समाचार

काठमाडौं महानगरका ३१ जना कर्मचारीमा देखियो कोरोना

काठमाडौं महानगरपालिकाका ३१ जना सरसफाइ गर्ने कर्मचारीमा र्‍यापिड डाइग्नाेष्टिक टेस्ट (आरडिटी) गर्दा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ।

शुक्रबार टेकु अस्पतालमा गरिएको परीक्षणमा उनीहरूमा एन्टिबडी पोजेटिभ देखिएको महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले सेतोपाटीलाई जानकारी दिइन्। पोजेटिभ देखिएकामध्ये १६ जना पुरुष र १५ जना महिला छन्। जसमा चालकहरू समेत छन्।

अहिले उनीहरूलाई महानगरपालिकाको वातावरण भवनको क्वारेन्टाइनमा राखिएको छ। उनीहरूको संक्रमण यकिन गर्न थप पिसिआर परीक्षण गर्ने तयारी गरिएको छ।

उपत्यकामा समेत कोरोना संक्रमणको जोखिम बढेपछि धेरै मानिसहरूको भीडभाड हुने ठाउँमा कोरोनाको परीक्षण सुरु गरिएको हो। बिहीबार मात्रै कालिमाटी तरकारी बजारमा ७ सय बढी मानिसको परीक्षण गरिएको थियो।

शुक्रबार टेकु अस्पतालमा महानगरपालिकाका सरसफाईमा खटिने ९ सय ३२ जना कर्मचारीको कोरोना परीक्षण गरिएको हो। जसमा ६ सय ६४ जनको र्यापिड टेस्ट र २ सय ६८ जनाको पिसिआर परीक्षण गरिएको हो।

सरकारले उपत्यकामा १० हजार व्यक्तिको कोरोना परीक्षण गर्ने जनाएको छ।

Related Articles

Back to top button
Close