समाचार

कैलालीमा हजारौं घर डुबानमा, स्थानीय को बिचल्ली ! (हेर्नुहोस भिडियो)

बिराज रोस्यारा (इमेज)

कैलाली, साउन १५ । मंगलबार रातिदेखि परेको वर्षाका कारण कैलालीमा करिब छ हजारभन्दा बढी घर डुबानमा परेका छन् ।

जिल्लाका विभिन्न नदीमा आएको बाढीले भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका, कैलारी गाउँपालिका, जानकी गाउँपालिकामा सबैभन्दा बढी समस्या पारेको छ ।

कैलालीमा दुई दिनदेखिको लगातार वर्षाले छ हजारभन्दा बढी परिवार डुबानमा परेका छन् । डुबानबाट जोशीपुर गाउँपालिका र भजनी नगरपालिका सबैभन्दा बढी प्रभावित भएका छन् ।

कैलालीका बाढीप्रभावित क्षेत्रका बासिन्दालाई जोखिम बढेपछि घरमा बसेका सबैलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

यसैगरी, भजनी नगरपालिका–२ र ३ स्थित मोहनपुर, ढुसी र काँढा गाउँमा काँढा नदीको बाढी पसेर करिब तीन हजारभन्दा बढी घर डुबानमा परेका छन् ।

अन्य स्थानीय तहमा पनि बाढीले असर गरेका कारण उद्धारको काम भइरहेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिनुभयो ।

डुबानको उच्च जोखिममा रहेको कैलालीका अधिकांश क्षेत्र डुबानमा परेसँगै एक रातको झरीमै धनगढीका विभिन्न क्षेत्र डुबानमा परेका छन् ।

धनगढी उपमहानगरपालिका–३ को अधिकांश क्षेत्र डुबानमा परेको छ ।

त्यस्तै, वडा नम्बर–४ को बसपार्क पछाडि, हसनपुर क्षेत्र, वडा नम्बर–१ को कटान क्षेत्र जलमग्न भएको छ ।

बढी डुबान हुने क्षेत्र वडा नम्बर–३ का बोराडाँडी, मित्रनगर, विशालनगर, गुरुद्वारामार्गलगायतका ठाउँ जलमग्न भएका छन् ।

स्थानीय तहबाट पानी निकासका लागि दीर्घकालीन योजना नबन्दा वर्षेनि डुबानको समस्याले स्थानीय पीडित छन् ।

धनगढी उपमहानगरपालिका, प्रदेश सरकार र संघीय सरकारसँगसमेत निकासका लागि पहल गर्न निवेदन दिँदा पनि वास्ता नगरेकाले डुबान भएको वडा नम्बर–३ का अध्यक्ष बलबहादुर ऐरले बताउनुभयो ।

डुबान क्षेत्रमा पुग्नुभएका वडाध्यक्ष ऐरले उपमहानगरपालिका तथा प्रदेश सरकारले दीर्घकालीन समस्या समाधान हुनेगरी काम नगरेसम्म वडा नम्बर–३ को डुबान नरोकिने बताउनुहुन्छ ।

एकातिर धमाधम बस्ती बसिरहने र अर्कोतर्फ नाला नबनाइ सडक निर्माण गरिँदा यसले हरेक वर्ष तराई क्षेत्र डुबानमा पर्दै आएको छ ।

स्थानीय तहले बाढीको पूर्वतयारी नगर्दा थोरै पानी पर्दा पनि डुबानको समस्या हुने गरेको छ । यस विषयमा सम्बन्धित निकाय गम्भीर बन्न जरुरी छ ।

भिडियो हेर्नुहोस्

स्रोत : इमेज खबर

Related Articles

Back to top button
Close