समाचार

२२ वर्षीया सहचालक भन्छिन्ः अब ढोका होइन, स्टेयरिङ सम्हाल्ने हो

पढ्ने छाँट देखिएन, अब खलासी हुन पनि नसुहाउने भइस्’ पढाइमा अलि कमजोर छोराछोरीलाई हेयका साथ भनिने वाक्य हो यो।

पछिल्लो पटक सहचालक भनेर ‘खलासी’लाई न्याय गर्न खोजिए पनि यो पेसा उपेक्षामा परेकै छ। ढोका ढक्ढक्याउँदै यात्रुका गन्तव्य फलाकिरहने सहचालकबारे यात्रुका मनमा गाढा बिम्ब छन्– मैलो, धुस्रे-फुस्रे, रातो-खैरो कपाल, कानमा टप लगाउने, झर्केर बोल्ने।

यसैले होला, सकेसम्म यो पेसामा छोराछोरी जोडिन नपुगून् भन्ने कामना गरिन्छ। त्यसो त यो पेसामा पुरुषकै ‘सिन्डिकेट’ छ। किशोरीहरू यो बाटोमा सितिमिति आइपुग्दैनन्।

तर काभ्रे, पनौतिकी उषा सापकोटा पेसा र समाजकै ‘सिन्डिकेट’ तोड्न लागि परेकी छन्। अरूभन्दा भिन्नै बाटो हिँड्न मन गर्ने र सबै कामलाई इज्जतले हेर्ने उषा साझा बसकी कान्छी सहचालक बन्न आइपुगिन्। यात्रुलाई गन्तव्यमा ओराल्दै उनी आफ्नै गन्तव्य तय गरिरहेकी छन्।

‘म यहाँ आउँदा २१ वर्षकी थिएँ,’ उषा साझा आउँदाको दिन सम्झिन्छिन्, ‘कम बोल्थेँ, सबैले मलाई नै हेरिरहे जस्तो लाग्थ्यो।’

समय चलिरहँदा धेरैथोक रोकिएको छ। कोरोनाकै कारण सडकदेखि महलमा बस्नेसम्मले रोजीरोटी गुमाएका छन्। तर उषालाई रोजेरै आएको पेसा उम्काउने मन छैन। त्यसैलेरोना कहरमा पनि संघर्ष गरिरहेकी छन्। स्यानिटाइजर र मास्कको सहारामा सफलतामा इँट्टा थप्न चाहन्छिन्।

लकडाउनअघि लगनखेल–नयाँ बसपार्क रूटमा मैले उनलाई बारम्बार देखेकी थिएँ। कति दिन उनकै बस चढेर फरकफरक गन्तव्यमा झरेकी थिएँ। विनम्र भावमा सबैलाई मिलेर बस्न लगाउने उनको व्यवस्थापकीय क्षमता गजबकै लाग्थ्यो। एक-दुई दिन भेटिने यात्रुसँग मिठो बोल्नुपर्ने मान्यता राख्छिन् उनी।

‘नियमित यात्रुलाई केही भन्नै पर्दैन। स्टेसन र भीड बुझेर आफैं मिल्छन्। नबुझ्ने भनेको कहिलेकाँही चढ्नेहरू हुन्। कहिलेकाहीँ भेटिनेसँग नमिठो बोलेर किन नराम्रो हुनू? उल्टै साझाको बेइज्जत्,’ काम र आफूआवद्ध संस्थाप्रति इमानदार सुनिन्छिन् उनी।

सहचालक भइरहँदाको रोचक अनुभव, लकडाउनले सिर्जना गरेको कष्टकर जीवनशैली, सरोकारवाला निकायलाई सुनाउन मन लागेका उनीसँग थुप्रै विषय होलान् भन्ने पनि लागेको थियो। बस यात्रा गर्दै उनीसँग कुराकानी गर्ने पनि योजनामै थियो। दुर्भाग्य, त्यही दिन गाडी बिग्रिएर ग्यारेजमा थन्कियो।

हामीले ग्यारेजमै बसेर कुराकानी गर्‍यौं।

बिहीबारबाट निषेधाज्ञा हुनुअघि महामारीको त्रासमा सडकमा निस्केकी उनी के सोच्दी हुन्?

