समाचार

बोतलकै २८ हजार पर्ने नेपाली मदिरा ६ महिनाभित्र निर्यात योजना, १७० देशमा ट्रेडमार्क दर्ता हुँदै

काठमाडौं। २५ वर्षदेखि सूचना प्रविधि व्यवसायमा जमेका गोविन्द अग्रवालले रेमिट्यान्स हुँदै माइनिङसम्मको क्षेत्रमा लगानी विविधिकरण गरे । तर, मदिरा उत्पादन उद्योगमा आउने कहिल्यै सोचेका थिएनन्।

विश्वभर सुनिएको एउटा नामसँग जोडिएको ब्राण्ड, जो झन्डै तीन दशक पुरानो भए पनि लो-प्रोफाइलमा थियो, त्यसले अग्रवाल र उनको टिममा भएका बिक्की (बिसु) गोयनकालाई लोभ्याउँदा मदिरा उद्योगमा छिरेका उनी यसलाई अचानकको संयोग भन्छन्।

त्यही ब्रान्ड यतिबेला नेपालको सबैभन्दा ‘प्रिमियम लिकर ब्रान्ड’ का रूपमा छोटो समयमै ‘मार्केट बज’ गर्न सफल भएको छ।

‘बायोलोजिकल गोल्ड’ अर्थात् ‘जैविक सुन’ समेत भनेर विश्वले चिनेको हिमाली जडिबुटी ‘यार्सागुम्बा’ को नाममा लक्ष्मण श्रेष्ठले २९ वर्षदेखि अल्कोहलिक बेभरेज उत्पादन गर्दै आएका थिए। तर त्यो असाध्यै सानो परिमाणमा थियो।

श्रेष्ठको एभरेष्ट हर्ब्स प्रोसेसिङ प्रालिले घरेलु उद्योगको शैलीमा सीमित जनशक्तिबाट यसको उत्पादन गरिरहेकाले बजार पनि साँघुरो थियो। जबकि, यसको बजार स्थानीय र सानो आकारमा नभएर विश्वव्यापी हुने सम्भावनाको ‘बिग पिक्चर’ अग्रवाल र गोयनकाले आकलन गरे।

यसैलाई साकार गर्न करीब तीन वर्षअघि एभरेष्ट हर्ब्समा लगानी, प्रविधि, उत्पादन क्षमता, ब्राण्डिङ र विस्तारित बजारको योजनाका साथ उनीहरुको ‘इन्ट्री’ भयो। संस्थापक श्रेष्ठ अहिले पनि कम्पनीको अध्यक्ष छन् भने अग्रवालले इन्टरनेशनल बिजनेस डेभलपमेन्ट भर्टिकल र गोयनकाले कम्पनीका उत्पादनहरुको इन्नोभेसन तथा रिसर्च एण्ड डेभलपमेन्टलाई लिड गरेका छन्।

यसरी सुरु भयो यार्सागुम्बा बेभरेजको ‘रिभ्याम्प’

व्यवसायिक कामको सिलसिलामा गोयनकाको नेपाल-भारत आउजाउ भइरहन्थ्यो। सोही क्रममा एकपटक मुम्बईबाट काठमाडौं आएको बखत उनले यार्सागुम्बा नामको मदिरा देखे।

विज्ञानका विद्यार्थी गोयनकाको आयुर्वेद र जडिबुटीमा गहिरो रुचि थियो। यसबारे थुप्रै स्वअध्ययन गरेका उनी यार्सागुम्बाको अद्वितीय गुणबारे पनि बेखबर थिएनन्। यसकारण पनि यार्सागुम्बा ब्रान्ड नामको त्यो मदिराको बोतलले उनको ध्यान खिच्यो।

बजारमा सहजै उपलब्ध नभएकाले साथीको सहयोगमा गोयनकाले उक्त मदिराका पाँच बोतल जुटाउन सके। त्यसबारे केही अध्ययन गरे। थोरै परिमाणमा उत्पादनका कारण नै त्यसले बजारमा सितिमिति ठाउँ नपाएको तथ्य थाहा पाए।

