समाचार

‘दिनभरि ड्युटीमा हुन्छौँ, काम नै हाम्रो भ्यालेन्टाइन्स डे हो’

२ फाल्गुन २०७६, शुक्रबार काठमान्डौ ,महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौँमा कार्यरत छन्, रेशमकुमार कँडेल । बर्दियाका उनले रामेछापकी सावित्रा खड्कासँग बिहे गरेको आठ वर्ष भयो । सावित्रा पनि ट्राफिक प्रहरी हुन् ।यो जोडीको एक छोरी छ ।‘अहिले दुवैको पोस्टिङ महाशाखामा छ,’ रेशम भन्छन् । उनीहरूको पहिलो भेट ट्राफिक प्रहरीको कार्यालयमै भएको थियो । ‘बुटवलबाट तालिम सकेर यहाँ आएको थिएँ,’ उनी भन्छन्, ‘उनी पनि भरतपुरको तालिम सकेर यहाँ आएकी थिइन् ।’ चिनजान भयो ।

तर, उनीहरूबीच खासै कुराकानी चाहिँ हुँदैन थियो । ‘कुराकानी नभए पनि उनी राम्री लाग्थिन्,’ उनी भन्छन् । अफिसका साथीहरूले सावित्रासँग उनको नाम जोडेर जिस्काउन थाले । ‘सुरु–सुरुमा साथीहरूको कुराको वास्ता गरिनँ,’ उनी भन्छन्, ‘पछि–पछि आफूलाई पनि ‘हो कि क्या हो ?’ जस्तो लाग्न थाल्यो । कता–कता आफूले उनलाई मन पराएको महसुस हुन थाल्यो ।’ साथीहरूले सावित्राकै अगाडि रेशमलाई जिस्काइदिन्थे । ‘उनकै अगाडि त्यसरी साथीहरूले जिस्काउँदा डर र लाज एकैचोटि लाग्थ्यो,’ रेशम सम्झन्छन् ।

साथीभाइले जिस्काइरहँदासम्म उनीहरूबीच कुराकानी भने भएको थिएन । ‘साथीभाइले ‘सावित्राले तिमीलाई मन पराउँछे रे !’ भन्दै नहुने गफ पनि लगाउँथे कहिलेकाहीँ,’ उनी भन्छन्, ‘सावित्रालाई पनि त्यसै भनेर जिस्काउँदा रहेछन् ।’ धेरै समयसम्म उनी हरूको प्रेम अव्यक्त रह्यो । तीन महिनाको ट्राफिक तालिम अवधिभरि सँगै रहे पनि उनीहरूबीच कुराकानी भएन । कुराकानी नभए पनि आफूहरू एकअर्काको प्रेममा परेको उनी बताउँछन् । ‘साथीहरूले जिस्काउँदा हामी दुवै जना लजाउँथ्यौँ,’ उनी भन्छन्, ‘एकअर्कासँग कुराकानी गरिएन, बोलिएन, तैपनि माया बस्यो ।’

एक जना साथीले सावित्राको फोन नम्बर उपलब्ध गराइदिए । ‘सुरुमा त फोन गर्ने आँटै आएन,’ रेशम भन्छन्, ‘एक दिन जे त पर्ला भनेर फोन गरेँ ।’ सावित्राले नझर्की बोलिदिए पछि उनको हौसला बढ्यो । त्यसपछि उनीहरूबीच फोनमा कुराकानी हुन थाल्यो ।‘उनी ड्युटीमा हँुदा म फ्री हुन्थेँ, उनी खाली हुँदा म ड्युटीमा हुन्थेँ,’ उनी सुनाउँछन्, ‘दुवैको फुर्सद हुँदा फोनमा कुराकानी गथ्र्यौं ।’ कुराकानीले निरन्तरता पाउन थाल्यो । प्रेम व्यक्त भयो । झांगिदै गयो । त्यसपछि आफ्नो प्रेम सम्बन्धलाई उनीहरूले बिहेमा परिणत गर्ने निर्णय लिए ।

उनीहरूको सम्बन्धलाई रेशमको परिवारले स्वीकार गरे पनि सावित्राको परिवारले मानेन । ‘आठ महिनाको प्रेम सम्बन्धपछि हामीले मन्दिरमा विवाह ग¥यौं,’ उनी भन्छन्, ‘विवाहपछि सावित्राको परिवारले हाम्रो सम्बन्ध स्वीकार ग¥यो ।’विवाहको भोलिपल्ट नै नवविवाहित जोडी काममा फर्कियो । उनीहरूको साढे चार वर्षको छोरी छिन् । आफूहरूले अहिलेसम्म भ्यालेन्टाइन्स डे नमनाएको रेशम बताउँछन् । ‘प्रेम दिवस कहिले हो ? भन्ने नै थाहा नपाउने हामीले के मनाउँथ्यौँ र ?’ उनी भन्छन्, ‘दिनभरि ड्युटीमा हुन्छौँ ।काम नै हाम्रो भ्यालेन्टाइन्स डे हो ।’

