समाचार

यी हुन भरतपुर क्यान्सर अस्पतालका ‘कुलमान’ यस्तो छ चमत्कार (पूरा हेर्नुहोस )

२२ असोज, चितवन । अस्पतालभित्रै आएर बिचौलियाले बिरामी र आफन्तका पाखुरा समाउँथे, बसपार्कमा दलालले यात्रु तानेजस्तै । होटल, मेडिकल, निजी अस्पतालले कमिसन दिएर पठाएका बिचौलिया पाइला–पाइलामा ठोकिन्थे ।

देशका विभिन्न अस्पतालबाट ‘रिफर’ भएर आएका बिरामीलाई निजी अस्पताल वा पोलिक्निकमा फेरि ‘रिफर’ गर्ने अस्पतालका चिकित्सक र प्राविधिकहरुको ध्याउन्न हुन्थ्यो ।

अस्पतालको सेवा नर्सिङले धानिएको थियो । अधिकांश उपकरण बिग्रिएका, बिगारिएका थिए । बिरामीहरु निको हुनुको साटो झनै प्रताडीत थिए । अस्पतालको बदनामी चुलिँदो थियो । ओपिडीमा बिरामी संख्या घटेर दैनिक दुईसय हाराहारीमा झरेको थियो । आर्थिकरुपमा अस्पताल टाट पल्टिनै लागेको थियो ।

तीन बर्षअघि चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको हविगत यस्तै थियो ।

अस्पतालप्रति चिन्ता गर्नेहरुलाई लाग्थ्यो, अब यो अस्पताल सुध्रने छैन । चौतर्फी दबावपछि स्थानीय प्रशासनले अस्पताल सुधारका लागि हस्तक्षेप नगरेको पनि हैन, तर प्रयासहरु बेकाम भए ।

स्थापनाको १७/१८ बर्षमा अस्पताल बेथिति नामको सुकेनाशले ग्रस्त थियो । डा. सीबी पुनले तीन वर्षे कार्यकाल जेनतेन गुजारेपछि अस्पताल सञ्चालक समिति नयाँ कार्यकारी निर्देशकको खोजीमा लाग्यो । आकांक्षी देखिएका १० जनामध्ये सबभन्दा कनिष्ठ थिए, डा. विजय आचार्य । भरखरै मात्र कन्सल्ट्यान्ट भएका उनी अस्पतालका सिनियर डाक्टरहरु भन्दा निकै कान्छा थिए ।

तर, अस्पताल बोर्डले डा. आचार्यलाई नै कार्यकारी निर्देशक बनायो । उनको नियुक्ति नै विवादमा पर्‍यो । मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो । करिब डेढ बर्षपछि अदालतबाट नियुक्ति सदर भएर काम थाल्दा अस्पतालमा बेथितिको चाङ लागिसकेको थियो, जसबारे उनी भलिभाँती जानकार थिए ।

०५८ सालमा ४२ वर्षको उमेरमा क्यान्सर अस्पतालमा सेवा थालेका डा. आचार्यलाई अस्पतालका एक–एक समस्या र तिनको जड थाहा थियो । ‘छातीमा हात राखेरभन्दा अस्पतालका ती दिन निकै कहालीलाग्दा थिए, राति निदाउन सक्तिन थिएँ, डर लाग्थ्यो’, विगत सम्झदै आचार्य भन्छन्, ‘यो अस्पताल ढले क्यान्सरका हजारौं बिरामीको हालत के होला भन्ने सोच्थें !’

‘लिवरल डेमोक्रेटिक’ राजनीतिक सोच भएका डा. आचार्यले अस्पतालभित्र राजनीति गर्न नदिने र वरिपरि घुम्ने सानो झुण्डलाई ‘इन्टरटेन’ नगर्ने अठोट गरे ।

अस्पताल सुधार्ने विगतका पाइलाहरुमा यही झुण्डले फलामे सिक्री बाँधेको उनलाई थाहा थियो । त्योसँगै आचार्यले निजी मेडिकल छाडेर अधिकांश समय अस्पतालमै बिताउन थाले । टिफिनमा खाना बोकेर बिहान साढे आठ बजे अस्पताल पस्ने उनी राति अबेर घर फर्कन थाले ।

जसरी लोडसेडिङ हटाएर विद्युत प्राधिकरणमा कुलमान घिसिङ उदाहरणीय बने, डा. आचार्य पनि क्यान्सर अस्पतालका लागि ‘कुलमान’ कै प्रतिविम्व बनेका छन् ।