‘म मात्रै निस्कनु परेको होइन नि। काम नै गन्तव्यमा पुर्‍याउने भएपछि कतिन्जेल हातखुट्टा बाँधेर बस्नू,’ उनी परिपक्व जवाफ दिन्छिन्, ‘काम नगरी बस्न मन मान्दैन। अफिसले पनि सुरक्षा सतर्कता अपनाउन भनेको छ। त्यति डर छैन।’

उनी सहचालक, म यात्रुका रूपमा बसमा गुडेका बेला मनमा अनेक प्रश्न खडा भएका थिए- यतिका भिडमा सहचालक हुने आँट उनमा कसले भरिदियो होला! बाध्यताले डोरिएको पो हो कि? रहरै होला त?

लजालू स्वभावकी उषा अलि खुलेरै बोल्न थालिन्। सोचेभन्दा नितान्त भिन्न रहेछ उनको कथा। एउटी युवतीको मनभित्र साझाको सहचालक हुँदै चालक बन्ने सपना हुर्किइरहेको छ भन्दा सुरूमा पत्याउनै सकिनँ।

उनको समस्याको पोको फुकाउन गएकी म सफलताको कथामा बाँधिन पुगेँ। सामान्य परिवारको छोरीबाट घर सम्हाल्ने व्यक्ति हुँदासम्मको उनको अनुभवले अझ लोभ्यायो।

नलोभ्याओस् पनि किन, २२ वर्षे उमेरमा उनी दुई भाइ र एक बहिनीकी पक्का अभिभावक हुन्। पारिवारिक भार थेग्ने दरिलो खम्बा बनेकी छन्। अहिले त परिवारमा हर्ताकर्ता पनि उनै हुन्।

‘ममी, बहिनी र म मिलेर योजना बनाउँछौं। बुवा इन्डिया हुनुहुन्छ, भाइहरू पनि ठूलै भइसके,’ उनी सुनाउँछिन्, ‘अब त मेरो ठाउँ बहिनीले लिने बेला भइसक्यो।’

कोरोनाले पुर्‍याएको क्षतिको हिसाब राखिसक्नु छैन। यही महामारी पोहोर मात्रै आउँथ्यो भने उषाको परिवारमा ठूलै संकट आउँथ्यो। यतिबेला बहिनीको समेत कमाइ थपिएपछि उनको पाँच जनाको परिवार महामारीबीच पनि सजिलै पालिएको छ।

भारतमा बुवाको काम चलिरहँदा चिन्ता लिनुपर्ने अवस्था नभएको उषा बताउँछिन्।’लकडाउनले अहिलेसम्म अप्ठ्यारो पारेको छैन। पनौतिमा भुइँचालोले भत्काएको घर बनाएर आएका छौं,’ उनी लकडाउनको उपलब्धि सुनाउँछिन्, ‘धान पनि रोपेर आएका छौं। यता आपत् पर्‍यो भने उतै लाग्ने हो।’

सर्सर्ती हेर्दा लकडाउनले उनलाई त्यति साह्रो अप्ठ्यारो पारेन। तर कहिलेकाँही केही भएको छैन भन्दा पनि धेरै थोक भइरहेको हुन्छ जुन हामीले महशुस गर्नै भ्याउँदैनौं। उषाको हकमा पनि यस्तै भयो।

पछिलाई भनेर थाती राखेका योजना यसपालि पनि पूरा हुने छाँट देखिएन। यही कुराले कता कता सताएको छ उनलाई।

‘यसपालि सानो गाडीको लाइसेन्स निकाल्ने योजना थियो, पूरा हुने देखिएन,’ उषा योजनाबारे बताउँछिन्, ‘अहिले सानो गाडीको लिन पाए छिट्टै ठूलो गाडीको पनि लिन पाइन्थ्यो। जति ढिला भयो, त्यति पछाडि पर्छु भन्ने डर छ।’

कामको चक्करमा दुई वर्षपछि छोडिएको पढाइ पनि उनले अघि बढाउने सुरसार गरेकी थिइन्। कोरोनाले पछि सार्ने निश्चित छ।

उनी थप्छिन्, ‘यो वर्ष ब्याचलर भर्ना हुनुपर्ला भनेको, कलेज कहिले खुल्छ नै टुंगो भएन।’

