समाचार

बेलायती डाक्टर ‘निल’, जसले करोडौंको निजीघर बेचेर नेपालमा अस्पताल खोलि गरिबहरुको निशुल्क उपचार …

नेपालगन्ज, हेल्थपोष्ट र जिल्ला अस्पतालमा कान रोगको उपचार सेवा अझै पुग्न सकेको छैन। सहरी क्षेत्रमा पनि कानको राम्रो उपचार हुने छुट्टै अस्पतालको अभाव छ। सहज उपचार नपाउँदा बहिरोपनको समस्या भएका लाखौँ नेपाली कष्टकर जीवन बिताउँदै आएका छन्। कानसम्बन्धी समस्याका कारण अनेकौं समस्या खेप्न बाध्य छन् धेरै नेपाली। कानसम्बन्धी रोगको उपचारमा तीन दशकदेखि एकजना बेलायती निरन्तर लागिपरेका छन्। उनको नाम हो- डा. निल बेयर। डा. निल ब्रिटिस भ्वाइस एशोसिएसनका संस्थापक सहअध्यक्ष हुन्।

निलले कान रोगसम्बन्धी विभिन्न किताब लेखेका छन्। उनका किताब विश्वभरका कानरोग विशेषज्ञले ‘रिफ्रेन्स’का रूपमा प्रयोग गर्दै आएका छन्। बेलायतका चर्चित कानरोग विशेषज्ञ डा. निलले आफैं स्रोत- साधन जुटाएर सन् १९८८ देखि हरेक वर्ष २-३ पटकसम्म नेपाल आएर कानको शिविर सञ्चालन गरिरहेका छन्। निल आफूसहित ८-१० जनाको इएनटी सर्जनको टिम लिएर नेपाल आउँछन्। निलको अनुरोधमा कानको शल्यक्रिया शिविरमा सबै इएनटी सर्जन विभिन्न देशबाट आफ्नै खर्चमा नेपाल आउने गरेका छन्। निलले विराटनगर, धरान, पोखरा र बनेपामा कानको शल्यक्रिया शिविर सञ्चालन गरेका छन्।

देशका अन्य क्षेत्रको तुलनामा पश्चिममा कानको उपचार सेवाको अवस्था नाजुक देखेपछि उनले नेपालगन्जलाई केन्द्र बनाएर शल्यक्रिया शिविर सञ्चालन गर्दै आएका छन्। निल र उनका इएनटी सर्जनको टिमले नेपालगन्जलगायत देशका विभिन्न स्थानमा ६५ पटक कान शिविर सञ्चालन गरेर करिब ८ हजार ५ सय जना बिरामीको कानको अपरेसन गरिसकेको छ। कानको शल्यक्रिया शिविर सञ्चालन गर्दा निलले नेपालका इएनटी सर्जनलाई पनि सहभागी गराउँदै आएका छन्। डा. निलसँग काम गर्न पाउँदा नेपाली इएनटी सर्जनले पनि धेरै कुरा सिक्ने अवसर पाएका छन्।

शिविरबाट मात्रै नेपालमा कान रोगको सहज र गुणस्तरीय उपचार सम्भव नभएपछि निलले बेलायतमा रहेको आफ्नो घर बेचेर करिब ६ करोड लागतमा नेपालगन्जको फुलटेग्रामा ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र सञ्चालन गरेका छन्। ब्रिटेन नेपाल अटोलोजी सर्भिस नामक संस्थामार्फत् सन २०१६ देखि सञ्चालन भएको केन्द्रले दैनिक १ सय ५० देखि २ सय कान रोगीको उपचारका लागि बिरामीलाई उपचार सेवा प्रदान गर्दै आएको छ। केन्द्रमा पश्चिम नेपालका २०-२२ जिल्लाका साथै छिमेकी मुलुक भारतको सिमावर्ती क्षेत्रका मानिस पनि उपचारका लागि आउँछन्।

केन्द्रले कान रोगको उपचारका लागि स्वास्थ्यकर्मीलाई तालिम दिनेदेखि बाँके, बर्दिया र सुर्खेतमा पनि कानको शिविर राखेर उपचार गर्दै आएको छ। नेपालीको कान रोगको उपचारमा समर्पित डा. निल ७६ वर्ष पुगिसकेका छन्। तर, उनको सेवाभाव अझै पनि कुनै युवाको भन्दा कम छैन। मेडिकल काउन्सिलको नियमअनुसार ७० वर्षभन्दा बढी उमेरका चिकित्सकले अपरेसन गर्न मिल्दैन। तथापि, निल आफैँ अपरेसन थिएटरमै बसेर अन्य चिकित्सकलाई सल्लाह सुझाव र हौसला दिँदै कान रोगका बिरामीको अपरेसनमा सहयोग गर्दै आएका छन्।

केन्द्रमा एकजना चिकित्सकसहित २५ जना स्वास्थ्यकर्मीको टिमले कान रोगका बिरामीलाई प्राथमिकदेखि शल्यक्रियासम्मको उपचार सेवा प्रदान गर्दै आएका छन्। पछिल्लो समय केन्द्रले उपचार शुल्कबापत प्रति बिरामी सय रुपैयाँ लिन्छ। अस्पताल सञ्चालनका लागि बिरामीबाट लिइएको शुल्कबाट नपुग रकमको व्यवस्था निल आफैंले गर्दै आएका छन्। कान रोगको उपचार नेपाल सरकारको प्राथमिकतामा अझै पर्न सकेको छैन। कूल जनसंख्याको करिब १६ प्रतिशत मानिसमा कान रोगसम्बन्धी समस्या भए पनि हेल्थ पोस्ट र जिल्ला अस्पताल तहमा अझै कान रोगको उपचार सेवा पुग्न सकेको छैन।

डा. निल भन्छन्- ‘कान उपचार सेवा हेल्थ पोस्ट तहमै पुगोस्, यही मेरो चाहना छ।’ त्यसका लागि उनकै पहलमा बाँके, बर्दिया, सुर्खेतलगायत पश्चिम नेपालका हेल्थ पोस्टमा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम दिएर ग्रामीण क्षेत्रमा बस्ने गरिब तथा बिपन्न नागरिक समक्ष सहजरूपमा कान रोगको उपचार सेवा पुर्‍याउने प्रयास भइरहेको छ। कुनै पनि आवाज सुन्न वा पहिचान गर्न नसक्ने समस्यालाई बहिरोपन भनिन्छ। बहिरोपन भएका मानिसको जीवन पनि कष्टकर र निरस हुन्छ। बहिरोपन समस्या जन्मजात, पछि कानको संक्रमण भएर वा विभिन्न चोटपटकले हुन सक्छ।

बढ्दो ध्वनि प्रदूषण, एयरफोनको अत्यधिक प्रयोग, जनचेतनाको कमी र सहज उपचार सेवा नहुँदा नेपालमा बहिरोपनसम्बन्धी समस्या बढ्दै गएको निलको बुझाइ छ। नेपाल न्युजमा कृष्ण अधिकारीले लेखेका छन ।पछिल्लो समय ग्रामीण भेगमा कानको समस्या बढ्दै गएको छ। समयमै उपचार नगर्ने, कान कोट्याउने, तेल लगायतका विभिन्न झोल कानमा राख्ने, दूषित पानीमा पौडी खेल्नेजस्ता कारणले कानको संक्रमण हुने गरेको ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रका निर्देशक पुरन थारुले जानकारी दिए।

Related Articles

Back to top button
Close