समाचार

बान्ता हुन थालेपछि मिमबहादुरले श्रीमतीलाई भिडियो कल गर्न भनेका थिए

काठमाडौं – धादिङको गंगाजमुना गाउँपालिका बसेरीका मिमबहादुर घले मलेसिया गएको ५ वर्षभन्दा धेरै भएको थियो । उहाँ मलेसियाको चिहानघारीमा मान्छे गाड्दा चाहिने सामान ओसार्ने काम गर्नुुहुन्थ्यो ।मिमबहादुरकी श्रीमती केशरीमाया काठमाडौंमा बस्नुहुन्थ्यो । उहाँ काठमाडौं बस्न थालेको डेढ वर्षभन्दा धेरै भयो । मलेसियामा रहेका श्रीमानले केशरीमायालाई फोन गरिरहनुहुन्थ्यो । सोमबार पनि उहाँले श्रीमतीलाई फोन गर्नुभएको थियो । फोनमा उहाँले त्यो दिन साथीहरुले भोज दिन लागेको बताउनुभएको थियो ।

केशरीमाया भोजबाट फर्किएपछि श्रीमानले फोन गर्ने पर्खाइमा हुनुहुन्थ्यो । फोन बज्यो, तर श्रीमानले आत्तिँदै कुरा गर्नुभयो । उहाँले भोजमा रक्सी खाएपछि आफूलाई बान्ता हुन थालेको भनेपछि केशरीमाया आत्तिनुभयो । ‘दाइले भाउजुलाई भिडियो कल गर्न भन्नुभएछ’ मिमबादुरका कान्छा भाइ सोम घलेले उज्यालोसँग भन्नुभयो ‘तर भाउजुले भिडियो कल गर्न पाउनुभएनछ ।’केशरीमायाले भिडियो कल गर्न खोज्दा मिमबहादुरलाई अस्पताल पुर्‍याइसकिएको थियो । मिमबहादुरका ठूलो बुवाका छोरा मलेसियामै थिए । त्यसैले परिवारले उनीसँग अस्पताल गएर अवस्था बुझ्न भन्यो । परिवारले भनेपछि उनी मिमबहादुलाई पु¥याइएको अस्पतालमा त पुगे । तर सबै जानकारी पाउन सकेनन ।‘दाइले अस्पतालमै भएको बेला हामीलाई फोन गरेर त्यस्तो गाह्रो छैन रे भन्नुभएको थियो’ सोम भन्नुहुन्छ । त्यो खबरले केही राहत दिएको थियो मिमबहादुरको परिवारलाई । तर २४ घण्टा पनि नबित्दै केशरीमायाले कल्पनै नगरेको खबर सुन्नुपर्‍यो । मलेसियामा रक्सीका कारण नेपालीको ज्यान गएको खबरमा उहाँका श्रीमानको पनि नाम आयो ।

भिडियो कल गर्छु भनेका श्रीमानको मृत्युको खबरले केशरीमाया अहिले बोल्न सक्ने अवस्थामा हुनुहुन्न् ।माघमा छुट्टीमा आएर फर्किएका थिए मिमबहादुर
५ वर्षअघि मलेसिया गएका मिमबहादुर गएको माघमा दोस्रो पटकको छुट्टीमा घर आउनुभएको थियो । घरमा मिमबहादुरका हजुरबुवा, हजुरआमा, बुवाआमा र दुई जना दाजुभाई छन् । मिमबहादुर परिवारका जेठा छोरा ।माइला भाइ अहिले दुवईमा छन् । छुट्टीमा आएका बेला मिमबहादुरले भुकम्पले भत्काएर बनाउँदै गरेको घर पुरा भएपछि फर्किने योजना सुनाउनुभएको थियो । तर उहाँको योजना पुरा हुन पाएन । अहिले मलेसियाको अस्पतालमा रहेको शव नेपाल ल्याइदिन आग्रह गर्दै भाइ सोम बिहीबार परराष्ट्र मन्त्रालय पुग्नुभएको थियो । उहाँहरुलाई मन्त्रालयले मलेसियामा प्रक्रिया पुरा भएर शव आउने भएपछि खबर गर्ने जवाफ दिएको छ । मिमबहादुरका १० र २ वर्षका दुई छोरा छन् ।

Related Articles

Back to top button
Close