थप काम सुरू गर्ने मौका नमिले पनि भइरहेको कामलाई राम्रै गरी सम्हालेकी छन् उनले।

उनको परिवार भुइँचालोयता लुभु बस्दै आएको छ। बिहान ७ बजे उनी साझा यातायात केन्द्रीय कार्यालय आइपुग्छिन्। दिनभरको हिसाब-किताब मिलाएर घर पुग्दा राती ८ बज्छ।

‘लगनखेल–बसपार्क, लगनखेल–बुढानिलकण्ठ रूट सजिलो लाग्छ। इन्चार्जले त्यहीँ खटाउनु हुन्छ। त्यहाँ चढ्ने यात्रु पनि नियमित छन्,’ उनी दैनिकी सुनाउँछिन्, ‘पोहोर यतिबेला घर पुग्दा राती १० बज्थ्यो। अहिले सजिलै भएको छ।’

घरकी जेठी छोरी उषालाई रोजेर, पर्खेर काम गर्ने सुविधा थिएन। त्यसैले जे जस्तो आइपर्छ, सुरू गरेकी हुन्। सुरक्षा गार्ड, आयल निगममा जागिर, मन्टेश्वरीमा शिक्षक आदि काम राम्रै भएर पनि ३-४ महिनाभन्दा रमाउन सकिनन्।

साझामा सहचालक भएपछि उनलाई अरू जागिरले लोभ्याएको छैन।

‘काम मात्र होइन, काम गर्ने ठाउँ, वरपरको वातावरण, सहकर्मीको बोलीचाली पनि राम्रो हुनुपर्ने रहेछ,’ उनी साझामा सहचालक भइरहँदाको अनुभव सुनाउँछिन्, ‘अब त यसैमा मन रमाउन थालेको छ। टायर, स्टेयरिङ, गियरमा भविष्य देख्न थालेकी छु।’

उषाले साझाको ढोका सम्हाल्न थालेको डेढ वर्ष भयो। २१ को उमेरदेखि साझामा आएकी उनी ढोका र टिकट मात्रै होइन, छिट्टै स्टेयरिङ सम्हाल्ने योजनामा छिन्।

यसअघि उनले हाँपदाप नगरी तलब पाइने सुरक्षा गार्डको काम पाएकी थिइन्। कमाइ राम्रै थियो। सधैं एकै ठाउँ बस्नुपर्ने कामले उनलाई त्यति आकर्षित गरेन। त्यति नै बेला चिनजानकै एक जना दाइले साझामा सहचालक माग भएको जानकारी दिए।

‘घरमा कुरा गर्दा खलासी काम त हुँदैन भन्नुभएको थियो। मलाई नै इच्छा लागेर आएकी हुँ,’ उषा सुनाउँछिन्, ‘केही नभए पनि अनुभव हुन्छ भनेर आएँ। अहिले सोच्दा ठीक गरेँ जस्तो लाग्छ। सधैं निद्रा लाग्ने काम के गर्नू! यहाँ त नयाँ-नयाँ मान्छेसँग बोल्न पाइन्छ।’

व्यवस्थापन संकायमा प्लस-टु सकेकी उनलाई ‘पढेर पनि के यस्तो काम गरेको’ भन्ने थुप्रै छन्। खास गरी उनकै उमेरका साथीहरू, जो बिना काम दिन बिताइरहेका छन्।

भर्खर भर्खर सहचालकको काम सम्हालेकी थिइन् उषाले। सँगै कलेज पढेकी साथीले एकदिन काम खोजिदिन भनिन्। उषाले साझामै आउन प्रस्ताव गरिन्। त्यसपछि साथीले दिएको जवाफले उनलाई अहिले पनि दुखी बनाउँछ।

‘मैले साझामा राम्रो हुने देखेर प्रस्ताव गरेकी थिएँ। उनलाई लाज लाग्यो। मान्छेले के भन्लान् भन्ने सोचेर मलाई नै खिस्याएझैं गरिन्,’ उषा निर्धक्क भन्छिन्, ‘काम गरेर खान पनि लाज हुन्छ र! कामलाई इज्जत गरे पो कामले इज्जत दिन्छ।’

उनी थप्छिन्, ‘लाज हुने भए त कोही पनि सहचालक नहुनुपर्ने हैन

स्रोत:सेतोपाटी

Related Articles

Back to top button
Close