समाचार

केपी ओली-वामदेव साइनो

१४ साउन, काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतम र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राति भैंसेपाटीस्थित गौतम निवासमा दुई घण्टासम्म सपरिवार डिनर बैठक गरेको सुन्दा स्थायी कमिटीका कतिपय नेता छक्क परे ।

छक्क नपरुन् पनि किन ? उनीहरुले भैंसेपाटी डिनरको केही घण्टाअघि मात्रै बालुवाटारमा वामदेवको कडा भाषण सुनेका थिए । केही नेताले मोबाइलमा रेकर्डसमेत गरेका थिए । मंगलबार राति भैंसेपाटीबाट गौतम र ओली परिवारका सामुहिक तस्वीरहरु सार्वजनिक हुँदै गर्दा नेकपाका कतिपय नेतालेचाहिँ दिउँसो बालुवाटारमा वामदेवले बोलेको अडियो एकापसमा सेयर गरिरहेका थिए । र, आफैंले ‘काँध फोहोर पार्ने’, ‘दुष्ट’ भनेको मान्छेसँग वामदेवले दुईघण्टा भलाकुसारी गरेकोमा अचम्म मानिरहेका थिए ।

पार्टीभित्र संकटमा परेका प्रधानमन्त्री ओली आफूलाई राहत पुग्ने ६ बुँदे प्रस्ताव अघि सारेपछि मंगलबार साँझ अचानक उपाध्यक्ष बामदेव गौतमलाई भेट्न गौतम निवासमा पुगे ।

कोरोना संक्रमणपछि संसदबाहेक अन्यत्र प्रायः कतै नगएका ओली, पत्नी राधिका शाक्यलाई लिएर गौतम निवासमा पुगेका थिए । पार्टी महासचिव विष्णु पौडेलसमेत उपस्थित डिनरसहितको त्यो भेटमा झण्डै दुईघण्टा कुराकानी भयो । र, गौतमका छोराबुहारीसहित पारिवारिक तस्वीर खिचाएर प्रधानमन्त्री दम्पती बालुवाटार फर्किए ।

ओली-गौतम भेटको राजनीतिक पक्षबारे कुरा गर्नुअघि मंगलबार दिउँसो बालुवाटारमा वामदेवले ओलीबारे के-के भनेका थिए ? त्यसको अडियो उतारको सम्पादित अंश पढौं-

प्रधानमन्त्रीको चाहनालाई बल पुग्ने गरी ६ बुँदे प्रस्ताव अघि सारेका गौतम मंगलबार बालुवाटारमा प्रचण्डको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकमा ओलीविरुद्ध खनिएका थिए ।

करिव १५/१६ मिनेट बोलेका गौतमले पार्टी संकटको कारक केपी ओली नै भएको र उनले पार्टी फुटाउन खोजेको मात्रै आरोप लगाएनन्, ओली कम्युनिस्ट हुन योग्य मानिस नै नभएको समेत भन्न भ्याए ।

मंगलबारको बैठकमा गौतमले यसो भनेका थिए-

पार्टी संकटको मुख्य कारक कमरेड केपी ओली नै हो ।

यति धेरै साथीहरुले योग्यता देखाउन सक्नुभएन, छोड्नुस् भन्दा पनि उहाँ तयार हुनुभएन । पार्टी विभाजनको खतरा देखा परेको छ । केपीबाट सरकार पनि चल्दैन, पार्टी पनि चल्दैन भनेर एक वर्षअघि मैले भन्दा माधवकुमार नेपालले अहिले हटाउने कुरा नगरौं । आलोचना गरौं, सुधि्रन समय दिउँ भन्नुभयो ।

अहिले पार्टीमा यत्रो विरोध र आलोचना भएपछि उहाँ आफैंले छोड्नुपर्ने हो । तर, उहाँमा त्यो छोड्ने साहस छैन । उहाँमा आलोचना सुन्ने साहस छैन । उहाँ कम्युनिस्ट हुन योग्य मानिस नै होइन । यस्तो व्यक्ति बोकेका छौं, जसले हाम्रो काँधमा फोहोर मात्र गरेको छ ।

तर, अहिले तत्काल फाल्दा दुर्घटना हुने डर छ । हाम्रो पश्चिमतिर दुष्टदेखि दैवसमेत डराउँछन् भन्छन् । उहाँले पार्टी फुटाउन खोज्नुभएको छ । पार्टीलाई फुटबाट जोगाउनका लागि प्रधानमन्त्रीबाट अहिले नहटाऔं ।

केपी ओलीमाथि यति टिप्पणी गरिसकेपछि उपाध्यक्ष गौतमले पार्टीलाई बिग्रहबाट जोगाउन आफूले ६ बुँदे प्रस्ताव अघि सारेको स्थायी कमिटी सदस्यहरुलाई सुनाए । ओलीलाई प्रधानमन्त्रीबाट हटाए पार्टी फुट्ने भएकाले यो प्रस्तावअघि सारेको गौतमको तर्क थियो ।

ओली किन गए भैंसेपाटी ?

आफ्नै सरकारी निवास बालुवाटारमा बहुमत स्थायी कमिटी सदस्यको उपस्थितिमा भएको बैठकमा अनुपस्थित रहेका ओली एकाएक गौतमको निवासमा पुग्नु अनपेक्षित थियो । तर, आश्चर्य भने होइन ।

किनकि, स्थायी कमिटीको बैठकको पूर्वसन्ध्यामा गौतमले छ बुँदे प्रस्ताव सारेर ओलीलाई दुईमध्ये एक पद छाड्न दबाव दिइरहेको प्रचण्ड-माधव नेपाल समूहमा तरंग ल्याएका थिए ।

एकसाता अघिसम्म प्रचण्ड-माधव समूहमा रहेका गौतम केही दिनदेखि ओलीप्रति नरम देखिएका थिए । मंगलबार स्थायी कमिटीसम्म आइपुग्दा उनले ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यो कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा राखिराख्ने प्रस्ताव राखे ।
प्रचण्डलाई एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारी दिने, पार्टीको परामर्शमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने, सरकारको महत्वपूर्ण विषयमा पार्टीमा परामर्श गर्ने उनको प्रस्तावमा उल्लेख छ ।

Related Articles

Back to top button
Close