समाचार

ओलीको विरोध गर्नेको शरीरमा भारतीय रगत बगेको छ : सत्यनारायण मण्डल

काठमाडौं । ‘प्रधानमन्त्री एवम‍् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा अ‌ाेलीलाई हटाउन केही नेताले हतार गरेका छन‍्, भारतसँग मिलेका छन्’ – नेकपा स्थायी कमिटी सदस्य सत्यनारायण मण्‍डलले भन्‍नुभयाे ।

पार्टीभित्रकाे विवाद र नेताहरुको व्यवहारप्रति खरो टिप्पणी गर्दै मण्डलले भन्‍नुभयाे – ‘उहाँहरुको शरीरमा नेपाली रगत नै बगेको छैन, उहाँहरुमा नेपाली पनको कुरै छैन ।’

नेता मण्डलले पार्टीलाई एकतावद्ध गरेर जानुको विकल्प नभएको बताउनुभयाे । पार्टीलाई एकतावद्ध बनाउन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ट नेता माधव नेपाल र झलनाथ खनाल आफ्नो अडानबाट पछि हट्नुपर्ने उहाँको भनाई छ ।

प्रधानमन्त्रीलाई काम गर्न नदिने तीन जना नेता आफ्नो अडानबाट पछि नहटे कम्युनिष्ट पार्टीमा ठूलो दुर्घटना हुने उहाँले चेतावनी दिनुभयो । ‘यस्तै अवस्था हो भने नेपालको कम्युनिष्ट आन्दोलनले वाग्मती किनारमा समाधि लिन्छ’, उहाँले भन्नुभयो ।

अहिलेको विवाद कुनै राजनीतिक वा वैचारिक विवाद नभई व्यक्ति व्यक्तिबीच पदको लडाईं भएको मण्डलले बताउनुभयो । ‘यसमा कुनै सैद्धान्तिक र वैचारिक विषय छैन’, मण्डलले प्रष्ट पार्नुभयाे ।

समस्याको समाधान दुई अध्यक्षको बीचबाटै खोज्नुपर्ने मण्डलको जोड छ । पार्टी एकिकरण पश्चात अन्तरिम विधानमा महाधिवेशन नहुँदासम्मको लागि दुई अध्यक्षलाई प्रमुख मानिएको उहाँको भनाई छ । ‘अर्को महाधिवेशनसम्म दुई अध्यक्षकै सहमतिले पार्टी चल्ने छ भन्ने कुरा प्रष्ट छ , त्यसैले बीचमा अरु कोही नपसी दुई अध्यक्षले समस्याको समाधान खोज्‍नुपर्छ’, मण्डलले भन्नुभयो ।

गत पुसमा बसेको केन्द्रीय कमिटी बैठकले आउने चैतमा महाधिवेशन घोषणा गरेको बताउँदै सबै समस्याको निकास त्यहीँ खोज्नु पर्ने मण्डलले बताउनुभयो । ‘अब महाधिवेशनको तयारी गरेर सबै कुराको छिनोफानो एकता महाधिवेशनबाट गर्नुपर्छ’, उहाँले भन्नुभयो ।

स्थायी कमिटी बैठकको सुरुमा सौहार्दपूर्ण रुपमा छलफल भएको उहाँको भनाई छ । तर सुनियोजित रुपमा नियतवश बैठकलाई केही नेताले विषयान्तरण गरेको मण्डलको आरोप छ ।

‘सुरुमा सिमाको बारेमा महत्वपूर्ण छलफल चल्यो, दुईदिनसम्म बैठक चलेपछि जम्मा ६ जना नेता बोल्न बाँकी थियो, एकाएक सिमानाको विषयलाई छाडेर छलफललाई विषयान्तर गरी प्रधानमन्त्रीको राजिनामाको कुरा उठाइयो, ६ जना नेता बढीमा दुई घण्टामा बोली सक्दथे, सबैले बोलीसकेपछि पार्टीको एउटा धारणा बन्थ्यो, दुई घण्टा पनि उहाँहरुले धैर्यता देखाउन सक्नु भएन’, मण्डलले भन्नुभयो ।

मदन जयन्तीमा प्रधानमन्त्रीले बोलेको कुरा केही देखेरै बोलेको उहाँको भनाई छ । भारत नेपालको सन्दर्भमा कहिल्यै पनि कुटनीतिक मर्यादामा नरहेको र अहिले पनि त्यो कायम नै रहेको उहाँको भनाई छ । ‘कहिले सेनाको प्रमुखलाई बोल्न लगाउँछ, कहिले रिटायर्ड जनरल र मिडिया बोल्छन्, कहिले नेपालकै नेतालाई प्रयोग गर्छ, यो हामी सबैले बुझेको कुरा हो’, उहाँले भन्नुभयो ।

अयोध्याको विषयमा प्रधानमन्त्रीले बोलेको कुरा पनि तथ्यसंगत भएको उहाँको भनाई छ । भारतको अहिले अयोध्या भनिएको स्थान रामको भूमि नभई वुद्ध भूमि भएको तथ्य भेटिइसकिएको उहाँले बताउनुभयो । ‘भारतका वौद्धभिच्छुहरु अनसन बसिसके, करोडौँ भारतीयको स्वीकारोक्ति हो कि भारतमा जवरजस्ती ब्राम्हणवाद स्वीकार्न लगाइएको छ , त्यसकारण यहाँका नेतालाई चर्को पर्यो, भारत बोल्नु भन्दा पहिला हाम्रा नेता अगाडि बढेर बोले, यस्तो पनि हुन्छ ? यो कस्तो राष्ट्रियता ?’, मण्डलले प्रश्न गर्नुभयो ।

अब पार्टीमा सरल तरिकाले समस्याको समाधान ननिस्किए कडा रुपमा उत्रनु पर्ने उहाँको भनाई छ । ‘प्रचण्डले प्रधानमन्त्रीको राजिनामा मैले मागेको भन्नुभएको छ, यस्तो बेलामा किन राजिनामा माग्नुभयो, कसको इसारामा माग्नुभयो, यो कुरा हामीले उठाउनुपर्छ’, मण्डलले भन्नुभयो ।

अहिलेको पार्टीमा देखिएको विवाद भारतको योजना अनुसरा नै भएको मण्डलको निष्कर्ष छ । ‘विवादको कारण प्लान्टेड नै हो, नेपालमा सातसादेखि भएको परिवर्तनमा अवरोध पुर्याउने विष वृक्षको नर्सरी भारतमै छ, हामी हिमवत खण्डका मानिसले त्यो विषलाई अहिलेसम्म पचाउँदै आएका छौँ, अब नेपालमा मन्त्री प्रधानमन्त्री बन्न भारतको चारकरी गर्नु आवश्यक छैन, केसैले म शेर हुँ भनेर भन्छ भने नेपालले दुम्सी बनेर तह लगाउँछ’, मण्डलले भन्नुभयो ।

source : Sunrisekhabar.com

Related Articles

Back to top button
Close