समाचार

कालापानीमा भारतीय फौजको प’रेड, बालुवाटारमा ‘रअ’ प्रमुखलाई स्वागत

काठमाडौं: राष्ट्रियताको विषयमा नेपाल र भारतबीच कूटनीतिक र राजनीतिक वार्ताको प्रतीक्षा भइरहेको वेला अचानक गुप्तचर प्रमुखको ‘इन्ट्री’ले देशभक्त नेपालीको मन कु“डिएको छ। नेपालका प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँग, मन्त्रीले मन्त्रीसँग संवाद गर्नुपर्नेमा भारतको जासुसी संस्थाका प्रमुख सीधै नेपाल आएर प्रधानमन्त्रीसँग मध्यरातसम्म वार्ता गरेका छन् ।

यसले कूटनीतिक मर्यादा र देशको स्वाभिमान ध्वस्त बनाएको भन्दै सत्तापक्ष र प्रतिपक्षका नेताहरूले कडा विरोध जनाएका छन्। प्रधानमन्त्री केपी ओली र ‘रअ’ प्रमुख सामन्तकुमार गोयलबीचको भेटवार्ताको योजना दुई साता अगाडिबाट भएको स्रोतको दाबी छ । स्रोतका अनुसार दुई साताअघि ‘रअ’का डेपुटी प्रमुख नेपाल आएर प्रधानमन्त्री ओलीसँग भेटेका थिए ।

उनी पनि प्रधानमन्त्रीकै चाहनामा नेपाल आएका थिए । भेटमा प्रधानमन्त्री ओलीले ‘तपाईंको प्रमुखसँग भेट्न चाहन्छु’ भन्ने प्रस्ताव गरेका थिए। उनले दिल्ली गएर यसबारे थप छलफल गर्ने बताएका थिए । नेपालका प्रधामन्त्रीले नै भेट्न चाहेका छन् भनेपछि ‘रअ’ प्रमुख वायुसेनाको जहाज चढेर दलबल सहित काठमाडौं आएका हुन् ।

भारतीय वायुसेनाको ‘आइएफसी ४६२०’ उडानबाट बुधबार अपराह्न १ बजे काठमाडौं अवरण गरेका गोयललाई राति सवा ९ बजे बालुवाटारमा स्वागत गरिएको थियो । राति ९ः१५ मा बालुवाटारको गेटभित्र प्रवेश गरेका गोयल मध्यराति १२ः१० मा बाहिरिएका थिए । भारतका गुप्तचर प्रमुखले नेपालका जननिर्वाचित प्रधानमन्त्रीसँग बिताएका दुई घन्टा ५५ मिनेट सार्वभौम, स्वाभिमानी देशका लागि अँध्यारो पलको रूपमा दर्ज भएको छ ।

गुप्तचर संस्थाका प्रमुखले नेपालमा गुप्तचर वा अन्य सुरक्षा अंगका प्रमुखलाई भेट्नु अस्वाभाविक होइन । तर, उनी यसपालि सीधै नेपालका प्रधानमन्त्री केपी ओलीलाई भेट्न आएका हुन् । यो विषयमा मिडियामा समाचार प्रसार भएपछि प्रधानमन्त्री ओलीको सचिवा लयले भेटको पुष्टि गर्दै प्रेस नोट जारी गरेको छ ।

छिमेकी भारतले नेपालको सिमाना अतिक्रमण गरेकोमा नेपाली राष्ट्रियता उद्वेलित छ । नेपालको भूगोल फिर्ता गर्न र भारतसँग आत्मसम्मान पूर्ण संवाद अपरिहार्य छ । तर, त्यसका लागि नेपालका प्रधानमन्त्रीले आफ्ना समकक्षीसँग वार्ता गर्ने हो कि गुप्तचर प्रमुखसँग ? यो विषयमा मिडिया र प्रतिपक्षले मात्र होइन, सत्तापक्षका नेताहरूले पनि प्रश्न उठाएका छन् । आजको नया पत्रिकामा कभर स्टोरीमा लेखिएको छ ।

Related Articles

Back to top button
Close