समाचार

छोराले भन्छ- अर्को बिहे गर्नुस् ममीः रेश्मा सुनुवार

‘आकाशैको झिलमिल तारा, तारासँगै नाचुँ लाग्छ… मै ठूली भइछु रे,’ चुलबुले जवानी झल्काउने यही गीत गाएर रेश्मा सुनुवार चर्चामा आइन् । यही गीत उनको सफलताको कडी बन्यो । उनको एल्बम ‘मै ठूली भइछु रे’ले वर्षकै सर्वोत्कृष्ट एल्बमको रुपमा इमेज अवार्ड चुम्यो ।

रेश्माले यो गीत चञ्चले जवानीमा गाएकी भने होइनन्, यो गीत गाउँदा उनका छोरा हुर्किसकेका थिए । तर, ‘मै ठूली भइछु रे’ एल्बम रेश्माको गायन प्रतिभाको चुलबुले बैंस भएर आयो । रेश्मालाई गायिकाको पहिचान दियो । यो पहिचानपछाडिका रेखाहरू सरल छैनन् ।

चञ्चले उमेरमा विवाह, डिभोर्स, प्राइभेट एसएलसी हुँदै संगीतमा स्नातक, समाजशास्त्रमा स्नातकोत्तर, अनि गायिका रेश्मा सुनुवार- यहाँसम्म आइपुग्न रेश्माको जीवनरेखाले धेरै घुम्ती पार गरेको छ ।

रेश्मा, भोलि भागौँ रेश्मा १५ वर्षकी थिइन्, ९ कक्षामा पढ्थिन् । उनको डेरामा ढुंगामा बेरिएर एउटा कागज आयो, जसमा लेखिएको थियो- रेश्मा, भोलि भाग्यौँ । हस्ताक्षर थियो उनकै प्रेमीको । भोलिपल्ट रेश्माले प्रेमीलाई भेटेर भनिन्, ‘भाग्न त भागौँ, तर ममीलाई भन्नुपर्छ ।’ रेश्मालाई साथीकहाँ राखेर प्रेमी सीधै रेश्माको डेरा गएर भनेँ, ‘आमा, मैले हजुरकी छोरीलाई भगाएँ ।’ रेश्माकी आमाले ‘झापाली फटाहा’ भन्दै खुकुरी निकालिन्, उनी भागिहाले ।

यसरी नै रेश्माको विवाह भयो, ०५४ सालमा । रेश्मा मैतीदेवीबाट हिँड्दै पद्मोदय स्कुल जान्थिन्, साथीहरू थुप्रै थिए । ९ कक्षामा पढ्दै गर्दा रेश्मालाई ग्रिटिङ कार्ड आयो, एक सिनियर पुरुषको । जो रेश्माभन्दा १४ वर्ष जेठा प्रहरी असइ थिए, मैतीदेवीमै बस्थे, सिंहदरबार किताबखानामा आउट ड्रेसमा काम गर्थे । उनले रेश्मालाई मन पराउँदा रहेछन् । ‘भर्खरै १५ लागेकी थिएँ । आफूभन्दा सिनियर पुरुषको ग्रिटिङकार्ड पाएपछि साथीहरूलाई देखाएँ, रमाइलो मानियो,’ रेश्मा भन्छिन्, ‘मैले पनि उनलाई कार्ड पठाउन थालेँ । उनको मोटरसाइकल थियो, तर मलाई हेर्न होला, हिँडेरै अफिस जान्थे ।’

एक दिन प्रेमीले रेश्मालाई घरसम्म मोटरसाइकलमा छोड्न आए, कान्छी बहिनीले देखेर घरमा सुनाइदिइन् । स्कुल पढ्दै गरेकी छोरीलाई प्रेमीले घरसम्म पुर्याउन आएको जो-कोही बाबुलाई निको लाग्ने कुरै भएन । बाबुले रेश्मालाई पढाएर सरकारी जागिरे बनाउन चाहन्थे । तर, रेश्मा नौ कक्षादेखि प्रेम गर्न थालिन् । ‘बुवाले मलाई गाली मात्रै गर्नुभएन, कुटपिट नै गर्नुभयो,’ रेश्मा भन्छिन्, ‘त्यो दिन स्कुलै गइनँ ।’ घरमा पिटाइ खाएकाले रेश्मा स्कुल नआएको भन्ने उनका प्रेमीले थाहा पाए । आफ्नो कारण आफ्नी प्रेमिका घरमा कुटिएको उनलाई सैह्य भएन । उनले रेश्मालाई भगाएर लैजाने निर्णय गरे र ढुंगामा कागज बेरेर रेश्माको डेराभित्र खसाए । रेश्मा सम्झन्छिन्, ‘हामी तल्लो तलामा बस्थ्यौँ, म डेरामै थिएँ, ढुंगामा बेरिएर कागज आयो ।’ मुखियाकी नातिनी, हाकिमकी छोरी

