समाचार

युट्युबरको कठघरामा एक महिलाको ‘चिरहरण’

‘बच्चा भेटिएको सबै नाटक रहेछ, भाग्य न्यौपाने पुगेर गरे पर्दाफास’

यो शीर्षकको भिडियो बुधबार बिहान युट्युबको नेपाल ट्रेन्डिङमा तीन नम्बरमा छ । सम्भवतः आजै एक नम्बरमा उक्लिएला । मात्र १९ घन्टामा ७ लाख ३३ हजार पटक हेरिएको छ भने ८ हजारभन्दा बढीले कमेन्ट गरिसकेका छन् ।

१९ लाख सब्स्क्राइबर रहेको ‘तातात्तो खबर’ नामक युट्युब च्यानलबाट यो भिडियो मंगलबार बिहान पोष्ट भएलगत्तै फेसबुकमा समेत भाइरल भएको थियो । टाइटलबाटै अनुमान लगाउन सकिन्छ, भिडियोको विषयवस्तु । भिडियो बनाउने युट्युबरको नाम टाइटलमै देख्दा धेरैलाई आश्चर्य नलाग्ला, किनकि यो शैली नेपालमा नयाँ होइन । पत्रकारिता बुझेका तर नेपाली युट्युबकारितालाई नबुझेकाहरुलाई भने यो शैली पचाउन गाह्रो हुन सक्छ ।

टाइटलले दुईवटा कुरा बोलेको छ । प्रहरीले निस्कर्ष निकालिनसकेको वा निकाल्न नसकेको कुरालाई टाइटलमै ठोकुवा गरिएको छ । र, त्यसको आफूले ‘पर्दाफास’ गरिदिएको भनेर युट्युबरले सगर्व घोषणा गरेका छन् ।

केही दिनअघि कपनमा तीन महिनाको एक बच्चा फेला परेका थिए । एक बालगृहकी सञ्चालिका पुष्पा अधिकारीले उक्त बच्चालाई ‘उपहारको नाटक’ गरिन् । त्यहाँ प्रहरीभन्दा पहिले युट्युबर पुगे, वा बोलाइए । यसरी पुग्नेमध्येका एक थिए भाग्य न्यौपाने ।

भाग्यले बालगृहमै पुगेर बच्चाका लागि भन्दै पुष्पालाई १० हजार रुपैयाँ पनि दिए । त्यसको दुई दिनपछि उनी फेरि केयर एयर होममा पुगेर पुष्पासँग आफूले दिएको पैसा फिर्ता मागे । माथि उल्लेख गरिएको भिडियो यही पैसा फिर्ता माग्ने क्रममा बनाइएको हो ।

भिडियोमा देखिएअनुसार भाग्यसहितका केही युट्युबरहरु बालगृहमा जबरजस्ती घुस्छन् । पुष्पा कोठाभित्र सोफामा बसेकी छन् । वरिपरि भाग्य र अन्य युट्युबरले उनलाई घेर्छन् । अनि सुरु हुन्छ प्रहरी शैलीमा केरकार ।

यो भिडियो हेर्दा महाभारत कथाको एउटा घटना याद आउँछ । भारदारीसभामा दुसासनले द्रौपदीको चिरहरण गरेको घटना । अन्तरवार्ताका नाममा युट्युबरले पुष्पाको हुर्मत लिएको दृश्य द्रौपदीको चिरहरणजस्तो लाग्छ । बेइज्जतीपूर्ण तरिकाले उनको ‘अन्तरवार्ता’ लिइएको छ । उनलाई ठाउँको ठाउँ आर्थिक सहायताको हिसाब देखाउन लगाइन्छ, मानौं युट्युबरहरु अख्तियारबाटै आएका हुन् ।

पुष्पाले आफ्नो गल्ती स्वीकारेर पटक–पटक क्षमायाचना गर्छिन् । भाग्यको १० हजार फिर्ता गर्छिन् । प्राप्त सहयोगको विवरण देखाउँछिन् । अरुको पनि पैसा फिर्ता गरिदिने प्रतिवद्धता जनाउँछिन् । यी सबैका बाबजुद युट्युबरहरु पुष्पालाई अनवरत हमला गरिरहन्छन् ।