अस्पतालमा बेड नभएर केमोथेरापी गर्न नपाएका बिरामीका आफन्त दिनहुँ रून/कराउन कार्यकारी निर्देशकको कार्यकक्षमा आउँथे । सामान्य एक्सरे मेशिनसमेत नभएको अस्पतालमा अप्रेशन गर्ने र केमो लगाउने पालो कुर्दा कतिपय बिरामी त्यत्तिकै मर्थे । डिउटी समयमा कर्मचारी भेटिँदैनथे । चौबीस कोठीतिरका निजी अस्पताल र मेडिकलहरुमा क्यान्सर अस्पतालका कर्मचारीहरु समातिएको खबर आइरहेका हुन्थे ।

यो अवस्था हटाउन फलामको चिउरा चपाउनुसरह थियो, डा. आचार्यलाई । उनले जोशजाँगर भन्दा पहिले वुद्वि चलाए । एकैपटक सबै क्षेत्रतिर हात हालेनन् । एक–एक समस्यासँग जुध्न असल कर्मचारीहरुको विश्वास जित्दै स्वार्थी झुण्डलाई निस्तेज पार्दै लगे । विरोधीका पछाडि दौडिएर समय खर्च गर्नेभन्दा काम गरेर देखाउनेतर्फ लागेको उनी बताउँछन् ।

‘गर्दै भन्दै जाँदा नागरिक समाज र राजनीतिक दलहरुको साथ पाएँ’, डा. आचार्य भन्छन्, ‘सकारात्मक सन्देश सञ्चार भयो र अस्पतालमा गरेर देखाउने बल मिल्दै गयो ।’

डा. आचार्यको कार्यकाल अब करीव छ महिना बाँकी छ । नयाँ कार्यकारी निर्देशक जो आए पनि सहयोग गर्न लागि पर्ने उनले बताए । ‘बर्बाद भइसकेको अस्पताललाई एउटा स्वरुपमा ल्याएको छु, सबै सूचक राम्रा भएका छन्’, ‘यसलाई मजबुत पार्न नयाँ कार्यकारी जो आए पनि दिलो ज्यानले सघाउन तयार छु ।’

क्यान्सर उपचारमा दक्ष जनशक्ति उत्पादनका लागि अस्पतालले पोखरा विश्वविद्यालयको सम्बन्धनमा अंकोलोजी विषयमा तीन बर्षे नर्सिङ स्नातक तहको पढाइ शुरु गरेको छ । यो कार्यक्रममा अहिले दोस्रो ब्याच चलिरहेको छ । कोटासमेत बढाएर २० बाट ३० जना पुर्‍याइएको छ । विद्यार्थीले सस्तो शुल्कमा विशिष्टीकृत शिक्षा लिइरहेका छन् ।

आगामी मंसिरबाट एक्सटेण्डन्ट हेल्थ सर्भिस सुरु गर्ने घोषणा गरिसकेको छ । उपचारका लागि विदेश जाने बिरामीहरुलाई यही सेवा दिन अस्पतालले यो सुरु गर्न लागेको हो । कार्यकारी निर्देशक आचार्यको हातमा अहिले अन्तर्राष्ट्रिय स्तरको मेडिकल रेर्कड सिष्टम बनाउने योजना छ ।

बिचौलियालाई प्रवेश निषेध

बेड–बेडमा पुग्ने बिचौलियालाई कार्यकारी निर्देशक आचार्यले अस्पतालको गेटबाट भित्र पस्न नदिने नीति लिए । त्यसका लागि फार्मेसी, पोलिक्निक र निजी अस्पतालदेखि होटल सञ्चालकसम्मलाई अवरोध नगर्न भने । गेटमा प्रहरी राखे, गार्डहरु खटाए । सीसीटीभी निगरानी पनि बढाए ।

बिरामीका आफन्तहरुको समस्या सुनेर जुन कर्मचारी जहाँ छ, त्यहीँबाट काम लिने नीति लिए । कामचोर कर्मचारी र प्राविधिकहरु नयाँ सिष्टमको फन्दामा पर्ने बनाए । कर्मचारीहरुको तलब–भत्ताको भुक्तानी बैंकमार्फत गर्ने व्यवस्था गरे । अस्पतालमा भैरहेको मनपरि खरिदलाई सार्वजनिक खरिद ऐन अनुसार अगाडि बढाए । ‘पहिला विभिन्न बहानामा सामान खरिद र तिनको दुरुपयोग हुन्थ्यो’, कार्यकारी निर्देशक डा. आचार्य भन्छन्, ‘त्यसलाई मैले पारदर्शी बनाएँ, खुद्रा खरीद प्रणालीलाई त हटाइ नै दिएँ ।’