रेश्माका बुवा लोकप्रिय सुनुवार, कृषि बैंकका शाखा-अधिकृत थिए । विभिन्न ठाउँमा सरुवा भइरहन्थ्यो । बुवाको पोस्टिङ भोजपुरको दिङ्ला बजारमा भएका बेला रेश्मा जन्मिइन् । रेश्माका पाँच आमा हुन् । आठ बहिनीमध्ये रेश्मा छैटौँ हुन् । रेश्माको पुर्ख्यौली घर ओखलढुंगाको खिजी हो । रेश्माका हजुरबुवा मुखिया थिए, जमिन मात्रै तीन सय रोपनी थियो, अझै छ । तर, रेश्माले माइतीमा कहिल्यै मेलापातको काम गरिनन् । उनलाई बुवाले सुखमै हुर्काउँदै थिए । पछि बुवाको पोस्टिङ काठमाडौं भयो । परिवार मैतीदेवी डेरामा बस्थ्यो, त्यहीँबाट रेश्मा पद्मोदयमा पढ्न जान्थिन् ।

घाँस काट्न सिकेँ रेश्माका श्रीमानको घर झापा हो । ससुराबा कारोबारी (तिरो उठाउने मुखियाजस्तै), जमीन प्रशस्त छ । रेश्मा किराती, श्रीमान क्षेत्री, जात मिल्दैनथ्यो । फेरि पनि बिहेको चार महिनामै रेश्मालाई झापाको घरमा भित्र्याइयो । रेश्मा केही महिना घरमा बसिन् । त्यही बेला उनले मेलापात गर्न सिकिन् । ‘मतुवाली जाति भनेर मलाई चुलोमा जान दिइँदैनथ्यो, घरमा गएका बेला मैले गोठ-मेलापातको काम गर्थें । घाँस-स्याउला काट्न जानेकी थिइनँ, सिकेँ । भकारो सोहोर्न सिकेँ । धान रोप्न सिकेँ,’ रेश्मा सम्झन्छिन्, ‘मैले जीवनलाई बुझ्ने अवसर पाएँ । घाँस काट्दा गीत गाउँथे, चिठी आएन भनेर ।’

कलेज पढ्न थालेपछि रेश्माले छोरालाई जन्म दिइन्, ०५५ मा । श्रीमान प्रहरी असई, भौतिक सुख, सन्तान सुख थियो नै । तर, रेश्मालाई आमाबुवाले भने, ‘छोरी, तिमीले सुनको होइन, सर्टिफिकेटको गहना लगाएर देखाऊ ।’ रेश्माले ०५६ मा प्राइभेट एसएलसी दिइन्, पास गरिन् । पद्मकन्या क्याम्पसमा भर्ना भइन्, संगीत विषयमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर गरिन् । योबीचमा गायिका बनेर श्रोताकी प्रिय बनिन्, तर श्रीमानसँगको सम्बन्ध प्रिय रहन सकेन ।

रेश्माले पकाएको सासूआमालाई चल्यो रेश्मा काठमाडौं बसेर इन्टर मिडियट पढ्दै थिइन् । सासूआमालाई पाठेघरमा क्यान्सर देखिएर भरतपुर क्यान्सर अस्पताल ल्याइयो । महिलाका विषयमा सोधपुछ गर्न महिला नै चाहिने डाक्टर बताएपछि श्रीमानले रेश्मालाई फोन गरेर बोलाए । अस्पतालले रेश्माकी सासूआमालाई सञ्जय गान्धी स्नातकोत्तर आयुर्विज्ञान संस्थान लखनउमा रिफर गर्‍यो । रेश्मा सानो छोरो लिएर श्रीमानसँगै लखनउ गइन् ।