यो केरकारमा भाग्यको प्रस्तुति र बडी ल्याङ्वेज अत्यन्त असहज लाग्छ । उनी एक सञ्चारकर्मीका रुपमा त्यहाँ गएका हुन् । तर, अन्तरवार्ता लिने क्रममा उनको बसाइ र बोलाइले त्यस्तो प्रतीत हुँदैन । उनी महिलासँग ढसमस्स टाँसिएर बसेका छन् । पुष्पालाई असहज लागेको स्पष्ट देखिन्छ । तर, उनी कुनै प्रतिकार गर्न सक्ने अवस्थामा छैनन्, किनकि उनलाई त्यहाँ एउटा जघन्य अपराधीका रुपमा व्यवहार गरिएको छ ।

भाग्यको नियतमै प्रश्न उठाउन खोजिएको होइन । उनले ती महिलाप्रति कुदृष्टि राखेर त्यसरी टाँसिएका पक्कै होइनन् । तर, कुनै पनि अवस्थामा महिला पात्रसँग त्यसरी प्रस्तुत हुन पत्रकारिताको ‘इथिक्स’ ले दिँदैन । उनी त्यसरी टाँसिनुपर्ने कुनै वाध्यात्मक अवस्था पनि देखिएको छैन ।

भाग्यको अन्तरवार्ता लिने शैली पनि अस्वाभाविक लाग्छ । प्रायः नरम शैलीमा प्रश्न सोध्ने युट्युबर हुन् उनी । तर, यो घटनामा उनले आफ्नै छविलाई धुमिल्याउने गरी अर्नभ गोश्वामी शैलीमा प्रस्तुत भएका छन् । उनी पुष्पालाई लगातार प्रश्न मात्र सोध्छन्, उत्तर दिने अवसर दिँदैनन् ।

पुष्पाको गल्ती र नियतको प्रश्न

आफैंले नियोजित रुपमामा बच्चालाई त्यसरी झाडीमा राखेको र उद्धारको नाटक गरेको महिलाले स्वीकारेकी छन् र प्रायश्चित पनि गरेकी छन् । तर, आफ्नो काम गलत भए पनि नियत नराम्रो नभएको उनको दाबी छ ।

ती बच्चा विदेशबाट हालै नेपाल फर्केकी महिलाले जन्माएकी हुन् । आफैंसँग राख्दा परिवार र समाजबाट विभिन्न प्रश्नको सामना गर्नुपर्ने भएकाले उनले आफ्नो बच्चा पुष्पाको केयर होममा सुम्पिएकी थिइन् । भविश्यमा बच्चाका बारेमा प्रश्न उठ्न सक्ने, उनका आमा-बाबुको खोजी हुन सक्ने भएकाले बच्चालाई अलपत्र अवस्थामा उद्धार गरेको नाटक रचेको पुष्पाको भनाइ छ । प्रहरीसँगको वयान र युट्युबरको केरकारमा पनि उनले यही भनेकी छन् ।

यो विषय प्रहरीमा पुगेर एकसरो छिनोफानोसमेत भइसकेको छ । प्रहरीले बच्चालाई उनकै आमाको जिम्मा लगाइदिएको छ । महिलाले ठगीको उद्देश्य राखेर नाटक रचेको ठहर प्रहरीले गरेको भए सम्भवतः उनलाई पक्राउ गरेर हिरासतमै राख्थ्यो पनि होला ।

जुनसुकै उद्देश्यले होस, पुष्पाले केही युट्युबरलाई बेवकुफ बनाएकै हुन् । मिडियामा पनि झूट बोलेकी हुन् । उद्धारको नाटकबाट आफ्नो व्यक्तिगत ख्याति बढ्ने वा बच्चाको नाममा आर्थिक सहयोग जुट्ने लोभ पनि उनलाई थियो, थिएन भनेर अरुले भन्न सक्दैन । यो भित्री मनसायको कुरा हो । मनसाय भन्ने कुरा भौतिकरुपमा देखिँदैन र प्रमाणित गर्न गाह्रो हुन्छ ।

पुष्पाले आफ्नो केयर होममा चार वर्षदेखि १५ जना बच्चाहरुलाई आश्रय दिइरहेकी छन् । सम्भवतः विभिन्न स्रोतबाट सहयोग जुटाएर संस्था चलाइरहेकी होलिन् । यदि उनले पैसा संकलनकै लागि थियो नाटक रचेको मान्ने हो भने पनि त्यो उनले आफ्नो व्यक्तिगत सुखसयलमा खर्च गर्ने सोचेको नहुन सक्छ । बालगृह चलाउनकै लागि उनले यसरी पैसा जुटाउने उद्देश्य राखेको हुन सक्छ । जे भए पनि उनले गलत रणनीति अख्तियार गरेकी हुन् ।

