समाचार

तीन बालकको एकैपटक निधन, गाउँनै शोकमा

झापा – झापाको भद्रपुर नगरपालिका–२ स्थित कमलधापमा निर्माणाधीन पोखरीमा डुबेर तीन बालकको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । मृत्यु हुनेमा भद्रपुर–२ का अनिल तामाङका १० वर्षीय छोरा अङ्कुश, सोही स्थानका कमला थामीका दुई छोरा १५ वर्षीय करण र १२ वर्षीय अर्जुन रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो ।

बुधबार दिउँसो घरबाट खेल्न निस्किएका अंकुश अबेरसम्म घर नआएपछि खोजतलास गर्ने क्रममा राति ७ बजे पोखरीमा डुबेर मृतावस्थामा फेला परेका थिए । उनीसँगै बेपत्ता भएका करण र अर्जुनको खोजतलास गर्ने क्रममा आज सोही पोखरीभित्र गाडिएको अवस्थामा भेटिएका थिए । दुवै बालकको शव निकालिएको प्रवक्ता थापाले बताउनुभयो । उक्त पोखरीमा माछा मार्न र पौडी खेल्न तीनै जना बालकसँगै गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पोखरीमा डुबेर एकै गाउँका तीन बालकले ज्यान गुमेपछि सो क्षेत्र तनावग्रस्त बनेको छ । पोखरी खन्ने जिम्मा लिएको निर्माण कम्पनीको लापरवाहीले खाल्डो दलदलमा परिणत भएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । मृतक अङ्कुश एसियन स्टार बोर्डिङ स्कूल र थामी दाजुभाइ सगरमाथा माविमा अध्ययनरत थिए ।

बालकले ज्यान गुमाएको पोखरी र पोखरीको डिलमा बालकको शव राखेर विरोध गर्दै आफन्तजन र स्थानीय

निर्माण कम्पनीले मापदण्ड नअपनाउँदा घटना भएको मृतक बालक अङ्कुशका काका आशिष तामाङले बताउनुभयो । “भतिजसहित अन्य दुई बालकको मृत्यु भद्रपुर नगरपालिका र निर्माण कम्पनीको चरण लापरवाहीको कारण भएको हो”, उहाँले भन्नुभयो, “निर्माण कम्पनीले कम्तीमा सुरक्षाको मापदण्ड किन अपनाएन र बर्खाको बेला त्यहाँ कम्पनीले कर्मचारी राख्नु पर्दैन ।”

तीन बालकको मृत्युले वडावासी नै शोकमा डुबेको स्थानीय फागु सुब्बाले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण कम्पनीको लापरवाहीले नै गाउँमा यस्तो ठूलो घटना भयो, यसका लागि हामी कानूनी उपचारमा जान्छौँ ।” कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माणका लागि भद्रपुर नगरपालिकाले ठेक्का लगाएको थियो । निर्माण कम्पनी आरएण्डसी नयाँ युग जेभीले रु चार करोड ३८ लाख तीन हजार ५७९ मा २०७८ असारसम्म निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो ।

मृतक बालकको परिवारलाई दश÷दश लाख दिइने

भद्रपुर नगरपालिका–२ पृथ्वीनगरस्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्रको निर्माणाधीन पोखरीमा डुबेर मृत्यु भएका तीन जना बालकको परिवारलाई रु दश÷दश लाख प्रदान गरिने भएको छ । निर्माण कम्पनीले खनेर छाडेका पोखरीमा डुबेर गत बुधबार बालकको मृत्यु भएको थियो ।

बिहीबार उचित क्षतिपूर्तिको माग राख्दै परिवारले शव बुझेका थिएनन् । भद्रपुर नगरपालिका, कमलधाप पर्यटन क्षेत्र विकास समिति र पीडित पक्षसँग भएको छलफलपश्चात् पाँचबुँदे लिखित सम्झौतापछि परिवारले दश घण्टापछि मृतक तीनै जना बालकको शव बुझेका थिए ।

कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माणस्थलमा खनिएको पोखरीमा डुबेर भद्रपुर–२ डिगाउँ बस्ने अनिल तामाङका १० वर्षीय छोरा अङ्कुस तामाङ, बिर्तामोड नगरपालिका–९ हाल मावाला बस्दै आएका दीपक थामीका दुई छोरा १४ वर्षीय करण र ११ वर्षीय अर्जुन थामीको मृत्यु भएको थियो । मृत्यु हुनेमा अनिलको शव बुधबार साँझ ७ बजे भेटिएको थियो, भने थामी दाजुभाइको शव बिहीबार बिहान ९ बजे मात्रै भेटिएको थियो ।

थामी दाजुभाइको शव नबुझ्ने भन्दै पीडित पक्षले घटनास्थलमा विहीबार दिनभर न्याय र राहतको माग गर्दै धर्ना दिएका थिए । छलफलपश्चात् भएको सम्झौतामा नगरपालिकाले सम्बन्धित सबै सरोकारवाल पक्ष र सरकारसँग समन्वय गरी मृतकका परिवारलाई रु १० लाखको दरले राहत उपलब्ध गराउने, पीडित पक्षको सम्बन्धित व्यक्तिलाई यस कमलधापमा सञ्चालित परियोजनामा रोजगारको व्यवस्था, निर्माणाधीन स्थलमा पुनः यस्ता घटना नदोहोरिनको लागि निर्माणस्थलमा सुरक्षाको व्यवस्था, कमलधाप पर्यटन क्षेत्र विकास समिति खारेज र पीडितका परिवारलाई ३५ दिनभित्रमा राहतलगायतको सम्झौता कार्यान्वयन गर्ने निर्णय भएको छ ।

सम्झौतापत्रमा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, २ नम्बर वडाध्यक्ष भीमबहादुर सुब्बा, बिर्तामोड नगरपालिका–९ नम्बर वडाका सदस्य हरि चम्लागाई र बालकृष्ण कार्की, नेकपाका भद्रपुर अध्यक्ष शिवकुमार राजभण्डारी, नेपाली काँग्रेसका राजु गिरी, तामाङ समाजका दलबहादुर लामा, थामी समाजका मेघराज थामी, कमलधाप पर्यटन क्षेत्र विकास समितिका राजु दाहाल, सुब्बे थामी र पूर्णबहादुर तामाङले हस्ताक्षर गर्नुुभएको छ ।

Related Articles

Back to top button
Close