लखनउमा तीन महिना बस्नुपर्थ्यो । होटलमा कोठा मात्रै लिएर आफैँ खाना पकाउन पाइन्थ्यो, यसो गर्दा सस्तो पनि पर्थ्यो । सासूआमाले रेश्माले पकाएको खाँदिनथिइन् । खाना रेश्माका श्रीमानले पकाउँथे । होटलबाट आमालाई रेडियसन थेरापीका लागि हस्पिटल लैजाने-ल्याउने रेश्माले गर्थिन् । गोरी-राम्री रेश्मालाई हस्पिटलमा मानिसहरूले आँखा तरेर हेर्थे, उठाएर लगिहाल्छन् कि जसरी । सासूआमाले छोरालाई भनिन्, ‘मैले त बुहारीलाई जोगाउनै सक्दिनँजस्तो लाग्यो, बाबु । भोलिदेखि मसँग तँ नै हिँड्, बुहारीले कोठामा तरकारी पकाएर बस्छे ।’ आमालाई हस्पिटल लैजान-ल्याउन र कोठामा आएर भात पनि पकाउन रेश्माका श्रीमानलाई गाह्रो भयो । सासूआमाले भनिन्, ‘भात पनि बुहारीले नै पका भो । यो सात खोलापारि कसलाई थाहा हुन्छ र ? तर, यो कुरा गाउँका मान्छेलाई नभन्नू ।’

त्यसपछि रेश्माले भात-तरकारी नै पकाउन थालिन् । रेश्मा भन्छिन्, ‘सासूआमाले मैले पकाएको भात (अन्न) खानुहुन्नथ्यो । खान्छु भनेपछि म निकै खुसी भएँ । क्यान्सर भएका व्यक्तिले के खाने, के नखाने भन्ने किताब पाइन्थ्यो । किताब हेरेर पकाएँ ।’ रेश्माले खाना पकाएको तीन दिन भएको थियो । राति सासूआमा छटपटाउँदै उठिन् । हतार-हतार रेश्मा सासूआमालाई समाउन गइन्, व्यथाले चाप्यो कि भनेर । तर, सासूआमाले रेश्मालाई जिउमा छुन दिइनन् । भनिन्, ‘भो मलाई नछो । तैँले पकाएको खाएर मेरा कुल-देवता रिसाए । पूरै जिउ घोचिरहेको छ ।’

भोलिपल्ट सासूआमाको समस्या रेश्माले डाक्टरलाई बताइन् । डाक्टरले भने, ‘आमा, तपाईंलाई जे रोग लागेको छ, त्यसले शरीरभित्रबाट घोचेजस्तो हुन्छ, तपाईंलाई लागेको रोगकै कारण यसो भएको हो । औषधि खाएपछि ठीक हुन्छ ।’ त्यहाँ रेश्माले सासूआमाको लुगा धुनेदेखि दिसापिसाब धोइदिनेसम्म गरिन् । आत्महत्याको प्रयास

सासूआमाको उपचार सकिन एक हप्ताजस्तो बाँकी थियो । घर फर्कने बेला रेश्माले लखनउमा कपडा किन्न मन गरिन् र श्रीमानसँग सल्लाह गरेर औँठी बेचिन् । उनी औँठी बेचेर फर्कंदा कोठामा सासूआमा रोइरहेकी थिइन् । उनको गुनासो बुहारीले गहना बेचेर लुगाफाटो किनेकोमा थियो । उनको विश्वास र भनाइ थियो- सुन-सम्पत्ति जोगाउनुपर्छ । रेश्मा भन्छिन्, ‘अहिले सम्झँदा लाग्छ, पुरानो पुस्ताकी सासूआमाको त्यो गुनासो स्वाभाविकै थियो । तर, म त्यसरी नै हुर्केकी थिएँ र मैले फरक किसिमले सोच्थेँ- सुन-सम्पत्ति कमाइन्छ, अहिले लुगाफाटो किन्न मन लाग्यो त किनौँ ।