त्यसले नै उनलाई ‘क्लु’ दियो – यो ब्रान्डमा हर्बलको औषधीय गुणयुक्त ‘नेक्स्ट लेबल’ को अल्कोहलिक बेभरेज उत्पादन गर्न सकिन्छ, जुन अहिलेसम्म विश्वमा कसैले गरेको छैन।

अग्रवाललाई भेटेर उनले यस विषयमा आफ्नो आइडिया सेयर गरे। अग्रवालले पनि यसको अथाह बजार सम्भावना देखे। दुवैजनाले यसमा व्यापक छलफल गरे। र, सुरु भयो लक्ष्मण श्रेष्ठलाई साथै लिएर उनले स्थापना गरेको एभरेष्ट हर्ब्स कम्पनी र यसको उत्पादन यार्सागुम्बाको ‘रिभ्याम्प’ र ‘रिपोजिसन।’

अग्रवाल भन्छन्, ‘लिकर उद्योगमा छिर्ने कहिल्यै सोचेको थिइँन तर विस्तारै महसुस हुँदै गयो कि यो उत्पादनले आफू र नेपाललाई पनि फरक स्तरबाट परिचय दिलाउन सक्छ। यसैले पैसा कमाउने मात्र नभएर देशले नै गर्व गर्न सक्ने उत्पादन विश्वबजारमा लैजाने ‘भिजन’ र ‘क्लियारिटी’ सहित फरक उद्देश्यले यसमा प्रवेश गरेको हुँ ।’

यो सोचलाई साकार गर्न सर्वप्रथम उत्पादन परिमाण नै बढाएर बजारमा ‘भिजिबिलिटी’ बढाउन आवश्यक थियो। अग्रवाल, गोयनका र श्रेष्ठको नयाँ टिमले यसका लागि योजनासहित काम थाल्यो।

शुरुआत न्यून उत्पादन क्षमताको ‘बोटलनेक’ फुकाउनबाट गरे। वर्षभरीमा ६ हजार लिटर उत्पादन गर्नसक्ने अवस्थाबाट एभरेष्ट हर्ब्सको क्षमता चार लाख लिटर (१२ लाख बोतल) पुर्‍याउने गरी अनुमति प्रक्रिया अघि बढ्यो। सोहीअनुसार प्लान्ट सेटअप र त्यसलाई चाहिने आकारको लगानी गरियो।

अग्रवालका अनुसार, पहिलेको भन्दा ७५ गुणा बढी उत्पादन गर्ने अनुमति कम्पनीले पाइसकेको छ। तर, यतिले मात्र महत्वकांक्षा राखिएजस्तो उत्पादन र त्यसको बजार सम्भव हुँदैनथ्यो।

बेभरेजलाई वर्ल्ड क्लासको बनाउने गरी इन्ग्रिडियन्ट्सको नयाँ फर्मूला तयार पार्न रिसर्च एन्ड डेभलपमेन्टमा गोयनकाले व्यापक काम गरे, जसको नतिजा हो अहिलेको यार्सागुम्बा बेभरेज । अर्कोतर्फ, अग्रवाल स्थानीय बजार विस्तारका साथसाथै सम्भाव्य विश्व बजार प्रवेशको अध्ययन र त्यसको तयारीमा लागे। यसलाई साथ दिन श्रेष्ठको अनुभवको ब्याकअप थियो।

यसैले यो टिमवर्कबाट यी सबै पक्षमा कम समयमै लक्ष्य अनुसारको नतिजा हासिल भइरहेको अग्रवाल बताउँछन्।

‘विश्वकै युनिक मदिरा’
ह्विस्की, रम, भोड्का, जिन जस्ता विशुद्ध मदिरा स्वास्थ्यका दृष्टिले सबैका लागि पिउनयोग्य नहुने भए पनि एभरेष्ट हर्ब्सको यो उत्पादन औषधीय गुणसहितको भएकाले यसलाई ‘बेभरेज’ को वर्गमा राखेको भनाइ यसका उत्पादकको छ ।

