समाचार

भारतीय डिप बोरिङ प्रहरीको नियन्त्रणमा, अवैध तरिकाले नेपालमा करोडौंको कमाएको प्रहरीको दाबी

महोत्तरी, ९ साउन । बर्दिबास प्रहरीले करोडौं रुपैयाको डिप बोरिङ मेसिन भन्सार छली गरेर नेपाल भित्रिदै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ । प्रहरीले चेकजाचको क्रममा बुधबार दुई करोड बराबरको मेसिन जडित ट्रक नियन्त्रणमा लिएसँगै भन्सार छलीको तथ्य बाहिरिएको हो ।

बुधबार बर्दिबासमा ट्राफिक प्रहरीले चेकजाँचका क्रममा महाराष्ट्र र मध्यप्रदेश दर्ता रहेका डिप बोरिङ मेसिन जडान गरिएका दुई ट्रक केए ५१ एमएच–३६५५ र एमपी ०९ जीई–९१३१ नियन्त्रणमा लिएको हो । ती दुई ट्रकमा भन्सार छली सिँचाई र खानेपानी प्रयोजन डिप बोरिङमा प्रयोग हुने मेसिन र औजार ल्याएका थिए ।

भारतीय डिप बोरिङ मेसिनले भारतमा अत्यन्तै न्यून दरमा काम गर्नुपर्ने भएकाले, अधिकांश भारतीय नम्बर प्लेटमा जडान भएका मेसिनको काम गर्ने रोजाई नेपाल नै भएको छ । यसरी भित्रिएका ट्रकहरु निश्चित समय पश्चात फर्किन पर्ने कानूनी मापदण्ड भए तापनि महिनौं नेपालमै बसेर आम्दानी गर्दै आइरहेको समेत खुल्न आएको छ ।

बुधबार समातिएका दुई भारतीय ट्रकमा जडान भएको डीप बोरिंङ मेसिनको भन्सार महिनौंदेखि नतिरेको खुल्न आएको छ । उक्त मेसिनले अवैध तरिकाले नेपालमै बसेर करोडौंको कमाएको प्रहरीको दाबी छ ।

प्रहरीले नियन्त्रणमा लिएको दुई भारतीय ट्रकलाई छोडाउन यतिवेला भन्सार एजेन्टमार्फत् चलखेल गरी तुरुन्तै भन्सार बुझाई छुटाउने समेत गरेको पाइएको छ। अहिले समातिएका दुई ट्रकलाई समेत छुटाउन ट्राफिक प्रहरीलाई बर्दिबास नगरपालिकाले चिठ्ठी जारी गरिसकेको पाइएको छ।

तर, बर्दिबास नगरपालिकाका मेयर बिदुर कार्कीले अवैध रुपमा सञ्चालित भारतीय नम्बर प्लेटका ट्रकमा जडित मेसिन छुटाउन चिठ्ठी जारी गरेको अस्वीकार गरे। यता मेसिनका नेपाली एजेन्टका कर्मचारी सुबोध सिंहले नगरपालिकाले मेसिन छुटाउन चिठ्ठी जारी गरेको जिकिर गरे ।

अहिले समातिएका भन्सार फेलसँगै राजस्व छली गरिएका मेसिनहरुले एसियन बोरिङका भारतीय नागरिक बलजित सिंघमार्फत् नेपालमा काम गर्दै आइरहेका छन् । चितवनमा बसोबास गरिरहेका सिंह यतिवेला प्रहरीको नियन्त्रणमा रहेको ट्रक छुटाउन लागी परेका छन् ।

Source:news२४nepal

Related Articles

Back to top button
Close