तर, आमाको कुरा छोराले सुन्नुभयो । उहाँले मसँग गहना बेचेको पैसा माग्नुभयो । त्यसपछि आमाछोरा मात्रै कुरा गर्ने, मलाई त केही सोधपुछ नै नगर्ने, आमाछोरा मात्रै घुम्न निस्कने गर्न थाल्नुभो । सासूआमाको हेरचाह गरेकी छु, आफ्नो परिवार सम्झेकी छु, तर घुलमिल नै हुन नसकेजस्तो लाग्यो । आफू त काम गर्ने नोकर्नीजस्तो लाग्न थाल्यो । कताकता नरमाइलोपन बढ्दै गयो । बहकिँदै गएँ भनौँ । मैले त आत्महत्या गर्ने सोचेँ ।’ रेश्मा आत्महत्या गर्न भनेर होटलको कोठाबाट निस्किन् ।

उनलाई नजिकै ठूलै खोला भएजस्तो लागेेको थियो । तर, त्यो त सानो नहर रहेछ, फाल हालेर पनि नमरिने । उनी त्यहीँको एकान्त बाँसघारीमा बसेर रुन थालिन् । परबाट एउटा मान्छे दगुर्दै आफूतिर आइरहेको देखिन् । ‘ऊ बलात्कार नै गर्ने ढंगले आएजस्तो लाग्यो । म बेसरी दौडेँ, ऊ पछिपछि आयो । छिटै बजारतिर आएर बँचे,’ रेश्मा भन्छिन्, ‘त्यस दिनदेखि मैले जीवनको मूल्य बुझेँ । आत्महत्या गर्ने सोच सधैँका लागि दिमागबाट हटाएँ ।’

श्रीमानसँग ओछ्यान छुट्टियो लखनउबाट फर्केपछि रेश्मा काठमाडौं आइन्, आईए प्रथम वर्षको परीक्षा दिन । आफूलाई हस्पिटलमा सेवा गरेकाले पनि सासूआमाले रेश्मालाई परीक्षा दिन पठाइन् । रेश्मा भन्छिन्, ‘सासूआमाले पनि परीक्षा दिन जाउ भन्नुभो । मेरो यत्रो सेवा गर्‍यौ, जाऊ परीक्षा देऊ, पास हुन्छ्यौ भन्नुभयो । नभन्दै पास भएँ ।’ श्रीमानको पोस्टिङ सल्यानमा पर्‍यो, त्यो ०५८ सालको कुरा हो । माओवादीले रुकुम हानिसकेको थियो । माओवादी द्वन्द्वकै कारण रेश्माका श्रीमानले प्रहरीको जागिर छाडे । उनी रेश्मासँगै काठमाडौंमा बस्न थाले ।

काठमाडौंमा उनीहरूको फ्ल्याट थियो, सामान थियो । एक दिन रेश्मालाई देवर आएर भने, ‘भाउजू, दाइले आफ्नो सामान झापा पठाउन भन्नुभएको छ ।’ रेश्माले श्रीमानसँग फोनमा कुरा गरिन् । श्रीमानले भने, ‘म झापातिरै केही व्यापार गर्छु । तिमी पछि आऊ, छोराको परीक्षा सकेर ।’ रेश्माले काठमाडौंबाट सामान

पठाइदिइन्, यो ०५८ सालकै कुरा हो । त्यसबेलादेखि श्रीमानसँग रेश्माको ओछ्यान छुट्टिएजस्तै भयो । ‘हाम्रो झगडा भएको होइन, उहाँले केही भनेको पनि होइन, मैले केही भनेजस्तो पनि लाग्दैन । यत्ति हो कि उहाँले नपढ्न भन्दाभन्दै मैले कलेज पढेकी थिएँ,’ रेश्मा भन्छिन्, ‘खोइ, अरुको कुरा सुन्नुभो कि ? पछि उहाँ काठमाडौं आएर भन्नुभयो, तिमीहरू यतै बस, छोरालाई पढाऊ । त्यसपछि उहाँले मलाई सोधखोज गर्न छाड्नुभो । म माइतीमा बस्न थालेँ ।’