गोयनका भन्छन्, ‘यो ह्विस्की होइन, न भोड्का वा जिन नै हो। यो नेपालमा पाइने दुर्लभ जडिबुटीहरुको औषधीय गुणसहितको अल्कोहलिक बेभरेज हो। त्यसैले यो कुनै पनि उमेर समूहकाले पिउन मिल्छ ।’

यसकारण यार्सागुम्बा बेभरेज विश्वकै ‘युनिक लिकर’ भएको दाबी अग्रवाल र गोयनकाको छ।

उनीहरु भन्छन्, ‘यो संसारमै एउटा मात्र प्रडक्ट (मदिरा) हो, जसमा कलर, फ्लेवर र केमिकलको समिश्रण छैन। यसलाई पुष्टि गर्ने अन्तर्राष्ट्रिय परीक्षण प्रमाणपत्रसमेत भएकाले हामी यो दाबी गर्छौं। यसकारण हाम्रो उत्पादन युनिक छ र यसलाई स्थापित गर्न सके यो विश्वकै लागि रिभोलुसन हुने हाम्रो विश्वास छ।’

गोयनकाको भनाइमा – संसारका सबै मदिरामा सात किसिमका रसायन मिलाएर बनाइएको हुन्छ । यार्सागुम्बा बेभरेजमा भने त्यसमध्येका आर्सनिक, क्याडमियम, मर्क्युरी, लेड र सल्फर डायोक्साइड गरी ती पाँच रसायन छैन, जुन मानव स्वास्थ्यका लागि हानिकारक छ। यी तत्वहरु नहालिएकाले पनि यार्सागुम्बा बेभरेज दुई बोतल पिउँदा पनि ह्याङओभर नहुने र एसिडिटी पनि नगराउने दाबी उनको छ।

ह्याङओभर नहुने र मानव स्वास्थ्यका लागि हानिकारक रसायन, कलर तथा फ्लेवररहित भएको हङकङको सरकारी मान्यताप्राप्त त्यहाँको प्रयोगशाला तथा संस्थाबाट समेत प्रमाणित गरिसकेको अग्रवालले बताए। यस्तै, जापान र बेल्जियमबाट पनि यो प्रमाणित गर्ने प्रक्रियामा रहेको उनले जनाए।

यार्सागुम्बा बेभरेज युनिक हुनुको अर्को कारण यो पूर्णरूपमा ह्याण्डक्राफ्टेड ड्रिंक हो, जसमा यार्सागुम्बा र अन्य पाँच जडिबुटीमा भएका औषधीय तत्वहरुलाई प्रोसेसिङबाट निकालेर प्रयोग गरिएको बताइएको छ। यसकारण यो स्वास्थ्यका लागि पनि राम्रो भएको जिकिर कम्पनीको छ ।

यद्यपि, यसलाई वर्षौं राख्नयोग्य वा ‘एक्सपायरी’ नहुने बनाउन इएनएको प्रयोग गरिएकाले औषधीय उत्पादनका रूपमा चिनाउन ‘मेडिकल सर्टिफिकेसन’ मा भने नगएको भनाइ गोयनका र अग्रवालको छ।

बोटलको ११ हजार पर्ने नेपाली बेभरेज !
७५० मिलिलिटरको बोटलमा आउने यार्सागुम्बा बेभरेजको बजार मूल्य ११ हजार रुपैयाँ पर्छ, जुन कुनै पनि नेपाली लिकरको तुलनामा सबैभन्दा महँगो हो। अझ नेपाली मात्र नभएर कतिपय स्थापित विदेशी ब्राण्डका मदिराभन्दा पनि महँगो !

तर यो मूल्य यसको उत्पादनका प्रयोग भएका मूल्यवान ‘इन्ग्रिडियन्ट्स’ र त्यसबाट पाइने लाभहरुको तुलनामा यो निकै सस्तो भएको भनाइ अग्रवालको छ।

‘तत्कालका लागि नभएर निकट भविष्यको दृष्टिकोण राखेर आज यो मूल्यमा दिइराखेका हौं, ताकि विश्वबजार लक्षित यो उत्पादन सबैभन्दा पहिले नेपाली उपभोक्ताले नै अनुभव गरेर यसको गुणलाई चिन्न सकुन्,’ उनी भन्छन्, ‘तर भोलि यो मूल्यमा नआउने पक्का छ।’