असल नियतले नै किन नहोस्, यस्तो गलत कामले ‘समाजसेवा’ लाई धरापमा पार्न सक्छ । भोलि कसैलाई आर्थिक सहयोग गर्दा मानिसहरुले धेरैपटक सोच्नुपर्ने हुन्छ ।

जे होस्, पुष्पाले गल्तीको प्रायश्चित गरिसकेकी छन् । अब उनले आफूले प्राप्त गरेको रकमको पूर्ण विवरण चाँडोभन्दा चाँडो सार्वजनिक गर्नु उचित हुन्छ । फिर्ता लिन चाहनेहरुलाई पैसा फिर्ता दिने उनले बताइसकेकी छन् । बाँकी पैसा उनले प्रहरीलाई बुझाउन सक्छिन् । अथवा, दाताको सहमतिमा आफ्नै संस्थाका बालबालिकालाई खर्च गर्न वा बच्चाको आमालाई हस्तान्तरण गर्ने विकल्प उनीसँग छन् । जे होस् यो पारदर्शी हुनुपर्छ ।

युट्युबरको समाजसेवा

पछिल्लो समय नेपालका गाउँदेखि शहरसम्म चिनिएका ‘सञ्चारकर्मी’ हुन् भाग्य न्यौपाने । नेपालमा पाँच दशकदेखि पत्रकारिताका गरिरहेका बरिष्ठ पत्रकार किशोर नेपाललाई भन्दा एकाध वर्षदेखि युट्युबकारिता गरिरहेका भाग्यलाई सम्भवत धेरैले चिन्लान् । पेशाले युट्युबर भए पनि उनको छवि सामाजिक अभियन्ताको जस्तो छ । दुःख र पीडामा परेका धेरै मानिसहरु उनीसँग गुहार माग्न पुग्छन् । भाग्यले लिएका अन्तरवार्ताले कतिपयको भाग्य बदलिएको पनि छ ।

पैसाको बिटो बोकेर भाग्य पीडितहरुको घरमा पुग्छन् । त्यो बिटो पीडितलाई हस्तान्तरण गरेर भिडियो बनाउँछन् । यिनै भिडियो हेरेर एकथरि नेपालीहरु उनलाई ‘भगवान’ मान्छन् । भाग्यले ती पैसाको बिटो कसरी जम्मा गरेका हुन् भन्ने पनि कतिलाई थाहा हुँदैन ।

यस पंक्तिकारलाई एक दिन आमाले गाउँबाट फोन गफमा सोध्नुभयो, ‘भाग्य न्यौपाने भन्ने मान्छे हेर्दा त धनीजस्तो देखिँदैन, तर कहाँबाट पैसा ल्याएर मान्छेहरुलाई पैसा बाँड्छ हँ ?’

भाग्यले बाँड्ने पैसा आफ्नो नभएर अन्य सहयोगी मनहरुको हो भन्ने बुझाएपछि उहाँले भन्नुभयो, ‘मान्छेले कसरी विश्वास गरेर त्यत्रो त्यत्रो पैसा उसलाई पठाउँछन् त ?’

हो, भाग्यले यो विश्वास जगाउन अहिलेसम्म निकै मिहिनेत गरेका छन् । अन्यथा अहिलेको दुनियाँमा कोही कसैलाई किन आँखा चिम्लेर विश्वास गर्छ ?

भाग्यकै शैलीमा अपनाएर समाजसेवा गरिरहेका अरु युट्युबरहरु पनि देखा परेका छन् । जस्तै– कृष्ण कँडेल । इन्द्रेणी दोहोरी साँझ चलाउने कँडेल पनि यसैगरी पैसा उठाएर पीडितलाई बाँड्न र भिडियो खिचाउन अभ्यस्त छन् । नेपालमा भर्खरै लकडाउन सुरु भएको बेला उनले बानेश्वरमा मानिसहरुलाई लाइन लगाएर पैसा बाँडेको दृष्य निकै रोचक थियो । लकडाउनका कारण खानलाउन समस्या परेकाहरुलाई भनेर देश विदेशबाट नेपालीहरुले पठाएको पैसा उनले आफ्नो व्यक्तिगत तजविजमा भिख दिएजसरी बाँडेका थिए । त्यो पैसाको हरहिसाब के हो, सहयोगदाताको चाहनाअनुसार पीडितसम्म पैसा पुग्यो वा पुगेन भन्ने प्रश्न कसैले उठाउने गरेको छैन ।

