खेलकुद

दुई सन्तानकी आमा आयशाले स्वर्ण पदक दिलाउँदाको क्षण: छोराहरु झम्टेर अंगालोमा आएर भने ‘बधाई छ ममी’ खुसीको क्षणमा आयशाले पनि मन थाम्न सकिनन् (भिडियो हेर्नुस्)

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोमा नेपालकी आयशा शाक्यले स्वर्ण पदक जितेकी छिन् । दुई बच्चाको आमा आयशाले २९ वर्ष माथि उमेर समूहको पुम्सेको महिला एकलतर्फ स्वर्ण जितेकी हुन । आयशा कीर्तिमानी खेलाडी दिपक बिष्टका श्रीमती समेत हुन् ।

तीनवटा सागमा स्वर्ण जितेका दिपक भने अहिले प्रशिक्षकको भूमिकामा छन् । यता आयशाले आफ्नो परम्परागत विधा परिवर्तन गरेर सागमा भाग लिएकी हुन् ।

पहिलोपटक तेक्वान्दोको पुम्से विधालाई सागमा समावेश गरिएको छ । यसमा फाइट हुँदैन, खेलाडीले आफ्नो स्किल मात्रै देखाउने हो । बढ्दो उमेरसँगै शारीरिक क्षमता कमजोर भएपछि आयशाले फाइटको साटो पुम्से रोजेकी हुन् । आफ्ना दुई छोरालाई मामा घरमा छोडेर खेलकुदमा होमिएकी उनले स्वर्ण हात पारेकी हुन् । आमाले यता स्वर्ण पदक जित्दा मामाघरमा बसेर आमाको हौसलामा साथ दिएका उनका छोरा भने खुसी भएका छन् ।

उनीहरुले आमालाई बधाई दिएका छन् । आमाको खेल हेर्न ६ वर्षीय छोरा आदेश र २ वर्षका आधार खेल मैदानमै थिए । आमाले खेल जितपछि दुबै छोरा दौडिएर आमालाई झम्टन पुगे । आमाको अंगोलोमा बेरिएर उनीहरुले आमालाई बधाई दिए । छोराहरुले त्यसरी झम्टेर अंगोलोमा आएपछि आयशाले पनि मन थाम्न सकिनन् । दुई छोरालाई बेस्सरी अंगालोमा कसेर धक फुकाएर रोइन् । त्यती बेला अन्य उनका शुभचिन्तकले पनि बधाई दिइरहेका थिए ।

ठूला छोरा आदेशले बिएलसँग भने, ‘मामुलाई बधाई दिन चाहन्छु।’ श्रीमान दीपक बिष्टले पनि आयशाको जितमा खुसी व्यक्त गरे। आयशाको अब साग गेम्समा २ स्वर्ण र २ रजत पुगेको छ। उनले २९ वर्षमाथि पुम्सेमा स्वर्ण जितेकी थिइन। जुन स्पर्धा साग गेम्समा पहिलो पल्ट समावेश गरिएको थियो।

त्यस्तै काठमाडौँमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत तेक्वान्दोमा नेपालकी पार्वती गुरुङले पनि स्वर्ण पदक हात पारेकी छन् । सातदोबाटोमा भएको खेलमा पार्वतीले २३ देखि २९ वर्ष उमेर समूहको पुम्सेको महिला एकलतर्फको विधामा श्रीलङ्काका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । यस स्पर्धामा श्रीलङ्काले रजत र भारतले कास्य जित्यो ।

यो संगै नेपालले अहिले सम्म ११ स्वर्ण पदक हात पारेको छ ।यसअघि नेपालका लागि कराँतेमा मण्डेकाजी श्रेष्ठले नेपाललाई दोहोरो स्वर्ण दिलाएका थिए । उनले सिंगला काता र समूहगत कातामा गरी २ स्वर्ण दिलाएका हुन् । यस्तै, कमला तामाङले कराँतेको ५५ किलो उमेर समूहमा बंगलादेशका मोहम्मद मुस्तफालाई पराजित गर्दै नेपाललाई स्वर्ण दिलाए ।

Related Articles

Back to top button
Close