‘रेश्मा’ डब्बा भयो रेश्मा सानैदेखि मीठो गाउँथिन्, राम्रो नाच्थिन् । बुवाको कार्यालयमा वर्षमा दुईपटक जस्तो भोज खाएर रमाइलो गर्ने कार्यक्रम हुन्थ्यो, बुवाले उनलाई गाउन-नाच्न लैजान्थे । ०५१ सालको कुरा हो, रेश्माका बुवाका साथीले एउटा गीत रेकर्ड गर्दै थिए, त्यसमा रेश्माले हमिङ-भ्वाइस दिइन् । यतिबेलादेखि नै रेश्माको मन गीत-संगीतले तानेको थियो ।

एसएलसी दिएपछि ६ महिनाजति संगीत सिकिन्, सुनुवारहरूको सांस्कृतिक समूहबाट । पृथ्वीजयन्तीको अवसरमा रेडियो नेपालले विभिन्न भाषाभाषीको गीत प्रतियोगिता गरेको थियो, ०५५ सालमा । सुनुवार भाषाको गीत गाउन रेश्मा र विमला सुनुवारले अवसर पाए, दोस्रो स्थान हासिल गरे । एसएलसीपछि पद्मकन्यामा रेश्माले स्नातकसम्म शास्त्रीय संगीत पढिन् । यहीबीचमा केही समय भरत लामासँग आधुनिक गायन सिकिन् । ०५७ सालमा रेडियो नेपालबाट भ्वाइस टेस्ट पनि पास गरिन् । ०५९ मा ‘रेश्मा’ एल्बम निकालिन्, तर खासै चलेन । रेश्मा भन्छिन्, ‘पहिलो एल्बम डब्बा भयो ।’

माइक्रोमा आफ्नै गीत सुन्दा बिजु बज्रको संगीतमा रेश्माले एउटा गीत गाइन्- मै ठूली भई छु रे । शब्द भुपेन्द्र खड्को थियो । गीत राम्रो बनेपछि रेश्माले एल्बम नै निकालिन्- मै ठूली भइछु रे । लगानी उनकै थियो, ब्याचलर पढ्दै गर्दा उनले प्रोजेक्टमा काम गरेकी थिइन्, तलब-भत्ता राम्रो थियो । एक दिन रेश्मा बौद्धदेखि माइक्रोमा वागबजार कलेज आउँदै थिइन् । माइक्रोमा गीत बजिरहेको थियो- मै ठूली भइछु रे । उनले थाहै नपाई गीतले चर्चा कमाइसकेको रहेछ । आफ्नो नामको जग्गा बेचेर एल्बमका दुई गीतको भिडियो पनि बनाइन् ।

मिसनमा गएर फर्केका बेला श्रीमानले रेश्मालाई स्कुटर किन्न पैसा दिएका थिए । त्यो पैसाले उनले भक्तपुरमा जग्गा किनेकी थिइन् । दोस्रो भिडियो बनाउनुअघि नै उनले चार-पाँचवटा देशका नेपालीमाझ गीत गाउन जाने अवसर पाइसकेकी थिइन् । अहिलेसम्म उनले तीन सयभन्दा बढी गीत गाएकी छिन् भने आफ्नो गायन प्रतिभा प्रस्तुत २६ भन्दा बढी देशका नेपालीमाझ पुगेकी छिन् ।

छोडपत्र झापामा व्यापार राम्रो नभएपछि रेश्माका श्रीमान रोजगारीका लागि मकाउ गए, झन्डै सात वर्ष काम गरे । छोराले एसएलसी दिएपछि रेश्मालाई श्रीमानले भने, ‘अब हामी बेग्लै बस्यौँ, तिम्रो आफ्नो लाइफ छ । आफ्नो खुसी गर ।’ विगत १४ वर्षदेखि रेश्मा काठमाडौंमा छोरासँग छिन्, व्यावसायिक गायनमा सक्रिय छन् । गएको असारमा रेश्मालाई श्रीमानले भेट्न बोलाए । रेश्मा भन्छिन्, ‘मैले फोन गरेँ । उहाँले भन्नुभयो- तिमीलाई केही दिन्छु, अब छोडपत्र गरौँ ।’ गएको असारमा छोडपत्र भयो । रेश्माले भक्तपुरको एउटा घडेरी पाएकी छिन् । रेश्मा भन्छिन्, ‘मैले किन दिएको यो घडेरी भनेर सोधेँ, उहाँले भन्नुभयो- तिमीले अहिलेसम्म केही मागिनौँ, त्यही भएर दिएको ।’