अस्पतालमा दक्ष जनशक्ति आपूर्तिका लागि लोकसेवा आयोगबाट नर्सिङ, चिकित्सक, प्राविधिक तथा प्रशासनिक कर्मचारी राख्ने व्यवस्था मिलाएको डा. आचार्य बताउँछन् ।

त्यसअघिसम्म राजनीतिक दलको कोटामा कर्मचारी राख्ने प्रवृत्ति थियो, जसलाई डा. आचार्यले हटाए । त्यसबाट अयोग्य कर्मचारी भर्ति रोकियो । नर्सिङतर्फ अझै केही समस्या रहेको डा. आचार्यले बताए ।

थपियो बेड संख्या, सुरु भए रोकिएका सेवा

अस्पतालको बेड संख्या जम्मा १९४ थियो । बिरामीको चाप अधिक थियो । अस्पताल परिसरमा नयाँ भवन बन्दै थियो, तर सुस्त गतिमा । ठेकेदारको ढिलासुस्तीले सबै आजित थिए ।

डा. आचार्य कार्यकारी निर्देशक भएपछि निर्माणाधीन भवन यथाशक्य छिटो बनाइसक्न उनले ‘एक्सिलेटर’ दबाए ।

भवन तयार हुँदा अस्पतालको सेवा प्रवाहमा देखिएका धेरै समस्या समाधान हुनेवाला थियो । त्यसैले डा. आचार्यले त्यसमा जोड दिए । कसलाई भन्दा वा के गर्दा ठेकेदारको ‘एक्सिलेटर’ दबिन्छ, उनलाई थाहा थियो ।

‘भवन बनेपछि अस्पतालमा २५६ बेड थप्न सकियो’, उनी भन्छन्, ‘बेड नभएर केमोथेरापी गर्न नपाएका बिरामीलाई नयाँ भवन सञ्जिवनी बुटिजस्तै बन्यो ।’

तीनवटा केमोथेरापी मेसिन थपिए । अप्रेशनको भाकालाई नजिक ल्याउने काम भयो । रेडियोथेपारीमा बिग्रिएका मेशिन बनाउने र नयाँ थप गरेपछि अहिले दैनिक १५० भन्दा बढी बिरामीले सेवा पाएका छन् । सिटिस्क्यान सञ्चालनमा आयो । आजभोलि दैनिक ४० जनासम्मको सिटिस्क्यान हुँदैछ । पहिला दैनिक चार/पाँच जनाको मात्रै मेमोग्राम हुने गरेकामा अहिले १० जनासम्मको हुन्छ ।

रेडियोथेरापी विभागमा आइजीआरटीसहितको ‘रेडियोथेरापी लिन्याक ९’ मेशिनबाट सेवा दिन थालिएको छ । नेपालमा नै पहिलोपटक जडान भएको सीटी सिमुलेटर मेशिन र शरीरको भित्री भागमा रेडियोथेरापी गर्ने थेरापी मेशिनबाट सेवा दिन थालिएको छ ।

प्याथोेलोजी विभागका सबै उपकरण सञ्चालनमा ल्याएर लिक्युड वेस्ड साइटोलोजी सेवा थालिएको छ । रेडियोथेरापीमा तीनवटा नयाँ मेशिन थपिएका छन् । प्यालोथोजीको रि–एजेन्ट, दक्ष जनशक्तिको अभावलाई हल गरिएको छ । आकस्मिक ल्याब खोलिएको छ । पहिला बायोप्सीका लागि तीन महिनासम्म कुर्नेपर्नेमा अहिले तीन हप्तामै रिर्पोट आउँछ । क्यान्सर स्क्रिनिङका लागि एलबीसी मेसिनसहितको सेवा शुरु भएको छ ।

