतिलाई भने रोक्न सकियो।’

मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार सर्लाहीको लालबन्दी घर बताउने अन्दाजी ३० वर्षीय रामहरि माझीले बसमा आगो लगाएका हुन्। तत्कालै माझीलाई नियन्त्रणमा लिइएको जानकारी उनले दिए। उनका अनुसार बसमा आगो लगाएर भाग्न लागेको अवस्थामा सिटी सफारी चालकहरुले देखेर खबर गरेका थिए। माझी केही समयदेखि उर्लाबारीको एउटा होटलमा काम गर्दै आएको खुलेको छ।

मादक पदार्थ सेवन (मापसे) गरेर होटलबाट आइतबार साँझ निस्किएको र राति उनी त्यही बसमा गएर सुतेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। रातभर बसमा सुतेका उनले आफूसँग बोकेको लाइटरको प्रयोग गरेर बिहान बसमा आगो लगाइदिएको एसपी केसीले बताए।

होटल सञ्चालकले पनि माझी साँझ होटलबाट हिँडेपछि नफर्किएको र कहाँ गएको भन्ने बारेमा केही जानकारी नभएको प्रहरीलाई बताएका छन्।

‘मापसे गरेर रातभर बसमै सुतेँ। बिहानपख ब्यूँझिदा जाडो भइरहेको थियो,’ माझीलाई उदृत गर्दै एक प्रहरीले भने, ‘साथमा लाइटर बोकेको थिएँ। जाडो भएको रिसमा त्यही लाइटर बालेर बसमा आगो लगाइदिएँ।’

बस कसको हो भन्ने बारे पनि खुलिसकेको छैन। घटनाका बारेमा कोही कसैले जाहेरी दिइनसकेको प्रहरीले जनाएको छ। सम्बन्धित धनीबाट जाहेरी परेपछि कानुनी कारवाही अघि बढाउन थप अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ।

Related Articles

Close