समाचार

कञ्चनपुरमा नेपाली भूमिमा तारबार गर्न खोज्दा भारतको अवरोध

काठमाडौं। सुदूरपश्चिम प्रदेशको कञ्चनपुरस्थित नेपाल–भारत सीमामा क्षेत्र नजिकैको नेपाली भूमिमा नेपालीहरुले तारबार गर्न खोज्दा भारतले अवरोध गरेको छ। कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर ९ को ब्रह्मदेवमा नेपालीले सामूदायिक बनमा तारबार गर्न खोज्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको छ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले सीमा क्षेत्रमा कुनै पनि गतिविधि गर्दा दुबै देशका नागरिकले समन्वय गर्नुपर्ने बताए। उनले नेपाली नागरिकले तारबार गर्न खोज्दा भारतीय पक्षबाट विरोध भएको स्वीकार गरे। उनले डिसी नेपालसँग फोनमा भने, ‘त्यहाँ विवाद भएपछि हाम्रो सुरक्षा प्रतिनिधि र उताका (भारतीय) अधिकारीबीच छलफल भएको छ। विवाद नबढाउने दुबैतर्फ सहमति भएको छ।’

उता भीमदत्त नगरपालिकाका मेयर सुेन्द्रराज विस्टले भने सीमामा भारतीय दादागिरी भएको बताए। उनले नेपालीले आफ्नो भूमिमा तारबार गर्न खोज्दा पनि भारतीयले अवरोध गरेको बताए। उनले डिसी नेपालसँग भने, ‘नेपालीले आफ्नो भूमिमा रहेको सामूदायिक बनमा तारबार गर्न खोजेका थिए। उताबाट अवरोध भयो। सँयुक्त सर्वे टिमले सीमाको निक्र्यौल गरेपछि काम अगाडि बढाउने भनेर अहिले रोकिएको छ।’

तर, भारतीय सञ्चार माध्यमहरुले भने दशगजा क्षेत्रमा नेपालीले कब्जा गरेको भन्दै आधारहिन समाचार सम्प्रेषण गरेका छन्। भारतीय सञ्चार माध्यमहरुले दशगजामा नेपालीले कब्जा गरेको र भारतीय अधिकारीको कुरालाई नमानेको बताएका छन्।

भीमदत्त नगरपालिकाका मेयर विस्टले भने यो समस्या एकीकृत महाकाली सन्धिकै कारण उब्जिएको बताए। उनले भने, ‘महाकाली सन्धि हुँदा हाम्रोतर्फबाट केही गल्ति भएका छन्। त्यतिबेला नेपाल–भारत सीमा स्पष्टसँग छुट्याएको भए यो समस्या आउने थिएन। भारतले नेपालको ३६ हेक्टर जमिन कब्जा गरेको छ। हामीले हाम्रो भूमिमा त काम गर्न पाउनु पर्यो नी।’

Related Articles

Back to top button
Close