उनी भन्छन्, ‘उत्पादन लागत नै उच्च हुनुका बाबजुद अत्यन्त न्यून नाफा राखेर यार्सागुम्बा बेभरेजको अहिलेको बजार मूल्य तय गरिएको हो।’

‘नाम मात्रको यार्सागुम्बा नभएर यो बेभरेजमा हामीले साँच्चिकै यार्सागुम्बा प्रयोग गरेका छौं, जसको मूल्य किलोकै बीसौं लाख रुपैयाँसम्म पर्छ। यसमा प्रयोग गरिएका अन्य जडिबुटीहरु पनि त्यतिकै दुर्लभ छन्,’ उनको जिकिर छ। यद्यपि फर्मुला गोपनीयताका लागि अन्य पाँच जडिबुटीबारे खुलाउन नचाहने गोयनका बताउँछन्।

मदिराजन्य वस्तुको उत्पादनमा इएनए (एक्स्ट्रा न्युट्रल अल्कोहल) अनिवार्य कच्चा पदार्थ हो। अग्रवालका अनुसार यार्सागुम्बा बेभरेजमा प्रयोग भएको ‘इएनए’ एक मात्र आयातित सामग्री हो। बाँकी शतप्रतिशत नेपाली उत्पादन प्रयोग गरेर यो वर्ल्डक्लास बेभरेज बनाइएको छ। र, यो पनि विश्वका उत्कृष्ट लिकर कम्पनीलाई इएनए आपूर्ति गर्ने बेल्जियन कम्पनीबाट ल्याइएको हो।

यसकारण नेपालले गर्व गर्नसक्ने उत्पादनका रुपमा विश्व बजारमा चिनाउने प्रिमियम स्तरको बेभरेज बनाउन कुनै पनि कसर नछोडेको यसका उत्पादकहरुको भनाइ छ।

प्याकेजिङ यार्सागुम्बा बेभरेजको प्रिमियम क्लास देखाउने अर्को पक्ष हो। यसमा प्रयोग गरिएको बोतल उत्तिकै आकर्षक लाग्छ, जसको डिजाइनमा कम्पनीले विशेष मौलिकता अपनाएकाले यो कसैले पनि नक्कल गर्न नसक्ने दाबी गर्छन् गोयनका।

कोभिड-१९ का कारण यार्सागुम्बा बेभरेजको अफिसियल लञ्चको उपयुक्त मौकाको पर्खाइमै छ एभरेष्ट हर्ब्स। तर लञ्चकै लागि लामो समय पर्खिँदा लक्ष्य गरिएका माइलस्टोनहरु हासिल गर्न गाह्रो हुने देखेर कम्पनीले करीब तीन महिनाअघिबाट भने यसलाई नेपाली बजारमा वितरण सञ्जाल बनाएरै पठाउन थालेको हो।

उच्चमध्यम वर्गलक्षित यार्सागुम्बा बेभरेजले तीन महिनाको छोटो अवधिमै ग्राहकबाट सकारात्मक र उत्साहजनक प्रतिक्रिया पाएको कम्पनीको भनाइ छ। ९० प्रतिशत उपभोक्ताबाट गुणस्तरअनुसार मूल्य सस्तो भएको प्रतिक्रिया आएको समेत अग्रवालको जिकिर छ।

गोयनकाका अनुसार, सार्वजनिक रूपमा प्रचारप्रसार नगरिकनै उपभोग गरेका व्यक्तिहरुको ‘वर्ड अफ माउथ पब्लिसिटी’ कै आधारमा यो पछिल्लो एक-डेढ महिनाको अवधिमा करीब १२ हजार बोटल बिकिसकेको छ।

लक्ष्य विश्व बजार
अग्रवालका अनुसार, नयाँ अवतारमा यार्सागुम्बा बेभरेजको उत्पादन थाल्नुको लक्षित बजार नै ओभरसिज थियो। तर अन्तर्राष्ट्रिय बजारमा पठाउने तयारी गरिएको भए पनि कोभिडको अभूतपूर्व प्रतिकूलताले तत्काल यो योजनामा धक्का लाग्यो।