नवलपरासीका हुन्, ट्राफिक प्रहरी म्रिकेशकुमार कार्की । पाँच वर्षयता उनी कपिलवस्तु घर भएकी ट्राफिक प्रहरी आशा थारूसँग प्रेम सम्बन्धमा छन् । उनीहरूको भेट पनि ड्युटी गर्दागर्दै भएको हो । ‘हाम्रो दिनहँु भेटघाट भइरहन्थ्यो,’ म्रिकेश भन्छन्, ‘सुरुमा त सामान्य हाई–हेलो नै हुन्थ्यो ।’ पहिलो भेटमा आशा खासै राम्री नलागे पनि भेटघाट र बोलचाल हुन थालेपछि मन पर्न थालेको उनी बताउँछन् । ‘सुरुमा त उनी खासै लागिनन्,’ उनी भन्छन्, ‘दिनहुँ भेटघाट, बोलचाल हुन थालेपछि मन पर्न थालिन् ।’‘उनको बानी र बोलीचाली एकदम मन पर्छ,’ म्रिकेश थप्छन्, ‘मान्छे पनि राम्री छिन् ।

उनको बोलीचाली र रूपले मलाई मोहनी लगायो ।’ उनले नै आशासामु प्रेम प्रस्ताव राखेका थिए । ‘उनले मेरो प्रेम प्रस्ताव स्वीकार गरिन्,’ उनी भन्छन्, ‘त्यो दिन संसारै जितेजस्तो लाग्यो ।’ त्यसपछि दिनहुँ फोनमा कुराकानी गर्न थाले । ‘दिनभरि काम गरेर दुवै थाकेका हुन्थ्यौँ,’ उनी भन्छन्, ‘तैपनि एकअर्कासँग कुरा गरेर थकान मेटाउँथ्यौँ ।’ फागुनको अन्त्यतिर यो जोडी लगनगाँठो कस्दै छ । म्रिकेश महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौँमा कार्यरत छन् । आशा भने महानगरीय ट्राफिक प्रहरी प्रभाग एयरपोर्टमा ड्युटी गर्छिन् । ‘औँठी साटासाट गरिसकेका छौँ,’ म्रिकेश भन्छन्, ‘चाँडै बिहे गर्दै छौँ ।’

महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौँमा कार्यरत सविता कार्कीको ट्राफिक सागर कुँवरसँग बिहे भएको दुई वर्ष भयो । उनीहरूको एक वर्षको छोरा छन् । महोत्तरीकी सविता र धनगढीका सागरको भेट महाशाखामै भएको थियो । ‘अफिसमा सधँै देखिरहेकी हुन्थेँ,’ सविता भन्छिन्, ‘उनी मलाई मन पर्थे । तर, बिहे नै उनीसँग गरिएला भन्ने सोचेकी थिइनँ ।’ सविताको घरमा विवाहको कुरा चलिरहेको थियो । उनको सोच भने एउटै पेशामा कार्यरत मान्छेलाई जीवनसाथी बनाउने थियो । ‘अरू पेशामा काम गर्ने केटा माग्न आएका थिए,’ उनी भन्छिन्, ‘एउटै पेशाको जीवनसाथीको प्रतीक्षामा थिएँ ।’

त्यसैबेला उनको भेट सागरसँग भयो । उनीहरूको सामान्य बोलचाल हुन्थ्यो । फेसबुकबाट उनीहरूको कुराकानी सुरु भयो । ‘अफिसमा सामान्य बोलचाल हुन्थ्यो,’ उनी भन्छिन्, ‘फुर्सद हुँदा फेसबुकमार्फत कुराकानी गथ्र्यौं ।’ एक जना दाइले सागरसँग उनको बिहेको कुरा चलाए । उनी सुनाउँछिन्, ‘आफूलाई मन परिरहेको मान्छेसँग विवाहको प्रस्ताव आउँदा कसले नाइँ भन्छ ? हुन्छ भनेँ ।’ दुई महिनाको प्रेम सम्बन्धलाई सविता र सागरले परिवारको सहमतिमा विवाहमा परिणत गरे । उनीहरूले मन्दिरमा बिहे गरे । ‘आफूले मन पराएको मान्छेसँग बिहे हुँदा निकै खुशी छु,’ उनी भन्छिन्, ‘हाम्रो मायाप्रेम जीवनभरि यसरी नै रहिरहोस् भन्ने चाहना छ ।’सम्पूर्ण साप्ताहिक

Related Articles

Back to top button
Close