समाचार

‘महि´नौंदेखि परिवा`रबाट टाढा रहेर कोरोना परी´क्षणमा ख´टिएँ, ममाथि दु`र्व्यवहार हुँदा प्रहरी मु´कदर्शक बन्यो’

हेटौंडास्थित प्रदेश ३ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्की कोरोना परीक्षण किट लिनलाई शुक्रबार काठमाडौं आउँदै थिए।
नागढुंगा आएपछि उनको गाडी प्रहरीले रोक्यो।

त्यसपछि एकजना इन्स्पेक्टर आएर निर्देशक कार्कीलाई केरकार गर्न थाले।

‘तपाईंको पास खोइ भनेर सोध्नुभयो, मैले प्रदेश मन्त्रिपरिषद्को सवारी पास देखाएँ त्यसपछि थप केरकार गर्नुभयो’ उनले सेतोपाटीसँग भने, ‘म कोरोनाको परीक्षण गर्ने ल्याबको स्वास्थ्यकर्मी हो भन्दा पनि उहाँले मतलब गर्नुभएन।’

कार्कीले फ्रन्टलाइनका स्वास्थ्यकर्मीलाई यस्तो समस्या पर्ला भनेर सोचेका थिएनन्। सबैले स्वास्थ्यकर्मीको तारिफ गरिरहेका बेला आफू पनि उच्च मनोबलका साथ काम गरिरहेको उनले सुनाए। तर शुक्रबार नागढुंगामा प्रहरीबाट भएको व्यवहारले उनको मन खिन्न भयो।

स्थिति थप बिग्रिँदै गयो। प्रहरीले कहाँ र केका लागि हिँड्नुभो भनेर थप प्रश्न सोधे। उनले आफू कोरोना परीक्षणमा चाहिने ‘भिटिएम’ किट लिन आएको जवाफ दिए। प्रहरीले उनको जवाफ पत्याएनन् र उल्टै खै किट लिन आएको फारम देखाउनुस् भनेर सोधे।

‘म आफैं किट लिन आएको थिएँ। मैले कुनै कर्मचारीलाई लिन पठाएको हो भने लिस्ट दिएर पठाउँथे होला तर प्रहरीले त्यो कुरा बुझ्नुभएन,’ उनले सुनाए।

त्यतिञ्जेल स्थिति ठिकै थियो। उनी भन्छन्, ‘पछि प्रहरीले नै केही केटाहरूलाई इसारा गरेर बोलाउनुभयो। त्यसपछि हप्काइदप्काइ भयो। झन् केरकार हुन थाल्यो।’

केटाहरूको समूह आएर उनको झोला नै खानतलासी गर्न लाग्याे। कार्कीले गाडीबाट उत्रेर पछाडि सिटमा राखेको झोला देखाए।

एउटा झोलामा केही लत्ताकपडा र अर्को झोलामा कागजपत्र थिए। त्यसपछि कार्कीलाई स्वास्थ्यकर्मी भएर किन मास्क नलगाउनु भएको भनेर केटाहरुको समूहले दुःख दिन थाल्यो। उनले कुरा गर्नलाई भर्खर फुकालेको भन्ने जवाफ दिए।

जवाफ दिँदा निर्देशक कार्कीको स्वर त्रास वा पीडाले सानो भएको थियो। केटाहरू भने चर्को स्वरले हप्काइरहेका थिए। यति मात्र हैन कि उनीहरूले यो सबै रमिताको दृश्य फेसबुकमा लाइभ पनि गरिरहेका थिए।

त्यसपछि उनले केही सहायता पाइन्छ भनेर प्रदेशका एक मन्त्रीलाई फोन गरे। ‘फेरि उहाँहरूले मन्त्री जोसुकैलाई फोन गरेर केही हुँदैन भन्नुभो र गाडी फर्काउन लगाउनुभयो’ उनी भन्छन्, ‘स्थितिसँग मैले जुध्न प्रयास गरेको भए मलाई कुटपिट हुने नै अवस्थाजस्तो भयो। त्यसैले म हेटौंडा नै फर्किएँ।’

कोरोनाको परीक्षण किट लिन आएका निर्देशक कार्की रित्तै हात रातको ९ बजे हेटौंडा फर्किए। आफूलाई दुर्व्यवहार हुँदा प्रहरीले रमिता मानेर हेरेको उनी बताउँछन्।

उनी भन्छन्, ‘मलाई मात्र हैन जोसुकैलाई यस्तो दुर्व्यवहार हुँदा प्रहरीले सहयोग गर्नुपर्ने हैन र?’ उनले रोष पोखे।

उनी यो घटनामा मुख्य दोषी नै प्रहरी रहेको बताउँछन्। उनले संलग्न भएका प्रहरीको छानबिन गरी कारबाही हुनुपर्ने बताए। प्रहरीले भने अहिले स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने युवकलाई पक्राउ गरेर कारबाही अगाडि बढाएको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले यस घटनामा प्रहरीको संलग्नता देखिएको भन्दै प्रहरी उपरीक्षक सन्तोष राठौर र निरीक्षक बिष्णुप्रदीप बस्याल सम्मिलित छानबिन समिति गठन गरेको हो।

‘प्रहरीको संलग्नता, ध्यान नपुगेको वा लापरबाही भएको भन्नेबारे अनुसन्धान गर्न छुट्टै छानबिन समिति गठन गरेको छु’ कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले भने, ‘अब यसमा संलग्नमाथि अनुसन्धान हुन्छ। प्रतिवेदन आएपछि कारबाही हुने, नहुने थाहा हुन्छ।’

Setopati बाट

Related Articles

Back to top button
Close