समाचार

महिने छोरो च्यापेर धादिङबाट हिँड्दै बुटवल, पुग्नु छ प्युठान

ललितपुरमा खानेपानी निर्माणमा काम गर्दै आएका बर्दियाका रोशन थारूसहितको ६ जना टोली पनि सडकमा हायलकायल भएर हिँडिरहेकाे छ । लकडाउन छिट्टै खुल्ने आशामा ललितपुरमै बसेका उनीहरूले लकडाउन लम्बिएपछि घर जाने निधो गरेका हुन् ।

‘काम लगाउने ठेकेदारले बिदा दियो, पैसा पछि दिन्छु भनेको छ । कहिलेसम्म बन्द हुने हो, केही थाहा नभएपछि हिँडेरै घर जाने भनेर आएका हौँ,’ उनले भने ।

३ दिनको यात्रापछि बुटवल आएका रोशन घरमा मर्न परे पनि बुबाआमाको साथमा मरूँला भनेर हिँडेकाे बताउँछन् । ‘खर्च केही थिएन । नारायणघाटमा त्यहाँकाे समाजले १ छाक खान दिए । केही चाउचाउ र चिउरा मात्र छ । यही खाँदै हिँडेका छौँ । पानीसमेत राम्रोसँग पिउन पाएका छैनौँ,’ उनले भने ।

रोशनसँगै आएका प्रह्लाद विकले लकडाउनअघि नै घर जाने सोच बनाएका थिए । आमाको स्वास्थ्यमा समस्या आएको थियो । घरबाट बोलाउँदा पनि जान पाएका थिएनन् । त्यही बीचमा लकडाउन भयो । उनी पनि ललितपुरमै बसे । लकडाउन खुल्ने नखुल्ने केही टुंगो नभएपछि उनी पनि त्यही समूहमा मिसिएर सँगै घर जान हिँडे ।

‘बिरामी आमा थला पर्दै हुनुहुन्छ, दाजु भारतमा छ । ऊ पनि आउन पाएको छैन’ उनले भने, ‘बुढाे भइसकेका बुबाले आमालाई तातो पानीसमेत खान दिन नसक्ने अवस्थामा छन् ।’

लकडाउनका कारण अहिले गणेश, रोशन र प्रलादजस्तै धेरै मजदुर पूर्व-पश्चिम राजमार्गबाट हिँडेरै गन्तव्यमा पुग्ने प्रयासरत छन् । मजदुर सबैको एउटै व्यथा छ– ‘कि खाने खर्च देऊ, कि घर जान गाडी देऊ ।’

अहिले पनि दैनिक १ सयभन्दा बढीको संख्यामा मजदुर बुटवल हुँदै पश्चिमतर्फ हिँडिरहेका छन् । इँटाभट्टा, खानेपानी, निर्माण कम्पनी, उद्योगमा काम गर्ने मजदुरहरू आफ्ना पोकापुन्तुरा बोकेर हिँडेका छन् ।

Related Articles

Back to top button
Close