समाचार

भारतबाट फर्केका नेपाली फेरि भारततिरै लागे, भन्छन्– ‘यहाँ के खाने ? मरे उतै मरौंला’

धनगढी, १८ भदाै । दिनेश विक सुर्खेतमा बसेर एक कम्पनीमा काम गर्दै लोक सेवा आयोगको तयारी कक्षा लिइरहेका थिए । लकडाउनका कारण जागिरले निरन्तरता पाएन, आयोगको परीक्षा पनि रोकियो । त्यसपछि उनी रुकुमपश्चिम घर फर्के । ‘चैतदेखि घरको मानो खाएर बिनाकाम बस्नुपर्‍यो,’ २४ वर्षीय दिनेशले भने, ‘गाउँमा साथीहरू स्याउ टिप्न सिमला जाने भए । म पनि उनीहरूसँगै मिसिएँ ।’

स्याउ टिप्न भारत हिमाचलको सिमला पहाड हिँडेको दिनेशको समूहमा २३ जना छन् । लगभग उस्तै उमेरका उनीहरूमध्ये कोही सुर्खेत र नेपालगन्जमा काम र अध्ययन गरिरहेका थिए । कोहीले भने यसअघि पनि सिमलामा गएर काम गरेका थिए । ‘पाइरहेको काम पनि कोरोनाका कारण गुमाउनुपरेपछि स्याउ टिप्न सिमला जाँदै गरेका हौं,’ त्यही हूलमा रहेका २३ वर्षीय दीपक विकले भने । रुकुमबाट बस रिजर्भ गरेर धनगढी आइपुगेका उनीहरूलाई नाकाबाट सिमलासम्म लैजान भारतीय ‘एजेन्ट’ आएको दीपकले सुनाए ।

स्याउ टिप्न सिमला जानका लागि बर्दिया बढैयातालका १७ जनाको अर्को समूह पनि गौरीफन्टा नाकामा लामबद्ध भेटियो । उनीहरूमध्येका गम्भीरसिंह महतराले गाउँघरमा खाली बस्नुपरेकाले तीन महिनाका लागि सिमला जान लागेको बताए । त्यस समूहमा जया र वीरबहादुर भण्डारी दम्पती पनि छन् । पाँच वर्षीर्य बालक बोकेर २२ वर्षीया पूजा परियार पनि टोलीमा सामेल भएकी छन् । ‘श्रीमान् पहिल्यैदेखि सिमलामै हुनुहुन्छ, त्यही भएर म पनि हिँडेकी हुँ,’ पूजाले भनिन् ।

उक्त समूहमा रहेका गोपाल घर्तीका अनुसार नेपाली कामदारका लागि सिमलाबाट स्याउ बगानका साहुहरूले गाडीको पास बनाएर सीमा नाकासम्म पठाउने गरेका छन् । ‘कोरोनाको डर मान्दै घरमा हातखुट्टा बाँधेर बस्न सकिएन,’ २७ वर्षीय घर्तीले भने । याे खबर कान्तिपुर दैनिकमा छ ।

Related Articles

Back to top button
Close