यसरी विचौलिया शैलीमा ‘समाजसेवा’ गरिरहेका युट्युबर अरु पनि छन् । हो, यसबाट कतिपय वास्तविक पीडितहरु पनि पक्कै लाभान्वित बनेका छन् । कतिको जीवन नै बदलिएको पनि छ । पुष्पाकै केसमा पनि यदि त्यो घटना वास्तविक हुन्थ्यो भने यसरी जुटेको सहयोगले बच्चाको भविष्य बन्न सक्थ्यो ।

यति हुँदाहुँदै पनि युट्युबरले गर्ने समाजसेवा एकदम स्वच्छ र स्वस्थ होला भनेर ठोकुवा गर्न सकिन्न । कुनै न कुनै रुपबाट सरकारले यसको नियमन गर्नुपर्ने आवश्यकता टड्कारो छ ।

नेपालीहरु सहयोगी मनका हुन्छन् । कसैको दुःख देख्नेवित्तिकै आफ्नो गाँस काटेर पनि सहयोग गर्न तत्पर बन्छन् । खास गरी विदेशमा आफ्नो पसिना बेचिरहेकाहरुले यस्तो सहयोग धेरै गरेका छन् । तर, उनीहरुले यसरी गरेको सहायता वास्तविक पीडितले पाउनुपर्ने कुरा पनि उत्तिकै महत्वपूर्ण छ ।

मूलधारले छाडेको स्पेस

यतिबेला युट्युबकारिता र पत्रकारिताबीच भेद छुट्याउनुपर्ने आवश्यकता टड्कारो बन्दै गएको छ । युट्युबकारितालाई स्पष्ट परिभाषित गर्नुपर्ने अवस्था आएको छ ।

युट्युबरले आफूलाई ‘मिडिया’ का रुपमा पेश गरिरहेका हुन्छन् । तर, मिडिया भनेको के हो ? के उनीहरु मिडियाको कानूनी र नैतिक बन्धनभित्र छन् ? न उनीहरु कतै दर्ता छन्, न उनीहरुको नियमन गर्ने राज्यसँग कुनै निकाय छ ।

आमजनताका लागि अहिले युट्युबर नै ठूला मिडिया बनेका छन् । मान्छेका घरायशी झगडाहरु राष्ट्रिय चर्चाका विषय बन्न थालेका छन् । युट्युबर बन्नलाई केही पनि चाहिँदैन । वास्तवमै केही चाहिँदैन । अहिले स्मार्टफोन सबैले बोकेका हुन्छन् । त्यही फोन तपाईंलाई युट्युबर बनाउन काफी छ । युट्युब च्यानल बनाउन त झन् एकछिन पनि लाग्दैन । आफ्नो फेसबुकको युजर नेम र पासवर्ड हालेरै पनि युट्युबमा भिडियो पोष्ट गर्न सकिन्छ ।

त्यसो त मूलधारको मिडियाले युट्युबरलाई स्पेस दिएकै हुन् । कमला घिमिरेदेखि विजय शाहीसम्मका जनचासोका पात्रहरुलाई मूलधारका मिडियाहरुले समाचारका लायक नै नठान्ने प्रवृत्ति छ । सामाजिक मुद्दा र अपराधका घटनाहरुलाई लगातार र विस्तृत फलोअप नगर्ने कमजोरी छ ।

जस्तो कि रुकुम घटनालाई लिउँ । त्यति ठूलो र जघन्य अपराधको विषयलाई मूलधारका मिडियाले सुरुदेखि राम्रो फलोअप गरेनन् । बरु युट्युबरहरु घटनास्थलमा पुगे र घरघर छिर्दै अन्तरवार्ता लिए । तर, यस्ता घटनामा युट्युबरहरुको प्रस्तुति सन्तुलित, विश्वसनीय र जिम्मेवार हुँदैनन् । उत्तेजक टाइटल दिएर भ्युज बटुल्ने एक मात्र ध्येय उनीहरुको हुन्छ । यसले जनतालाई सुसुचित भन्दा दिग्भ्रमित पार्ने खतरा रहन्छ ।

राम्रा र जिम्मेवार ढंगले चलिरहेका युट्युबरहरु पनि छन् । तर, तिनीहरुको संख्या र प्रभाव नगण्य छ । युट्युबमा सरलखालका कन्टेन्ट बिकाउ हुँदैनन् । बिकाउ कन्टेन्टको पछि लाग्नेहरुले राम्रा युट्युबरहरुलाई पनि अप्ठेरोमा पारिरहेका छन् ।

source:onlinekhabar

Related Articles

Back to top button
Close