भिडियो

इन्डोनेसियन आमाकी छोरीले नेपाली बुवालाई दिएको ‘सर्प्राइज’

इन्डोनेसियन आमा र नेपाली बुवाकी छोरी आइशा डोटेलले यो आफ्नो बुवालाई दिएको ‘सर्प्राइज’ गीत हो। तर यही गीतलाई नेपालका चर्चित गायकले ‘सराहनीय प्रयास’ भन्दै सेयर गरेपछि आइशासँग यो गीतमा संलग्न सबै ‘सर्प्राइज्ड’ भएका छन्।

आइशाको गीत सेयर गर्दै गायक नवीन के. भट्टराईले फेसबुकमा लेखेका छन्–

‘आज मलाई एउटा गीत तपाईंहरूलाई सुनाउन मन लाग्यो। नेपाली पाराको यो संगीत अलि पश्चिमा शैलीमा गाइएको छ। १५ वर्षे गायिकालाई नेपाली पटक्कै आउँदैन, तर पनि नेपाली गीत गाउने प्रयास सराहनीय छ। उनले आफ्ना नेपाली बुवालाई उपहारस्वरुप यो गीत गाएकी रे!’

सरल शब्दमा देश छोडेर प्रवासमा जानुपर्ने नेपालीका निर्दोष दुःख पोखिएको यो गीत मन पराउनेमा सञ्जीव सिंह, विवेक श्रेष्ठ जस्ता गायकको नाम पनि थपिएको छ।

‘गाडी गुड्छ नेपाली’ सुन्ने जोकोहीलाई आइशाको नेपाली शब्द उच्चारण बिझाउन सक्छ। तर त्यही अस्पष्टता यो गीतको विशेषता हो। गीतमा प्रयोग भएको सांरगीले पुराना र आइशाको अंग्रेजी लवजले प्रवासी नेपाली नयाँ पुस्ताको प्रतिनिधित्व गरेको छ।

यो गीतकी गीतकार प्रगति देवकोटाका अनुसार आइशाले महिनौं नेपाली उच्चारण सिकेर गाएकी हुन्।

विगत पन्ध्र वर्षदेखि सिड्नीमा बस्दै आएकी प्रगति आइशाकी आन्टी हुन्। वेस्टर्न सिड्नी युनिभर्सिटीमा पढाउने प्रगति महाकवि लक्ष्मीप्रसाद देवकोटाकी नातिनी पनि हुन्। उनका हजुरबुवा मधुसुदन देवकोटा र लक्ष्मीप्रसाद देवकोटा दाजुभाइ हुन्।

Related Articles

Back to top button
Close