समाचार

नेपाल आमा प्रतिनै राष्ट्रघात : ‘नेपाली सर्भे टोलीले नै नेपाली भूभाग भारतमा मिसायो’

काठमाडौं- नेपाली सर्भे टोलीले नै कञ्चनपुरमा नेपाली भूभाग भारतमा मिसाएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराइएको छ। कञ्चनपुरको नेपाली भूभाग भारतमा गाभिएको भन्दै गृहमन्त्री रामबहादुर थापालाई आइतबार ज्ञापनपत्र बुझाउँदै उनको ध्यानाकर्षण गरिएको हो।

कञ्चनपुरका सरोकारवालाहरुले मन्त्रालयमै ज्ञापन पत्र बुझाउँदै नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले सीमा रेखाङ्कन गर्दा मुख्य सीमा स्तम्भ (जंगे पिलर) लाई आधार बनाएर स्ट्रिप नक्सा बनाउनुपर्नेमा त्यसो नगरी केही स्थान भारतमा गाभिएको उल्लेख गरेका छन्।

जनप्रतिनिधि, राजनीतिक दलका नेता कार्यकर्ता तथा नागरिक समाजका अगुवाहरु सम्मिलित टोलीले बुझाएको ज्ञापन पत्रमा कञ्चनपुरका ऐतिहासिक नेपाली भू–भागको सयौ हेक्टर जग्गा भारततिर पर्ने गरी एकतर्फी रूपमा स्ट्रिप नक्सा बनाइएको पाइएको उल्लेख गरेका छन् ।

स्ट्रिप नक्सा तयार गर्न नेपालको तर्फबाट खटिएको तत्कालीन सीमा सर्भे टोलीले नेपाली सरोकारवालाहरुसँग कुनै सम्बन्ध नराखी भारतीय पक्षको टोलीसँग भारततिरै बसेर नेपाली भूभाग भारतमा मिसाएको आरोप ज्ञापनपत्रमा लगाइएको छ।

भारतीय पक्षबाट ब्रिटिस सरकारका पालाको भन्दै गलत नक्सा पेश गरिएको र सोही नक्सालाई नेपाली पक्षको नापी टोलीले स्वीकार गरी स्ट्रिप नक्सा तयार गरिएकाले यस्तो समस्या उत्पन्न भएको ज्ञापन पत्रमा उल्लेख छ ।

बेल्डाँडी गाउँपालिका–३ बैवाहामा रहेको साबिक ३२ नम्बर पिल्लरदेखि ३३ नम्बर पिलर र ३३ नम्बर पिल्लर देखि ३४ नम्बर पिलरसम्म सीमांकन गर्दा २०२८ सालदेखि भोगचलन गर्दै आएको र लालपूर्जा भएको सयौँ परिवारको जग्गा भारततिर पर्नेगरी नयाँ सीमाङ्कन गरिएको ज्ञापन पत्रमा उल्लेख छ ।

Related Articles

Back to top button
Close