समाचार

गोर्खा सेनालाई हटाएर मैदानमा उत्रिन योगीलाई नेपालको चुनौती

काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई नेपालको परम शत्रु घोषणा गरिएको छ । पछिल्लो समय योगी आदित्यले नेपालका बारेमा भ्रमपूर्ण र नकारात्मक सन्देश प्रवाह गरेपछि ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले उनलाई नेपालको परम शत्रु घोषणा गरेको हो ।

योगीले बुधबार लखनउस्थित इन्डो एशियन न्यूज सर्भिससँग कुरा गर्दै नेपालले आफ्नो देशको राजनीतिक सीमा निर्धारण गर्नुभन्दा अघि त्यसबाट उत्पन्न हुने परिणामको बारेमा सोच्नुपर्ने भन्दै नेपाल सरकार र पुरै नेपालीलाई घुमाइरो भाषामा थर्काएका थिए ।

उनले तिब्बतको उदाहरण दिँदै भनेका थिए,’बिगतमा तिब्बतमा के भएको थियो ? तिब्बतले के गल्ती गरेको थियो भन्ने पनि नेपालले सम्झिनुपर्छ ।’ उनको दिएको अभिब्यक्ति नेपालको सार्वभौम अस्तित्वमाथिको प्रहार भएको मोर्चा अध्यक्ष फणीन्द्र नेपालको जिकिर छ ।

नेपालको भौगोलिक अखण्डताविरुद्ध योगीले भुकेको ७२ घण्टा पुरा हुनै लाग्दा पनि नेपालको सातै प्रदेशका उनका समकक्षीले नबोलेको भन्दै मोर्चा अध्यक्ष नेपालले असन्तुष्ट ब्यक्त गरे ।

उनले विश्व हिन्दु महासंघको केन्द्रीय नेतृत्व, नेपालका खुलारुपमा काम गरिरहेका राष्ट्रिय स्वयम् सेवक, शिव सेना, पशुपति सेनालगायत हिन्दु धर्मलाई आदित्यनाथको छत्रछायाँमा जोड्न पाउँदा सुरक्षित महसुस गर्ने जति पनि धार्मिक संगठनहरु छन्, तीनले देश ठूलो कि धर्म ठूलो स्पष्ट पार्ने बेला आएको बताए ।

ग्रेटर नेपालका अभियन्ता नेपालले आफूलाई ‘हिन्दू सम्राट’ भन्न रुचाउने राजा ज्ञानेन्द्र विरबिक्रम शाहले आफ्नो आमालाई रक्ताम्य पार्दै विदेशीले मासु लुछिरहेको देखेपछि तमासा हेर्ने कि तत्काल उपचार गर्ने भन्ने विषयमा निर्णय लिनुपर्ने बेला पनि आएको बताए ।

उनले भने, ‘म योगी आदित्यनाथको उक्त अभिब्यक्तिलाई पागलपनको संज्ञा दिँदै गोर्खा सेनालाई तत्काल हटाएर मैदानमा उत्रिन चुनौती दिन्छु । नेपाली जनतासँग हात जोडेर माफी नमागेसम्म आदित्यनाथ नेपालको परम शत्रु भएको घोेषणा गर्छु ।’

Related Articles

Back to top button
Close