मोदीको सपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री ओली भारत प्रस्थान

काठमाडाैँ, १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली प्रस्थान गरेका छन् । ओली नेतृत्वको १० सदस्यीय नेपाली टोली नेपाल एयरलाइन्सको जहाजमार्फत बिहीबार दिउँसो नयाँदिल्ली प्रस्थान गरेको हो ।

उनी आज साँझ हुने मोदीको सपथ कार्यक्रममा सहभागी हुनेछन् । त्यस्तै, भोली शुक्रबार प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच द्विपक्षीय भेटवार्ता हुनेछ । प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ।

हालै सम्पन्न निर्वाचनबाट मोदी दोस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । भारतीय प्रधानमन्त्री मोदीले बिमस्टेक सदस्य राष्ट्रका सरकार प्रमुखलाई आफ्नो सपथ कार्यक्रममा बोलाएका छन् ।

मोदी पहिलोपटक भारतको प्रधानमन्त्री हुँदा भने सार्क सदस्य राष्ट्रका सरकार प्रमुखलाई आफ्नो सपथ कार्यक्रममा निमन्त्रणा गरेका थिए।

प्रधानमन्त्रीको रुपमा ओलीको यो तेस्रो भारत भ्रमण हो । दोस्रोपटक प्रधानमन्त्री भएपछि भने ओलीको यो दोस्रो भ्रमण हो। पहिलो पटक ओली प्रधानमन्त्रीको रुपमा २०७२ सालमा भारत भ्रमण गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *