समाचार

घरभेटीले निकालेपछि सडककै बास

भोको पेटमा हम्मेसी निद्रा लाग्दैन, पीरका बेला कुरा पनि केही हुँदैन । त्यसमाथि छोराले भोक लाग्यो भन्दै डाँको छोडेर रोइदिन्छ, उनीहरु भित्रभित्रै भक्कानिन्छन् ।’

काठमाडौँ — शनिबार मध्यरात । गोविन्द नगरकोटी र ६ वर्षका उनका छोरा कृष्ण निद्रामा थिए । उनै गोविन्दको देब्रे हातलाई सिरानी हालेर पल्टिएकी २५ वर्षीया सरस्वती श्रेष्ठका आँखा चिम्म थिए, मन अनिँँदो । ‘मनमा कुरा खेलिरहन्छ, निद्रा लाग्दैन,’ सरस्वतीले कान्तिपुरसँँग भनेकी थिइन्, ‘कोठामा सबै थोक छ, तर घरभेटीले ताला लगाइदिएका छन्, कहिलेकाहीं बस्न दिन्छन् कि भनेर जान्छौं, भाडा तिरेपछि मात्रै ढोका खोलिदिन्छु भन्छन् ।’

सरस्वतीको परिवार आइतबार पनि आफ्नो कोठामा छिर्न पाइन्छ कि भनेर गएको थियो । तर घरभेटीले भाडा नतिरेसम्म पस्नै नदिने बताएपछि उनीहरू दिनभरि लगनखेलमै टहलिए र साँझ परेपछि पाटन अस्पताल अगाडिको फुटपाथमा सुत्न पुगे । आइतबार राति ९ बजेतिर हामी पुग्दा उनीहरू सुतिसकेका थिए तर निदाएका थिएनन् । भोको पेट र चिसो छिँडीमा निद्रा पर्नर् ुचानचुने कुरा होइन ।
गोविन्द र सरस्वतीको बाल्यकाल लगभग उसैगरी बितेको हो । उनीहरू दुवैलाई आफूहरू कति वर्ष हुँदा आफ्ना अभिभावक गुमायौं भन्ने याद छैन । सरस्वती घरेलु कामदार र गोविन्द ज्यालादारी मजदुरकै रूपमा हुर्किए, कहिल्यै मागेर खाएनन् । तर गत चैतमा लकडाउन सुरु भएपछि उनीहरूको आम्दानीको स्रोत गुम्यो । भाडा तिर्ने पैसा त के, खाने अन्नसम्म बाँकी रहेन । ‘पहिले दुई जना बूढाबूढीको गरेर ८/१० हजार आम्दानी हुन्थ्यो, खान ठिक्क पुग्थ्यो,’ गोविन्दले भने, ‘अहिले न काम पाइन्छ न खान, राति बाटोमा सुत्दा चिसो हुन्छ, छोराको ज्याकेट निकाल्छु भन्दा पनि घरभेटीले ढोका खोलिदिएनन् ।’

नागरिकताको ठेगानामा उनीहरूको घर काभ्रेको पनौती भनिए पनि त्यहाँ खुट्टा टेक्ने जमिनसमेत छैन । नागरिकताको फोटोकपी भने गोविन्दले ज्याकेटको गोजीमा सुरक्षित राखेका छन् । कुनै न कुनै दिन काम पाइएला र जिन्दगी उसैगरी चल्ला भन्ने आशा यो दम्पतीसँँग छ । ‘कसैकसैले काम दिँदा नागरिकता पनि खोज्दा रैछन्, त्यही भएर बोकेरै हिँँड्छु,’ गोविन्दले भने । उनले गोजीमा प्लास्टिकले बेरेर राखेको नागरिकताको फोटोकपी निकाल्दा सँँगसँँगै त्यहींबाट अर्को कागज पनि निस्कियो । ‘योचाहिँँ उसलाई जँचाएको पुर्जा,’ उनले भने, ‘डाक्टरले औषधि खानु भनेर लेखिदिएका छन् तर पैसा नभएकाले किन्न सकेनौं ।’ उनीहरूका अनुसार सरस्वतीको पाठेघरको मुखबाट रगत बग्न थालेको एक महिनाभन्दा धेरै भइसक्यो, त्यही कारण उनलाई भनन रिंगटा लाग्छ र उठ्न पनि सक्दिनन् । तर भोको भेट भर्न पनि धौधौ भइरहेका बेला औषधिमूलो परको कुरा रहेछ ।

लकडाउनलगत्तै काम खोसिएसँगै घरभेटीको किचकिच झन्झन् बढ्न थाल्यो । घरभेटीले भाडा नदिएसम्म घरमा पस्न नदिने भन्न थालेपछि उनीहरू केही समय गोविन्दको साथीको कोठामा गएर बसे । साथी पनि यहाँ टिक्न नसकेर गाउँतिरै लागे । गोविन्दहरूको त जाने गाउँ पनि थिएन । साथी नै नभएको कोठामा घरभेटीले बस्न दिने कुरा पनि भएन । त्यसपछि उनीहरूको परिवार नै सडकमा आएको हो, सडकबाट भने कसैले धपाएको छैन ।

गोविन्द र सरस्वती सानो बच्चासहित पाटन अस्पताल अगाडिको त्यही सडकपेटीमा सुत्न थालेको ३ महिनाभन्दा धेरै भइसक्यो । त्यो बाटोमा हिँड्नेहरूले उनीहरूलाई कहिलेकाहीं पैसा दिए भने पेटभरि खान पुग्छ, नत्र दिनभरि भोकै । कहिलेकाहीं त तीन/चार दिनसम्म पनि खाने मेसो मिल्दैन । ‘पहिलेपहिले कारमा आउनेहरू पैसा दिएर जान्थे,’ सरस्वतीले भनिन्, ‘आजकल त्यसरी पैसा दिने मान्छे आउँँदैनन्, बरु राति पुलिस आएर यहाँ किन सुतेको भनेर थर्काउँँछन् ।’

उनीहरूले कामको खोजी नगरेका पनि होइनन्, तर आजकल कामै पाइँदैन । काम नभएपछि आफूहरू त परको कुरा छोरालाई समेत पेटभरि खुवाउन नसकेकोमा यी दम्पतीलाई थकथकी लागिरहन्छ । ‘छोराले झगडा गर्छ, हामी किन कोठामा नगएको मम्मी भनेर सोध्छ,’ सरस्वतीले भनिन्, ‘हाम्रो घर नै यही हो भन्छु, बच्चालाई के भनेर फकाउनु !’

उनीहरूलाई मागेर खान पटक्कै मन छैन, जस्तो भए पनि काम पाए कोठामै बसेर जसोतसो जिन्दगी कट्थ्यो भन्ने लाग्छ । दिनभरि काम पाइन्छ कि भनेर यताउता भौंतारिन्छन् । केही सीप नलागेपछि खुला चौरतिर दिन बिताउँँछन् । पसलेहरूले सटर बन्द गरेपछि पेटीमा आउँछन् र पल्टिन्छन् । तर भोको पेटमा उनीहरूलाई हम्मेसी निद्रा लाग्दैन, पीरका बेला कुरा पनि केही हुँँदैन । त्यसमाथि छोराले भोक लाग्यो भन्दै डाँको छाडेर रोइदिन्छ, उनीहरू भित्रभित्रै भक्कानिन्छन् । ‘आज पनि दालभात खान्छु भनेर रोयो,’ सरस्वतीले भनिन्, ‘फकाउनै सकिएन ।’

kantipur बाट साभार गरिएको ।

Related Articles

Back to top button
Close