समाचार

लक्षण नदेखिँदासम्म सर्वसाधारणको जाँच नगरिने, भिआइपीको मात्रै पिसिआर परीक्षण गरिने

काठमाडाैं  । कोरोना भाइरस संक्रमितको संख्या दैनिक बढ्दै गएपछि सरकारले परीक्षणको मोडालिटी नै परिवर्तन गरेको छ । अब कोरोना लक्षण नदेखिएका सर्वसाधारणको पिसिआर विधिबाट परीक्षण गरिने छैन । तर, उच्च ओहोदाका व्यक्तिको भने जोखिम नभए पनि पिसिआर विधिबाट परीक्षण गरिँदै आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको ‘नेसनल टेस्टिङ गाइडलाइन फर कोभिड–१९’ जारी गर्दै क्वारेन्टाइनमा बसेका व्यक्तिमा लक्षण देखिएको छैन भने पिसिआर परीक्षण नगर्ने स्पष्ट पारेको छ । आवश्यक परे जोखिममा रहेका व्यक्तिको आरडिटी परीक्षण गर्ने उल्लेख छ । आरडिटी परीक्षणलाई हालसम्म विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छैन ।

राज्यको स्रोतसाधनले धान्न नसक्ने देखेपछि लक्षण नभएकालाई परीक्षण नगरी घर पठाउने निर्णय भएको मन्त्रालयका एक अधिकारीले बताए । भारतबाट आएकाहरू अधिकांश संक्रमित भएको र स्थानीय सरकारले क्वारेन्टाइन व्यवस्थित बनाउन नसक्दा संक्रमण फैलिएको समयमा मन्त्रालयले परीक्षण नगर्ने निर्देशिका बनाएपछि नेपाल महामारीको थप जोखिममा पुगेको विज्ञहरूले बताएका छन् ।

निर्देशिकामा स्पष्टसँग लेखिएको छ, ‘कोरोनाको लक्षण नदेखिएकालाई अब पिसिआर विधिमार्फत कोरोना जाँच गरिँदैन ।’ अहिले क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको भने १४ दिनपछि आरडिटी परीक्षण गरिनेछ । स्रोतका अनुसार आरडिटी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएमा मात्रै पिसिआर परीक्षण हुनेछ । सरकारमातहत रहेको अनुसन्धान परिषद्ले समेत हालै गरेको एक अध्ययनले उपचारमा आरडिटी परीक्षण प्रयोग गर्न नमिल्ने सुझाब दिएको थियो । नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले समाचार लेखेका छन् ।

Related Articles

Back to top button
Close