समाचार

बहिनीको पहिलो महीनावारीमा दाजुले दिए सेनेटरी प्याड उपहार

नवलपरासीका एक युवाले बहिनीको पहिलो महीनावारीमा केक काटेर खुशियाली मनाउँदै उपहार दिएका छन्। ‘गिफ्ट फर गर्ल्स’का अभियन्ता समेत रहेका समीर परियारले बहिनीको पहिलो महीनावारी भएको अवसरमा बिहीबार केक काटेर खुशियाली मनाए।

उनले बहिनीलाई सेनेटरी प्याड उपहार दिंदै गरेको भनेर स्टेटस लेखेर सामाजिक सञ्जाल फेसबुकमा फोटो राखेका छन्। त्यो फोटो राखेपछि उनलाई धेरैले सकारात्मक प्रतिक्रिया दिए पनि केही चिनेकै र आफन्तहरूले भने नकारात्मक टिप्पणी पनि गरेको परियाले सुनाए। तर, उनी यस्तो प्रतिक्रियालाई सामान्य मान्छन्।

“यस्तो विषयमा सबैबाट सकारात्मक प्रतिक्रिया आउँछ भन्ने अपेक्षा हामीले गरेका हुँदैनौं, हिमालखबरसँग टेलिफोनमा परियारले भने, “हामीसँगै अभियानमा काम गर्ने केटी साथीहरू महीनावारी हुँदा गिफ्ट दिने अभियान शुरूआत गरौं भनेर प्याड उपहार दिन्थ्यौं, आफ्नै बहिनी महीनावारी भइन्, उनलाई उपहार दिन पाउनु ठूलो कुरा हो।”

देशकै पहिलो बालमैत्री नगरपालिका सुनवलका परियार एक दशक अघिदेखि बाल क्लबमा आवद्ध हुँदै अहिले बालअधिकारको क्षेत्रमा काम गर्दै आएका छन्। बालिकाहरू किशोरी अवस्थामा पुग्दै गर्दा महीनावारी हुने तर, त्यसलाई लुकाउने र त्यो समयमा विभेद गर्ने भएकाले मर्यादित महीनावारी अभियानमा समेत आफू जस्तै युवाहरू लागिरहेको उनले बताए।

परियार भन्छन्, “महीनावारीलाई लुकाएर राख्ने र विभेद गर्नुहुँदैन भन्ने हाम्रो अभियान नै छ, आफ्नै बहिनीको पहिलो महीनावारीमा हामीले खुशियाली मनाएका हौं।”

महीनावारी भएका बेला चाहिने सेनेटरी प्याड अहिले पनि लुकाएर किन्ने र बेच्ने गरिन्छ। यो लुकाउने कुरा होइन भनेर कसैको जन्मदिन वा पहिलो महीनावारी भएका बेला प्याड नै गिफ्ट दिने गरी अभियन्ताहरूले ‘गिफ्ट फर गर्ल्स’ अभियान नै शुरू गरेका छन्।

बन्दाबन्दीको बेला क्वारेन्टिनमा बसेका महिलाहरूका लागि नगरप्रमुखमार्फत प्याड वितरण गरिंदै।
बालमैत्री सुनवल नगरपालिकाका हरेक विद्यालयहरूमा बाल क्लब रहेको र शुरूमा बाल क्लबमा आवद्ध भएकाहरू विद्यालय शिक्षा पूरा गरेपछि विभिन्न सामाजिक अभियानमा लागेका छन्। मर्यादित महीनावारीमै काम गर्दै आएकोमा गत जेठदेखि उपहार नै प्याड दिने गरी ‘गिफ्ट फर गर्ल्स’ भन्ने अभियान पनि शुरू गरिएको परियारले बताए।

बन्दाबन्दी शुरू भएपछि उनीहरूले नगरपालिकाको क्वारेन्टिनमा बसेका महिलाहरूलाई पनि नगरपालिकामार्फत सेनेटेरी प्याड दिएका थिए। विभिन्न बाल क्लब तथा युवा र महिला समूहहरूलाई अभियन्ताहरूले नै कपडाको प्याड बनाउन सिकाउने समेत गरेका छन्। विस्तारै हातले बनाएको प्याड मात्र उपहार दिने उनीहरूको योजना छ।

पछिल्लो समय सरकारले पनि मर्यादित महीनावारी अभियानलाई प्राथमिकता दिंदै विभिन्न जिल्लाहरूमा सचेतनामूलक कार्यक्रम गर्दै आएको छ। महीनावारी लुकाएर राख्ने र महीनावारी भएकै आधारमा किशोरी तथा महिलामाथि विभेद गर्नुहुँदैन भन्दै मर्यादित महीनावारी अभियान सञ्चालन हुँदै आएको छ।

Source: himalkhabar

Related Articles

Back to top button
Close