कार्गो विमान दुर्घटना मा ज्यान गुमाएका पाइलट महासेनानी कैलाश गुरुङ मरनोप्रान्त सहायक रथिमा बढुवा

काठमाडौं : गत वर्ष जेठ १५ गते बाजुराको कोल्टी विमानस्थलमा कार्गो विमान दुर्घटनामा ज्यान गुमाएका महासेनानी कैलाश गुरुङ मरनोप्रान्त सहायक रथिमा बढुवा भएका छन्। 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गुरुङलाई मरनोप्रान्त सहायक रथिमा बढुवा गरेर उनको परिवारलाई त्यही अनुसारको सेवा सुविधा प्रदान गर्ने निर्णय गरेको हो । 

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सैनिक परिचालन नियमानुसार गुरुङलाई मरनोप्रान्त सहायक रथिमा बढुवा गर्ने निर्णय भएको बताए।

को थिए कैलाश गुरुङ

भोजपुर जिल्लाको ट्याम्केमैयुम गाउँपालिका (साविक छिनामखु गाविस) मा कैलाश गुरुङ जन्मिएका थिए। विमान चालक गुरुङले सैनिक गीतहरू, राष्ट्रिय गीतहरू र मायाप्रीतिका धेरै गीत लेखेका थिए, संगीत भरेका थिए।

२०७५ जेठ १५ गते बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको कार्गो विमान दुर्घटनामा ज्यान गुमाएका सेनाका पाइलट महासेनानी कैलाश गुरुङ एक सर्जक पनि थिए।

ट्याम्के छोरो अर्थात् महासेनानी कैलाश गुरुङ, जसले लेखे ‘जो मर्न कहिल्यै डराउँदैन…’

सैनिक विमान दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा निधन भएको थियो। त्यही दुर्घटनामा मेजर अनिता आले र सुवेदार पूर्णबहादुर खड्का गम्भीर घाइते थिए।

ट्याम्के भोजपुर जिल्लाको शान मानिन्छ। भोजपुर र खोटाङ जिल्लाको सिमानामा पर्ने शैलुङपछिको नेपालको दोस्रो अग्लो डाँडो मानिने ट्याम्केका बारेमा केही भनाइ पनि प्रसिद्ध छन्।

स्थानीयहरू ट्याम्के डाँडोलाई आफ्नो गौरवका रूपमा लिन रुचाउँछन्। भोजपुरका कवि तथा गजलकार सुरेश सुवेदीका अनुसार ट्याम्के डाँडामाथिबाट हवाइजहाज वा हेलिकप्टर उडाइँदैन।

उक्त डाँडामा दैवी शक्ति रहेकाले सो डाँडामाथिबाट जहाज उडाउँदा दुर्घटना हुने मान्यता रहेको उनी बताउँछन्। कतिपयले उक्त डाँडोमा सुनखानी रहेको पनि बताउँदै आएका छन्। जन्मभूिममा रहेको यही शान, ट्याम्केकै नाममा महासेनानी गुरुङले पनि आफ्नो नाम ‘ट्याम्के छोरो’ राखेका थिए।

खेमराज गुरुङले गाएको अन्तिम गीत ‘आऊ न मोरी टुँडिखेलमा डन्डिबियो खेल्न…’ का संगीतकार तथा सर्जक पनि कैलाश नै थिए। सैनिक सेवामा रहेकाको पीडा समेटेर उनले ‘दशैँ तिहारमा म ड्युटी बस्दै छु’ बोलको गीत लेखेका छन्। आनन्द कार्कीले गाएको ‘मनको मयुर मेरी तिमी दिलको वनमा नाच्ने’ बोलको गीत पनि उनले नै लेखेका थिए।

गीत लेखन तथा संगीत उनको ‘प्यासन’ थियो। उनले लेखेका कतिपय गीतहरू उनको युट्युब च्यानल ट्याम्के छोरोमा हेर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *