समाचार

गगन थापाको अन्तर्वार्ताको कमेन्ट हटाउन नायिका निशा अधिकारीको पत्रकारलाई अल्टिमेटम

काठमाडौं । भिडियो अन्तर्वार्तामा दर्शकले गरेको कमेन्टको विषयलाई लिएर नायिका निशा अधिकारीले पत्रकारलाई धम्की दिएकी छन् । करिब एक वर्ष अघि क्यानडानेपालले कांग्रेस नेता गगन थापा र उनकी पत्नी डा. अन्जना केसी थापासँग लिएको भिडियो अन्तर्वार्तामा दर्शकले गरेको कमेन्टको विषयलाई लिएर नायिका निशाले पत्रकारलाई धम्की दिएकी हुन् । 

सन् २०१९ जुलाई २०मा क्यानडानेपालको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको गगन थापा र उनकी पत्नी अन्जनाको अन्तर्वार्तामा दर्शकले गरेको कमेन्ट नहटाएको भन्दै नायिका निशाले क्यानडानेपाल डटकमका पत्रकार तथा चलचित्र पत्रकार संघ नेपालका सदस्य मदन रिजाललाई धम्की दिएकी हुन् । 

१० महिनासम्म पनि कमेन्ट नहटाएको भन्दै आक्रोशित भएकी उनले पत्रकार रिजाललाई १५ मिनेटभित्र कमेन्ट हटाउन अल्टिमेटम दिएकी हुन् । सामाजिक सञ्जालमा आएका प्रतिक्रियाको प्रतिवाद गर्न शून्य सहनशीलताको अभियान चलाइरहेकी नायिका निशाले युट्युबमा आएका कमेन्ट हटाउन पत्रकारलाई धम्की दिएकी हुन् । उनले १५ मिनेटभित्रमा कमेन्ट नहटाए कानुनी बाटो पनि रोज्ने बताएकी पीडित पत्रकार रिजालले जानकारी दिए । 

पत्रकार तथा सञ्चार माध्यमले आफूले पस्कने सामग्रीमा सचेत र सावधानी रहनु पर्ने हुन्छ । तर, पाठक वा दर्शकको कमेन्टलाई लिएर धम्की आउनु दुखद् भएको चलचित्र पत्रकार संघ नेपालका महासचिव समीर बलामीले बताए ।

दर्शकको कमेन्टलाई लिएर पत्रकारलाई धम्की आउनु दर्शकको अभिमतलाई कदर गर्न नसक्नु रहेको भन्दै महासचिव बलामीले पत्रकारलाई धम्की दिनेले माफी माग्नु पर्ने बताए । सम्प्रेषित समाचारप्रति चित्त नबुझे कानुनी बाटो रोज्न छाडेर पत्रकारलाई धम्की दिनु गलत रहेको भन्दै उनले पत्रकारलाई धम्की दिने तथा समाचारका विषयलाई लिएर अनावश्यक दुःख दिने कार्य दोहोरिरहे संघले त्यस्ता कलाकारलाई बहिस्कार गर्न सक्ने बताए । 

पत्रकारले पत्रकार आचारसंहित र प्रचलित कानुनका अधिनमा रहेर समाचार सम्प्रेषण गर्न पाउने भन्दै उनले दर्शकको कमेन्टलाई लिएर पत्रकारलाई धम्की दिने, समाचार हटाउन दबाब दिनेजस्ता गलत कार्य रोकिनु पर्ने बताए । 

यता चलचित्र कलाकार संघकी उपाध्यक्ष रेजिना उप्रेतीले यसबारे नबुझी संघको धारणा दिन नमिल्ने बताइन् । ‘के भएको हो, यसबारे बुझेपछि मात्रै भन्न सक्छु, यसबारे मलाई केही पनि थाहा छैन’, उनले भनिन् । 

समाचारको विषयलाई लिएर पत्रकारमाझ विवादमा आइरहने नायिका निशा सामाजिक सञ्जालमा हुने गतिविधिलाई लिएर प्रतिक्रिया जनाउने गरेकी छन् । 

नायिका निशाले हटाउन भन्दै पठाएको कमेन्टको स्क्रिनसट

Related Articles

Back to top button
Close