समाचार

बिल तिर्न नसकेपछि अस्पतालमै ‘बन्धक’ अढाइ वर्षीय बालककाे शव

छोराको शवका लागि सुनिता सदाले हारगुहार गरिरहेकी छिन्। अढाई वर्षीय छोरा सिद्धार्थको शव दुई दिनदेखि अस्पतालमा ‘बन्धक’ छ। बिराटनगरस्थित बिराट नर्सिङ होमलाई १ लाख रुपैयाँ बुझाउँन नसक्दा सुनिताले छोराको शव ल्याउन पाएकी छैनन्। आईसीयूमा निरन्तर उपचार गराउदा समेत छोरालाई बचाउन नसकेकी सुनिताले छोराको शव दुई दिनसम्म बुझ्न नपाउदा थप विक्षिप्त बनेकी छिन्।

छोराको मृत्युको खबरले विक्षिप्त सुनिताको परिवार दुई दिनदेखि भोकै प्यासै अस्पताल पक्षलाई शव बुझाउन गुहार्दै छन्। सिरहा नगरपालिका–५ मानपुर खरसलबा स्थित सदाको छाप्रोमा सन्नाटा छ। आफन्त सबै अस्पतालमा ‘बन्धक’ रहेको शव ल्याएर दाहसंस्कार गराउने प्रयत्नमा जुटिरहेका छन्। तर, पैंसा नहुँदा अस्पतालबाट शव छुटाउन सकिरहेका छैनन्।

सुनिताका पति सुनिल सदाको भदौ १७ गत्ते मोटरसाईकल दुर्घटनामा निधन भएको छ। उनी पछाडि बसेको मोटरसाईकल सिरहा चोहर्वा सडक खण्डमा दुर्घटना भएको थियो।

सिद्धार्थलाई ज्वरो आएपछि गाउँकै औषधि पसलमा उपचार गराउँदा निको नभएपछि आरके मेडिसिटी अस्पताल धनगढीमाई सिरहा पुर्याइयो। त्यहाँ उपचार गरेर निको नभएपछि डाक्टरले आन्दामा समस्या छ भन्दै बिराटनगरको सुविधासम्पन्न अस्पताल लैजान सल्ला दियो। बिराटनगर लग्न चाहिने रकम उनीसँग तत्काल थिएन।

त्यहाँबाट गाउँ गएर साहुमहाजनसँग १ लाख ऋण लिएँ सुनिताले भनिन्। एम्बुलेन्समा सिद्धार्थलाई राखेर सुनिताको परिवार बिराटनगरस्थित बिराट नर्सिङ होम पुगे। गत्त आइतबार नर्सिङ होम पुर्याइएका बालक सिद्धार्थको उपचारमा संलग्न चिकित्सकले पेटको शल्यक्रिया गर्नुपर्ने बताए। परिवारजनले चिकित्सकलाई जे गर्दा उनी निको हुन्छ त्यही गर्नुस् भने। चिकित्सकले बालकको पेटकको शल्यक्रिया गरे। अब निको हुन्छ भनेर परिवारलाई ढाड्स दियो।

तर चिकित्सकले ढाड्स दिएजस्तो बालकको स्वास्थ्यमा सुधार भएन। पाँच दिन नबित्दै पुनः उनको शल्यक्रिया गरियो। अब ढुक्क हुनुस् छिट्टै डिस्चार्ज गरिदिन्छौं भनेर चिकित्सकले सदा परिवारलाई निश्चिन्त पारे। आइतवार बालकले आमाको दुध खाने इच्छा जनाए। सुनिताले भन्छिन्,‘दूध चुस्नै सकेनन्, मुख बाएर छोडिदिए।’

आइतबार रातीदेखि नै उनी सिकिस्त हुँदै गए। नर्सहरुलाई ठूलो डाक्टर बोलाईदिन भन्दा तिमिले भन्दैमा बोलाउछु भनेर हप्काए बालकको सानी आमा ललिता सदाले भनिन्,‘बच्चा छटपटाएर तम तोड्नै लाग्दा पनि डाक्टरलाई बोलाइदिनएनन्। सोमबार विहान ११ बजे मात्र डाक्टर आइपुगेको उनले बताइन्।’ त्यसपछि आइसियूमा लग्न हतार गर्यो। बालकको हजुरबुवा रामकुमारले बच्चालाई काँखमा बोके सानी आमा ललिताले उनको शरीरमा लगाइएका पाईपहरु समातेर आइसियूतिर दौडे। आइसियूमा पुर्याउने बितिकै चिकित्सकले १ लाख रुपैयाँ जम्मा गर्न भने। उनीहरु रकमको जोगारमा जुटे।

दिउँसो ३ बजे बच्चा सिरियस भैसक्यो भने। ४ बजे अब बचा रहेन भनेर जवाफ दिए। ललिताले भक्कानिँदै भनिन्,‘अस्पतालको लापरबाहीले बचा गुमायौ, अहिले मरेको बचालाई पनि ‘बन्धक’ बनाएर पैसा माग्दैछ। बचाको लाश लिन हामी कहाँबाट ल्याउनु यती धेरै पैसा उनी रुँदै भनिन,‘उपचारमा खर्चेको एक लाख पनि गयो बचा पनि मर्यो। अब लाशको फेरि एक लाख बुझाउनुपर्ने ?’

नागरिक न्युजमा खवर छ।

Related Articles

Back to top button
Close