गत १० वर्षदेखि बन्द शल्यक्रिया गर्दागर्दै बिरामीको मासु जाँचेर क्यान्सर छ कि छैन, छ भने कति फैलिएको छ भनेर पत्ता लगाउने मेसिन पुनः सञ्चालनमा ल्याइएको छ । त्यस्तै, आठवटा अत्याधुनिक मोडुलर अप्रेसन टेबल राखिएका छन् । अत्याधुनिक ल्योप्रोस्कोपी मेशिन पनि संचालन गरिएको छ । सीटी स्क्यान, एमआरआई र म्यामोग्राफी सेवा लिन पालो लिनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

क्यान्सरका रोगीका लागि प्लेटलेटफेरेसिस मेसिन राखिएको छ, जसले एउटै पोकाको रगत छुट्याएर बिरामीहरुलाई दिन सजिलो भएको छ । रेडियो थेरापी मेसिन अझै अपुग भएको कार्यकारी निर्देशक डा. आचार्य बताउँछन् ।

‘मोलिक्युलर डायोग्नोष्ट्रिक ल्याव, बोनम्यारो ट्रान्सप्लान्ट, पेट सिटी स्क्यान जस्ता मेसिन पनि थप्नुपर्नेछ’, उनी भन्छन्, ‘त्यति गर्न सके भरतपुर क्यान्सर अस्पतालको सेवा अन्तराष्ट्रिय स्तरको हुनेछ ।’

अस्पतालको आम्दानीमा वृद्धि

असम्भवजस्तै बनेको फार्मेसी सेवा सञ्चालन गर्न डा. आचार्यको नेतृत्व सफल भएको छ । अस्पतालको आफ्नै फार्मेसीमा बिरामीहरुले सरकारी दरमा औषधीहरु पाएका छन् ।

‘बाहिर १५ हजार पर्ने केमोलाई अस्पतालको फार्मेसीबाट तीन हजारमा दिन्छौं’, उनी भन्छन्, ‘बाहिर पेन्टाप्राजोललाई आठ रुपैयाँ लिन्छन्, हामी तीन रुपैयाँमा दिइरहेका छौं । यसबाट बिरामीलाई धेरै राहत भएको छ ।’

सँगसँगै अस्पतालको आम्दानी बढेको छ । गत आर्थिक बर्षमा विभिन्न सेवाबाट अस्पतालले ३२ करोड ५२ लाख ८२ हजार रुपैयाँ आम्दानी गर्‍यो, जुन आव २०७४/०७५ भन्दा १३ करोड ११ लाख ४३ हजार बढी हो ।

तीन वर्षअघिसम्म तीनलाख हाराहारीमा रहेको दैनिक आय अहिले २५ लाख पुगेको छ । घाटामा गएर डुब्न लागेको अस्पताललाई यो अवस्थामा ल्याएको जस डा. आचार्यले पाएका छन् ।

दैनिक ओपिडीमा आउने बिरामी संख्या अहिले ७०० हाराहारी पुगेको छ । सेवा थपिएर निरन्तरता पाएसँगै बिरामी संख्या र आम्दानी बढेको हो । पहिला १९४ वेड हुँदा र अहिले ४५० बेड हुँदाको ल्याव केमिकल खर्च उस्तै रहेको कार्यकारी निर्देशक आचार्य बताउँछन् । यसले अस्पतालभित्र अनियमिता रोकिएको देखाउँछ ।

प्रतिष्ठान बनाउने आकांक्षा

क्यान्सर रोगको उपचारमा एकीकृत सेवा दिने सबभन्दा ठूलो अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्नु जरुरी रहेको कार्यकारी निर्देशक डा. आचार्य बताउँछन् । ‘उपचारले मात्र पुग्दैन’, उनी भन्छन्, ‘क्यान्सर रोगको अनुसन्धान र शैक्षिक जनशक्ति उत्पादन गर्ने थलोका रुपमा पनि विकसित गर्न पर्‍यो ।’

अस्पतालसँग पर्याप्त जमिन, जनशक्ति, वेड क्षमता, उपकरण र बिरामी रहेकाले प्रतिष्ठानका रुपमा विकास गर्न सहज रहेको उनले बताए । उनका अनुसार, हिजो बेथितिले गर्दा प्रतिष्ठानको कल्पना गर्न सकिने अवस्था थियो, तर आज गर्ब गर्न लायक अस्पताल बनेको छ ।

‘हामी अझै काम छौं, प्रतिष्ठानका लागि सबैले होस्टेमा हैसे गरौं’, डा. आचार्य भन्छन्, ‘सरकारले पनि क्यान्सर अस्पतालप्रति विषेश दृष्टि राखोस् ।’

Onlinekhabar

Related Articles

Close