बिरामी श्रीमतीलाई रिक्सामा राखेर ९० किलोमिटर यात्रा, तर बचाउन सकेनन्
एजेन्सी : भारतमा ६१ वर्षीय एक वृद्धले ९० किलोमिटर रिक्सा चलाएर श्रीमतीलाई अस्पताल पुर्याए। साथमा मोबाइल नभएपछि उनले सरकारी एम्बुलेन्ससमेत बोलाउन सकेनन्। उडिसाको पुरी जिल्लाका ती वृद्धले पैसा अभावमा श्रीमतीलाई अन्य गाडीमा पनि लैजान सकेनन्।
कबिर भुइन नाम गरेका ती वृद्धले तीन चक्कावाला ट्रली आकारको रिक्सा भाडामा लिएका थिए। उनले त्यही रिक्सामा हालेर श्रीमतीलाई अस्पताल पुर्याएका थिए। पत्नी सुकान्तिलाई लिएर उनले १४ घण्टाभन्दा बढी रिक्सा चलाएर साक्षीगोपाल भन्ने ठाउँ कटेका थिए।
त्यहाँका स्थानीय केही मानिसको मद्दतमा उनले श्रीमतीलाई एससिबी मेडिकल अस्पतालमा शनिबार भर्ना गराएका थिए। अस्तपालको निर्देशनबमोजिम उनले पत्नी सुकान्तिलाई तुरुन्त उपचार पनि गराएका थिए। तर भोलिपल्ट अर्थात् आइतबार (आज) साढे १२ बजे सुकान्तिको उपचार क्रममा मृत्यु भएको थियो।
अस्पतालका सुपरिडेन्टेन्ड भुवन मोहोनाराका अनुसार सुकान्तिको मिर्गौलामा समस्या देखिएको थियो। आज बिहान उनको स्वास्थ्य गम्भीर बनेको र दिउँसो मृत्यु भएको मोहोनाराले बताए।
इन्डिया टुडेका पत्रकार मोहम्मद सुफियानको रिपोर्ट अनुसार कबीरकी श्रीमती सुकन्तीको दुई हप्ताअघि पुरीको स्थानीय जिल्ला अस्पतालमा उपचार भइरहेको थियो। तर स्वास्थ्यमा समस्या आएपछि उनलाई त्यहाँका डाक्टरले एससिबी अस्पतालमा रेफर गरेका थिए।
सुकान्तिको पेटमा समस्या भइरहेको र उनले बारम्बार उल्टी गरिरहेकी अस्पतालले जनाएको छ। अस्पतालले एम्बुलेन्स रिफर गरिदिए पनि उनले खर्च अभावमा लैजान सकेका थिएनन्। श्रीमतीको उपचारका लागि कबिर त्यहीँको अस्पतालमा भौंतारिरहेका थिए, श्रीमतीको अवस्था बिग्रँदै गएपछि उनले आफूले भाडामा लिएको त्यही रिक्सामा हालेर श्रीमतीलाई ९० किलोमिटर पर रिफर गरिएको अस्पताल पुर्याएका थिए। तर उनले श्रीमतीलाई बचाउन सकेनन्। thahakhabar बाट साभार