समाचार

ओलीविरुद्ध संयुक्त वक्तव्य निकाल्दै दाहाल-नेपाल, वामदेवले खोले पहिलो फायर !

काठमाडौं, ५ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद फेरि चुलिएको छ । नक्सासम्बन्धी संविधान संशोधन गर्दासम्म साम्य भएको पार्टीभित्रको विवाद पूनः चर्किएको छ । शीर्ष नेताहरु नै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर असन्तुष्ट बनेका छन् । पार्टीमा कुनै छलफल र परामर्श नलिईकन प्रधानमन्त्री ओली एकलौटी रुपमा अघि बढ्न खोजेको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको आरोप छ ।

अहिले नेकपाभित्र पेचिलो बनेको विषय एमसीसी हो । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनमा एमसीसी देशको हितमा भएकोले यसलाई तत्काल संसदबाट पारित गरिने बताउँदै आएका छन् । तर, ओलीविरोधी नेताहरुले भने एमसीसी संशोधन नगरी अघि बढाउन नहुने अडान राखेका छन् । पार्टीको गत माघमा बसेको केन्द्रिय कमिटी बैठकले नै एमसीसीसम्बन्धी अध्ययन गर्न कार्यदल गठन गरेको र झलनाथ खनाल नेतृत्वको तीन सदस्यीय कार्यदलले प्रतिवेदनसमेत प्रधानमन्त्री ओलीलाई बुझाएको छ। उक्त प्रतिवेदनमा एमसीसी जस्ताको तस्तै पारित गर्न नहुने राय दिएको छ । कार्यदलका सदस्यहरुमा खनाल र भीम रावल एक ठाउँमा उभिएका थिए भने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने फरक मत पेश गरेका थिए ।

एमसीसीबारे हिजोमात्रै प्रधानमन्त्री ओलीले राष्टियसभाको बैठकमा सम्बोधन गर्दै आफ्नै दलका नेताहरले सम्झौता पढ्दै नपढी विरोध गरेको टिप्पणी गरेका थिए । प्रधानमन्त्री ओलीको उक्त टिप्पणीलगत्तै अध्यक्ष दाहाल र उपाध्यक्ष गौतमबीच एक्लाएक्लै भेटवार्ता भएको थियो । त्यसलगत्तै दाहालसँग बरिष्ठ नेताद्धय नेपाल र खनालले समेत भेटवार्ता गरेका थिए । खुमलटारको हिजोको बैठकमा नेताहरुले प्रधानमन्त्री ओली विपक्षी दलसँग मिलेर एमसीसी संसदबाट पारित गराउने खेलमा लागेको निश्कर्ष निकालेका छन् । यदि ओलीले जबरजस्ती गरे र पार्टीको निर्देशन नमाने गम्भिर दुर्घटना हुनसक्ने नेकपाका जिम्मेवार नेताहरुले टिप्पणी गर्न थालेका छन् ।

ओलीको पछिल्लो कार्यशैलीलाई लिएर उनी ईतरका नेताहरु रुष्ट छन् । यसको स्पष्ट सन्देश उपाध्यक्ष गौतमले हिजो सचिवालयमार्फत आफ्नो धारणा सार्वजनिक गरेसँगै प्रष्ट भैसकेको छ । उनले आफू सरकारमा जाने कुरा प्रधानमन्त्री ओली समूहबाट चलाईएको हल्ला भएको टिप्पणी गरेका छन् । र, उनी आफू ओलीको कित्तामा नभएको समेत जिकिर गरेका छन् । उनले ओलीको कार्यशैलीलाई लिएर शीर्ष नेताहरुबीच नै पार्टीमा थुप्रै असन्तुष्टि रहेको जनाउँदै छिट्टै संयुक्त वक्तव्य निकालिनेपनि स्पष्ट पारेका छन् । File Photo/ReportersNepal.Com

Related Articles

Back to top button
Close