‘कोभिड नभएको हुन्थ्यो भने यतिबेला हामी यार्सागुम्बा बेभरेज विश्वका विभिन्न देशमा निर्यात गरिरहेका हुन्थ्यौं,’ अग्रवालले भने, ‘त्यो अहिले नेपालमा बेचिरहेको गोल्डेन सफायरभन्दा पनि प्रिमियम र बढी मूल्यको हुनेछ र त्यसलाई बिक्री गर्नसक्ने कन्फिडेन्स हामीसँग छ।’

७५० एमएलकै बोटलको २३९ अमेरिकी डलर अर्थात् करीब २८ हजार रुपैयाँ मूल्य रहनेगरी ‘ब्लु सफायर’ सेगमेन्टमा यार्सागुम्बा बेभरेज निर्यातको योजना रहेको उनले सुनाए। भन्छन्, ‘अझ हामी यसलाई ५०० डलरमा अन्तर्राष्ट्रिय बजारमा बेच्न सक्ने बनाउन चाहन्छौं, ताकि नेपालमा पनि यो स्तरको मूल्यमा बेच्न सकिने सामान उत्पादन गर्न सकिन्छ भन्ने प्रेरणा अरु नेपालीलाई पनि मिलोस्।’

कम्पनीले गत जनवरीबाटै नेपाली उपभोक्तालाई लक्षित गरेर उत्पादन बजारमा पठाउने गृहकार्य थालेको थियो। तर त्यतिबेला उत्पादन क्षमता वृद्धिको लाइसेन्सको पर्खाइमै रहेकाले यो आक्रामक रूपमा अघि बढ्न सकेको थिएन। लाइसेन्स पाएपछि भने तीन महिनाअघिबाट मार्केटिङलाई गति दिइएको अग्रवालले बताए।

‘लकडाउन नभए अबको ६ महिनाभित्र विश्वका २० मुलुकमा यसलाई पुर्‍याइसक्ने लक्ष्यमा काम गरिरहेका छौं,’ उनले भने, ‘संसारभरका ड्युटी फ्री शपमा यो प्रडक्ट होस् भन्ने हामी चाहन्छौं।’

अन्तर्राष्ट्रिय बजार हेरेरै नेपालमा मात्र नभएर विश्वभर यस ब्रान्डको व्यापार चिन्ह सुरक्षित गर्न एभरेष्ट हर्ब्सले विभिन्न मुलुकमा ट्रेडमार्क दर्ताको काम पनि सँगसँगै अघि बढाएको छ। जसअनुरुप हङकङमा ‘यार्सागुम्बा’ ट्रेडमार्क दर्ता भइसकेको छ भने संसारका अन्य १७० देशमा समेत यो मान्य हुनेगरी अन्तर्राष्ट्रिय ट्रेडमार्क रजिष्ट्रेसनको प्रक्रियामा रहेको जानकारी अग्रवालले दिए।

उनी भन्छन् – ‘यो उत्पादनको परिचय संसारभर ‘मेड इन नेपाल’ का रूपमा होस्, अरु कुनै पनि मुलुक यसको दाबीका लागि प्रवेश गर्न नसकोस् भनेर हामी यसरी प्रतिबद्ध भएर लागेका हौं। किनकि, हामी यसलाई अन्तर्राष्ट्रिय बजारमा नेपाल चिनाउने एउटा गर्व गर्नलायक नेपाली उत्पादनका रुपमा स्थापित गरेर देशलाई विदेशी मुद्रा आर्जनमा पनि सघाउन चाहन्छौं।’

यो महत्वाकांक्षी योजनाको संक्षेपलाई बिट मार्दै अग्रवालले भने- ‘यार्सागुम्बा बेभरेजलाई ‘ज्वेल अफ नेपाल’ अर्थात् ‘नेपालको रत्न’ का रुपमा विश्वमा चिनाउने लक्ष्यका साथ अघि बढेका छौं हामी, र यसमा सफल हुनेमा विश्वस्त छौं।’ source: Bizmandu

Related Articles

Back to top button
Close