सासूको खुट्टा छुँदा उपचारपछि रेश्माकी सासूआमालाई सम्पूर्ण निको भयो । भौतिक र भावनात्मक रुपमा श्रीमानदेखि टाढा भए पनि झापामा कार्यक्रम परेका बेला रेश्मा सासूआमा लगायतलाई भेट्न गइरहन्थिन् । तीन वर्षअघिको कुरा हो, रेश्माका श्रीमानले पढेको स्कुल नवज्योति निमाविलाई नयाँ स्वरुप दिन सांस्कृतिक कार्यक्रम गर्ने कुरा भयो । स्कुलका हेडमास्टरले रेश्मालाई फोन गरेर बोलाएका थिए, सहयोगका लागि । रेश्मा कलाकारको रुपमा झापा गइन् र देउरानीको घरमा बसिन् ।

स्कुललाई रेश्माले २० हजार सहयोग गरिन्, आफ्नो पारिश्रमिकबाट । रेश्माकी सासूआमाले पाँच लाख रुपैयाँ दिएकी थिइन् । कार्यक्रममा रेश्माकी सासूआमा प्रमुख अतिथि र रेश्मा विशेष अतिथि थिइन् । सासूआमाले रेश्मालाई सम्मान गर्ने कार्यक्रम थियो, दोसल्ला ओढाएर । रेश्मा भन्छिन्, ‘सासूआमाले दोसल्ला ओढाएर सम्मानपत्र दिएपछि मैले उहाँको खुट्टा ढोगेँ ।

गाउँमा हाम्रो दाम्पत्य जीवन त्यति सुमधुर नभएको धेरैलाई थाहा थियो । भेला भएका सबै हाँसे, ताली बजाए ।’ रेश्मालाई माया गर्ने त्यहाँ धेरै छन् । खासगरी देउरानीहरु अम्बिका, रीताले रेश्मालाई माया गर्छन् । डिभोर्सपछि पनि झापा गएका बेला उनी देउरानीहरुलाई भेट्न गएकी छिन् । ‘गत वर्ष बाहुनडाँगीमा महोत्सव थियो,’ रेश्मा भन्छिन्, ‘म पनि गायिकाकी रुपमा गएकी थिएँ । त्यतिबेला देउरानीकै घरमा बसेँ ।’

छोराले भन्छ- अर्को बिहे गर्नुस् ममी रेश्माले छोरालाई पनि बाबुको घर झापा लगेकी छिन्- व्रतबन्ध गर्न, नागरिकता बनाउन । अहिले रेश्माका छोरा अभिनवजंग रायमाझी एथ्नोम्युजिकोलजी (आदिवासी संगीतशास्त्र) पढ्दै छन्, केयुमा ब्याचलर लेभल ।

एक वर्ष अघिसम्म रेश्मा माइतीमा बस्थिन्, बुवाको बौद्धको घर छ । अहिले उनी छोराकै लागि छुट्टै बस्न थालेकी छन् । किनभने, रेश्माका बुवा नातिले साइन्स पढोस्, जागिर खाओस् भन्ने चाहन्छन्, संगीत पढेको राम्रो मान्दैनन् । छोराले स्वतन्त्र रुपमा संगीत पढोस् भनेरै रेश्माले छोरालाई बेग्लै राखेकी हुन् । अभिनव बाबुसँग भन्दा आमासँग बढी निकट छन् । रेश्मा भन्छिन्, ‘छोरो मेरो साथी हो, मैले जोक भन्दा सबैभन्दा बढी ऊ नै हाँस्छ ।

मेरा साथीहरू भन्छन्- तिमीहरू आमाछोराभन्दा बेसी साथी देखिन्छौ । एक वर्षअघि मैले उसलाई सोधेँ- म तेरो बुवासँग जाउँ ? मिल्यौँ ? उसले मलाई भन्यो- बुवासँग हजुरको सोच मिल्दैन, अर्को बिहे गर्नुस् ममी । तर, जोसँग बिहे गर्ने हो, उहाँसँग पहिले मलाई भेटाउनु, पहिले मैले पास गर्नुपर्छ नि ।’ रेश्मा पनि अब दोस्रो बिहे गर्ने सोचमा छिन् । तस्बिर: कबिन अधिकारी /अनलाइनखबर

Related Articles

Close